चिन्ता दार्चुलाको

राजेन्द्र कुँवर
सदरमुकाम दार्चुलादेखि लिपुलेक पिलर नम्बर– १ नाकासम्म बनाइएको सडक सम्झिँदा उनलाई ४५ वर्ष अगाडिको घटनाले झक्झकाउने गर्छ। उनी गरिबीसँगै खेल्दै हुर्किए। दार्चुलामा उ बेला एउटा घोरेटो बाटो थियो। त्यो बाटो हुँदै नेपाली मात्र होइन, भारतीय नागरिक पनि आफ्नो गाउँ फर्किन्थे। पारीका भारतीयहरु नेपालतर्फको घोरेटो बाटो हुँदै गर्ब्याङ, बुदि, गुन्जी, कुटी, नाभी र नपल्चु गाउँ पुग्थे। 

आज समय घडीको सुइँ जस्तै ३६० डिग्री ठ्याक्क उल्टो भएको छ। नेपालतर्फको बाटो भत्किएर हिँड्न सकिने अवस्था छैन। ब्यासस्थित छाङरु तिंकरका जनता भारतीय बाटो भएर आफ्नो घर पुग्छन्। पछिल्लो ३५ वर्षमा यो क्षेत्रबाट कैयौं माननीय भए। मन्त्री पद पड्काए। ठूलाठूला कुरा गरे। सत्तासिन भए। तर, दु:ख बिर्सिए। विकास कुन चरीको नाम हो? सबै पोलेर खाए। देशमा दुइ वटा ठूलो परिवर्तन भयो। तर, दार्चुला जस्तो सामरिक महत्व बोकेको त्रिदेशीय सिमाना भएको ठाउँको जनताले अहिले पनि अर्काको दैलो चहार्दै आफ्नो घरको आँगन टेक्नु पर्ने अवस्था छ। बैराग्य लाग्ने यो अवस्था देखेर अहिले पनि सुस्ताउँछन्, ७८ वर्षीय तत्कालीन माननीय इन्द्रबहादुर बम। 

उनी त्यही भेगको पिपलचौरीस्थित सौतोली गाउँमा जन्मे। गाउँको माटोमा खेल्दै हुर्किए। गरिबी र अशिक्षासँग जुध्दै गाउँसभा सदस्य, जिल्ला पञ्चायत सभापति हुँदै माननीय बने। उनी पञ्चायती व्यवस्थाको अन्त्यमा सांसद थिए।  

उनी जिल्ला सभापति भएकै बेला दार्चुलामा खम्पाकाण्ड भयो। ‘त्यसबेला म जिल्लामै थिए। जिल्लाबाट मान्छे खटाएर नाकासम्मको हुबहु रिपोर्ट दिनुपर्थ्यो। समय–समयमा सरकारसँग संवाद गरेर रिपोर्ट संप्रेषण गरिन्थ्यो।’

चीन र भारतसँग जोडिएको सीमा र अन्तर्राष्ट्रिय घटनाको साक्षी भएको कारण अन्य जिल्लाको तुलनामा दार्चुला संवेदनशील मानिन्छ। त्यो समय सदरमुकामबाट दुम्लिनसम्म जान घोरेटो बाटो थियो। त्यो भन्दामाथि मान्छे मात्र हिँड्न सक्ने गोरेटो बाटो थियो। 

FB_IMG_1658329357404

२०३५ सालमा तत्कालिन राजा वीरेन्द्रको सवारी दार्चुलामा भयो। कार्यक्रम भब्यताका साथ सम्पन्न भएको अहिले पनि स्थानीय बुढापाका सम्झन्छन्। 

‘देशमा राजाको शासन हुँदा कम्तिमा शान्ति थियो। अहिले त सवै राजा। कुन राजाको मान्ने, कुनको नमान्ने?’ वर्तमान राजनीतिक परिदृश्यबाट वाक्क भइसकेका इन्द्रबहादुर भन्छन्। 

उनी वीरेन्द्रलाई दुरदृस्टी भएका विकासवादी राजा भन्न रुचाउँछन्। ‘उनमा दम्भ पटक्कै थिएन। स्वाभिमान र निष्ठाका साथै देशप्रेमी थिए। पचहतरै जिल्लाको दुर्गम भेग पुगेर त्यहाँको समस्या बुझेर सम्भावित विकासका लागि प्रयास गर्न सक्ने खुबी थियो’, उनी राजा वीरेन्द्रलाई यसरी सम्झन्छन्। 

खंलगादेखि लिपुलेकसम्मको घोरेटो बाटो उनको कल्पनामा थियो, जसका कारण केही समयभित्र स्थानियले मात्र नभएर भारतीय नागरिकले समेत आफ्नो गाउँ पुग्न प्रयोग गर्न पाए। आज पनि नेपाल तर्फका नागरिकले मात्र नभएर, पारी भारतीयहरुले समेत राजा वीरेन्द्रको मुक्तकण्ठले प्रशंसा गर्छन्। 

