विशेष सम्पादकीय

 निम्नकोटीको राजनीतिक सौदाबाजी !

दुइतिहाई सरकारका प्रधानमन्त्री केपीशर्मा ओलीसँग खटपट सुरुभएपछि गुनासो पोख्न आफूकहाँ आएका मन्त्री र नेतालाई नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुध्द समाप्त नभएको हुनाले अर्कै शैलीमा फरक मोर्चाबाट युध्द जारी रहेको ठानेर काम गर्न सम्झाएका थिए। जुनबेला एमालेसँग खटपट सुरु भयो त्यहीबेला उनीसँग सिकायत गर्न पुगेका मन्त्रीहरुलाई प्रचण्डले ‘जनयुध्द सफल बनाउन’ आवश्यकता अनुसार सहकार्य हुनेहुनाले त्यही मानसिकतामा काम गर्न निर्देशन दिएका थिए। साथै उनले आफू नयाँ नयाँ रणनीति बनाएर अघि बढ्ने वातावरण बनाउन सक्रिय रहेको सुनाएका थिए।

नभन्दै उनले ओलीसँगको सहकार्य दिगो नहुने निष्कर्षमा पुगेर नेपाली कांग्रेसको काँधमा बन्दुर राखेर पड्काउने र शिकार खेल्ने नयाँ चाल चलिहालेका थिए। यसमा उनी सफल भैछाडे। अहिले जनार्दन शर्मालाई संसदीय समितिमार्फत चोख्याएर अर्थमन्त्रीमा पुननियुक्ति दिलाएर प्रचण्डले आफूलाई सफल खेलाडी साबित गरिदिएका छन्। यसमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा बलियो साक्षीमात्र देखिएका छन्। यसअघि एमाले अध्यक्ष ओलीले पनि यस्तै नियति भोगिसकेपछि प्रचण्डले अब नेपाली कांग्रेसलाई सिध्याउँछन् भनेका थिए।

दुइतिहाई सरकारको पतनपछिको राजनीतिक घटनाक्रमले एमाले र नेपाली कांग्रेसलाई पराजीत गर्न प्रचण्ड सफल भएको प्रष्ट देखाउँछ। यसमा उनी  आफैं कारण हुन् या कारणको पनि कारण अर्कै कोही छ त्यो भने पर्दाबाहिर आउन सकेको छैन।

जनार्दन शर्माको राजीनामा र  पुनर्नियुक्ति वर्तमान राजनीतिको एउटा विकृत अनुहार हो भन्दा अन्यथा हुने छैन। देशभरका नेपाली जनता र विश्वमा छरिएका नेपालीले निन्दा गरेको यो घटनामा सत्ता गठबन्धनका दलहरु मात्र होइन प्रमुख प्रतिपक्ष एमालेले समेत जनमतलाई चरम उपेक्षा गरेका छन्। जनतालाई यतिसम्म उपेक्षा गरिगरि सत्तामा टाँसिएर प्रधानमन्त्री देउवा र नेताहरुले राजनीतिक उपलव्धिकै खिल्लि उडाएका छन्।

शान्ति प्रक्रियामा प्रवेश गरेपछि फरक फरक परिस्थितिमा दुइ पटक प्रधानमन्त्री बनेका प्रचण्डले दुइ ठूला पार्टीसँग सहकार्य गरिसकेका छन्। एमालेसँग मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाएपछि उनले आफू त्यसको सर्वेसर्वा हुने प्रयाश गरेपछि सर्बोच्च अदालत मार्फत् एमाले र माओवादी अलग अलग हुनपुगे। त्यसले बिजारोपण गरेको कलह वृषवृक्षमा रुपान्तरण हुँदानहुँदै सर्बोच्च अदालतबाटै दुइतिहाई नजिकको सरकार नै पतन भयो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बन्यो। यतिसम्म राजनीतिक घटना हुँदा एमाले नराम्ररी पछारिन पुगेको थियो भने नेपाली कांग्रेसको काँधमा बसेर प्रचण्ड राजनीतिक फाईदा उठाउन व्यस्त थिए।

नेपाली कांग्रेससँगको सत्ता गठबन्धनमा प्रचण्डको पार्टीलाई स्थानीय निर्वाचनमा अपेक्षाकृत बढी नै लाभ भएको तथ्यहरुले पुष्टि गरेका छन्। त्यसमाथि एमाले अध्यक्ष केपीशर्मा ओलीसँग ठुस्किएका माधवकुमार नेपालको महत्वाकांक्षालाई सुम्सुम्याएर प्रचण्डले गठबन्धनलाई अघि बढाउँदै थप लाभ लिँदै गरिरहे। एमाले नेतृत्वको सरकारको पतनपछिको राजनीतिक घटनाक्रमलाई फर्केर हेर्दा प्रचण्ड नै बिजयी देखिन्छन्। एमाले र नेपाली कांग्रेस पराजित। 