राजा वीरेन्द्रको एउटा महत्वपूर्ण भनाइ थियो, ‘गोरेटो बाटोलाई चौडा बनाएर घोडा हिँड्ने घोरेटो बनाउने र घोडा हिँड्ने बाटोलाई जीप चल्न सक्ने, जीप चल्न सक्ने बाटोलाई गाडी चल्न सक्ने मोटर बाटो बनाउने।’ 

यी कुरा इन्द्रबहादुर जिल्ला सभापति भएको बेला राजा वीरेन्द्रले ब्यास गापा–२ स्थित दुम्लिङको थि भन्ने ठाउँमा बोलेका थिए। 

उनी ती दिनको किस्सा सुनाउँदै भन्छन्,‘ म सभापति भएकोले माननीय स्व. बहादुरसिंह ऐतवालसँगै उभिएको थिए। राजाले हेलिकप्टरबाट उत्रिने वित्तिकै तिंकर जाने बाटोको अवस्था के होरु भनेर प्रश्न गरिबक्सियो। मैले जवाफमा सरकार बाटोको काम राम्रोसँग चलेको छ, चट्टाने भिरको ढुङ्गा काटेर बाटो बनाउन समय लागेको बताए। तर, माननीय बहादुरसिंह ऐतवालले सरकार यो बाटोमा भ्रस्टाचार भएको छ भनिदिए। दुई जनाको कुरा बाझिएपछि राजा अलमलमा पर्ने भइहाले नि। राजा त नबोलिकन बसेको ठाउँबाट जुरुक्क उठेर काम चलिरहेको ठाउँतिर सरासर पो लागे। राजाको पछाडि गार्ड दौडियो। गार्डको पछिपछि हामी। भिरमा पुगेपछि मात्र राजा अडिए। कामदारहरु डोरीमा झुण्डिएर ढुङ्गा काटिरहेको देखेपछि राजालाई अचम्म लागेछ। सोधनी भयो– यो के गरेकोरु काम गर्नेहरुको साहस देखेर अचम्म मानेका राजा वीरेन्द्र कामदारको नजिक पुगेर सम्झाउँदै भन्न थाले– सावधानी अपनाएर काम गर्नु।’ 

त्यही दिन राजाले गोरेटो बाटो घोरेटो बन्दै निकट भविस्यमै मोटर चल्ने बाटो बन्ने आश्वासन दिएर फर्किए। गोरेटो बाटो २०४३ सालमा घोरेटो त बन्यो तर घोरेटो बाट मोटर चल्ने बाटो कहिल्यै बनेन्। लगत्तै देशमा प्रजातन्त्र पुनर्स्थापना भयो। यसबीच यहाँका कैयौ मान्छे मन्त्री भए। तर अहिलेसम्म बाटो बनाउने तर्फ कसैले अग्रसरता देखाएनन्। उल्टो घोरेटो बाटो भत्किँदा २०४६ र ४७ सालदेखि यहाँका स्थानियले आफ्नो गाउँ प्रवेश गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ।

FB_IMG_1658633940282

‘कराउँदा कराउँदा थाकिसक्यौं। अब त बुढो शरिर थाकि पनि सक्यो’, हाल काठमाडौंस्थित बुढानिलकण्ठमा बसोबास गर्दै आएका इन्द्रबहादुर बताउँछन्। 

जीवनका अधिकांश समय राजनितिमा खर्चिदा कहिल्यै गुनासो सुन्नु नपरेको उनको भनाई छ। उनी २५ वर्षको उमेरमा जिल्ला पञ्चायत सभापति नियुक्त भएका थिए। उनले १६ वर्ष सभापति भएर चलाए। फलस्वरूप २०४३ सालमा उनी राष्ट्रिय पञ्चायत सदस्य अथवा माननीय भएर काठमाडौं आए। 

जिल्लाका समस्या सदनमा सुनाउँदा अन्य माननीयहरु जिल्ल पर्थे। उनी अहिले पनि राजाको अगाडि कालापानीको बिषय राखेको सम्झिन्छन्। ‘राजा वीरेन्द्रले मेरो कुरा ध्यानमग्न भएर सुनेको हिजै हो कि जस्तो लाग्छ। दार्चुला संवेदनशील जिल्ला भएको हुनाले त्यहाँका जनतालाई शिक्षा, स्वस्थ्य र यातायातको लागि पहल गर्नुपर्छ भनि बोलेका वाक्य कानमा गुन्जिरहन्छन्,’ उनी भन्छन्। 

आफू भन्दाअगाडि स्व. ऐतवालले मन्त्री भएकै बेला कालापानीको बिषयमा २०२७ सालमा सदनमा कुरा उठाएको उनी बताउँछन्। भन्छन्,‘कालापानी, लिपुलेक र लिम्पियाधुराको बारेमा पहिलो पटक सदनमा आवाज उठाउने बहादुरसिंह ऐतवाल हुन्। उनको पदचाप पछ्याउँदै २०४६ सालमा प्रेमसिंह धामीले आवाज उठाए। २०५२ को हिउँदे अधिवेशनमा राष्ट्रिय मुद्दाको रुपमा स्थापित भयो। पछिलो समय माननीय गणेश ठगुन्ना लगायत देशका अन्य ठूला नेताहरुले पनि दार्चुलाको अतिक्रमित भुमिको बिषयमा बोलेको देख्दा खुसी लाग्छ,’ उनी भन्छन्। 