यसैवर्षको बजेट आउनुअघि मध्यरातमा अर्थमन्त्रालयमा भएको इतिहासकै कलंकित घटनाको जसरी ढाकछोप गरियो। यसबाट लिनसकिने जति लाभ लिएपछि जनार्दन शर्मालाई संसदीय समितिको विशेष अनुसन्धानको सुनपानी छर्किएर पुन उनै शर्मालाई अर्थमन्त्रालयको साँचो सुम्पिने काम भएको छ। पछिल्लो कालखण्डको यो सबैभन्दा लज्जाष्पद र निम्नकोटीको राजनीतिक सौदाबाजी हो भन्दा अन्यथा हुने छैन।

प्रायोजित रुपमा कुनै स्वार्थ समूहको सहयोगमा अर्थमन्त्रालयमा अज्ञात व्यक्तिलाई विशेषज्ञका रुपमा छिराएर विशिष्ट तहका कर्मचारीलाई ती अज्ञात व्यक्तिको आदेश पालना गर्न मन्त्री शर्माले निर्देशन दिने काम भयो। योजनावध्द तरिकाले यो कार्यको सूचना चुहाएर होहल्ला गर्ने र बजेट पनि पारित गर्ने प्रपञ्च समेत गरियो। जनस्तरमा चर्को विरोध भएपछि संसदीय छानविनको नाटक मञ्चन गरेर शर्मालाई चोख्याएर फेरि अर्थमन्त्रालयको साँचो सुम्पिने काम भएको छ। यो घटनासम्म आईपुग्दा प्रचण्डको नयाँ आवरणको जनयुध्द सफलतापूर्वक अघि बढिरहेको प्रष्ट हुन्छ।

प्रधानमन्त्री शेरबहादुर देउवा यतिसम्म लाचार होलान् भनेर कसैले पनि सोचेका थिएनन्। प्रचण्डको घुर्की, धम्की र दवाव सामु देउवा फतक्कै गलेर नै जनार्दन शर्मा फेरि अर्थमन्त्री नियुक्त भएका हुन्। यसमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको राजनीतिक महत्वाकांक्षा पनि एउटा प्रमुख कारण रहेको बुझिएको छ। आगामी संसदीय निर्वाचनमा गठबन्धनले निरन्तरता पाउने निश्चित भएपछि निर्वाचन पछि बन्ने सरकारमा महत्वपूर्ण साझेदारी गर्ने बारेमा देउवा र प्रचण्डवीच गुप्त समझदारी भएको छ। त्यसो हुँदा आरजु राणालाई मन्त्री परिषदको दोस्रो वरियतामा स्थापित गर्ने वचन दिएर प्रचण्डले देउवा दम्पत्तिको महत्वाकांक्षामा मलजल गरिसकेका छन्। गएको साता आरजुको संयोजनमा भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा नयाँदिल्ली पुगेका प्रचण्डले आगामी संसदीय निर्वाचनपछिको सहकार्य तारतम्य मिलाएको उच्च जानकार सूत्रहरुले बताएका छन्।

आफ्नै पार्टीका नेताहरुको मानमर्दन गर्न पछि नपरेका सभापति देउवाले केवल सत्ताका लागि प्रचण्डको रोडम्यापमा आफूलाई हिँडाएर नेपाली कांग्रेसको इतिहास चकनाचूर पारेको भन्दै कांग्रेसजन नै क्रुध्द देखिन्छन्। पत्नीको दवाव र प्रभावमा उठ्न नसक्ने गरी धसिएका प्रधानमन्त्री देउवाले माओवादी नेता जनार्दन शर्मालाई फेरि पनि अर्थमन्त्री नियुक्त गरेर राजकाजको संस्कारको समेत धज्जी उडाएका छन्। 

अर्थमन्त्री छँदा शर्माले केही व्यवसायीलाई अनुकूल हुने गरी राजस्वका दरहरू हेरफेर गरेको आरोप लागेको थियो। करको दर हेरफेर गर्न उनले बजेट भाषणको अघिल्लो रात (जेठ १४ गते) राजस्व प्रशासनमा लामो समय काम गरेर अवकाश भएका नायब सुब्बा रघुनाथ घिमिरे र अर्का एक चार्टर्ड एकाउन्टेन्टलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको उनीमाथि आरोप लागेको थियो।

बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थ मन्त्रालयभित्र लिएर राजस्वका दर हेरफेर गरेपछि विवादमा आएका शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएपछि छानविनको नाटक सकिएको छ। 
 
सूचना चुहाउने, त्यो सूचनालाई प्रचार प्रशार गर्ने माध्यम, अर्थमन्त्रालयका कर्मचारी र स्वयं मन्त्री शर्मा मध्ये को चैं दोषी हो भनेर संसदीय समितिले समेत किटान गर्न सकेन। वास्तवमा यसको गम्भीर अनुसन्धान नै भएन भन्ने एउटा बलियो प्रमाण हो अर्थका पूर्व कर्मचारीसँग सोधपुछ नै नगरिनु। यसले उच्च तहको राजनीतिक सौदाबाजीमा यो सबै नाटक मञ्चित थियो भनेर कसैले आरोपित गर्दा खण्डन गर्ने ठाउँ देखिँदैन। संसदीय विशेष समितिले उच्च राजनीतिक सहमति अनुसार नै शर्मालाई चोख्याएपछि एउटा संगीन प्रश्न उठेको छ– दोषी को हो?
 

प्रतिक्रिया