पछिल्लो समय राजनीतिमा गुमनाम जीवन बिताइराखेका इन्द्रबहादुरको प्रजातन्त्र प्राप्तिपछि यो नै पहिलो साक्षात्कार हो।

उनी माननीय हुँदा राज्यले श्रोत साधन लगानी गरेर दार्चुला सदरमुकामबाट तिंकरसम्म जाने घोरेटो बाटो बनाएको थियो। देशमा प्रजातन्त्र आएपछि आफ्नो माननीय पद धराप परेको भन्दा पनि यो क्षेत्रले काँचुली फेर्छ भनेर उनी दंग परेका थिए। तर २०४६ पछिका सरकारले आफ्नो क्षेत्रको विकासमा कुनै चासो र चिन्ता नदेखाउँदा उनी खिन्न छन्। भन्छन्,‘हामीले बनाएको घोरेटो बाटो भारतीय गाउँका मानिसले प्रयोग गरेको देख्दा गर्बले छाती ढक्क भएर आउथ्यो। अहिले ठिक उल्टो भएको छ। त्यो पनि लामो समयदेखि।’ 

उनी नेपाली भूभाग भारतले सहजै फिर्ता गर्ने कुरामा आफूलाई शंका लागेको बताउँछन्। ‘पहिले भारतले आफ्नो सुरक्षाको लागि त्यो क्षेत्र ओगट्यो। अहिले व्यापारिक नाफाका लागि ओगटिरहेको छ,’ उनको बुझाइछ।  

FB_IMG_1658634384819

उनी कालापानी क्षेत्रको बारेमा २५ र ३० वर्ष देखि सुनिरहेको तर यस क्षेत्रको विकासको लागि अहिलेसम्म बहस नभएको बताउँछन्। 

‘बरु उ बेला निष्ठाको राजनीति हुन्थ्यो। इज्जत र प्रतिष्ठाको कुरा हुन्थे। राजनीतिज्ञमा इमान थियो। भ्रस्टाचारको कुरा सुन्दा खुट्टा लगलगाउँथ्यो। राज्यसँग ठूलो मात्रामा बजेट पनि थिएन। त्यही पनि राज्यले अति संवेदनशील जिल्लाको रुपमा दार्चुलालाई राखेको थियो। तुलनात्मक रुपमा अन्य हिमाली जिल्लाभन्दा  यहाँ विकास भएको थियो,’ उनको अनुभव छ। 

वास्तवमा इन्द्रबहादुर दार्चुलाको विकासमा अग्रणी भूमिका निर्वाह गर्ने राजनीतिज्ञ हुन्। विकासप्रेमी नेताका रुपमा चिनिएका उनी गाउँमा प्राथमिक बिधालय र प्रौढ शिक्षाका साथै खाधान्न डिपो स्थापना गर्न गरेको योगदानको लागि अहिले पनि गाउँलेद्धारा प्रशंसित पात्र हुन्।  

उनी पद र शक्तिको पछाडि कहिल्यै दौडिएनन्। पञ्चायती राजनीतिमा पनि उनले छोटो समयमा छुटै ब्यक्तित्व बनाइसकेका थिए। २०४३ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठले उनलाई वन सहायक मन्त्रीको प्रस्ताव गरेका थिए। तर, उनले आफू अझैं जिल्लाको काममा व्यस्त भएको हुनाले मन्त्री बन्न इच्छुक नभएको जानकारी गराएका थिए।  ‘मलाई महाकाली अञ्चलबाट २०४४ सालमा राज्यमन्त्रीको लागि सिफारिस गरिदा मरिचमानसिंह डेरामा आउनु भएको थियो,’ उनी बताउँछन्– तर मन्त्री पदमा बसिराख्दा जिल्लाका मानिसको काम गर्न समय पुग्दैन भन्ने डरले त्यसबेला पनि अस्विकार गरे। मरिचमानले पछि सदनमा मुक्तकण्ठले प्रशंसा गर्नुभयो।  

माननीय हुँदा पूर्णकार्यकाल काम गर्न नपाए पनि जिल्लामा गरिबका छोराछोरीलाई सहयोग गर्न पाएकोमा उनी केही हदसम्म खुसी छन्। ‘त्यो समय एउटा गरिबको छोरालाई जागिर खान पाउनु सानो कुरा थिएन। त्यसैले जिल्लाबाट काठमाडौं आइपुगेका धेरैलाई उनीहरुको योग्यता अनुसार सरकारी जागिरमा प्रवेश गराए,‘ उनी सम्झन्छन्– त्यो बेला कार्यालयमा  कर्मचारीको पनि अभाव हुन्थ्यो। त्यसैले जिल्लाबाट आउने आठ पास, एसएलसी र १२ कक्षा पढेकालाई माननीय भएको बेला आफैले सिफारिस गरेर जागिर लगाए। अहिले धेरै अवकाश भइसकेका छन्। 
 

प्रतिक्रिया