१९८४ को त्यो ‘पाइलट काण्ड’ र ठकुरीको साहस

राजेन्द्र कुँवर

मुक्तिनाथ धार्मिक पर्यटकका लागि मात्र होइन, यसको आफ्नै ऐतिहासिक महत्व पनि छ। यहाँस्थित झारकोट गाउँमा करिव ६ सय वर्ष पुरानो राजाको ऐतिहासिक किल्ला अझैं सुरक्षित छ। त्यही राजपरिवारका सदस्यमध्ये एक हुन्, राजेन्द्र ठकुरी। 

उमेरले ६ दशक काटिसकेका, लवाइ–खवाइका कारण होला– उनको राजसी ठाँटबाँठमा अझै कुनै कमि देखिदैन। मिलनसार स्वभावका उनी सामाजिक काममा उत्तिकै अग्रसर छन्। अझ् उनको बौद्धिकता एकछिन कुरा गर्ने वित्तिकै खुट्याउन गाह्रो पर्दैन। 

उनको स्थायी ठेगाना मुस्ताङको विकट गाउँ झारकोट हो। मुक्तिनाथ जस्तो पवित्र ठाउँमा जन्मिएका कारण अरुलाई कसरी सत्कार गर्नुपर्छ, त्यो उनको रगतमा बगेको छ। सहयोगी मनका धनी यी झारकोटका स्थानियबीच अभिभावको भुमिकामा पनि देखिन्छन्। 

ठकुरी परिवारमा जन्मिए पनि उनले बुद्ध धर्म अंगालेका छन्। हाल बौद्धस्थित तिनचुलीमा बसोबास गरिरहेका ठकुरीका चार छोरा र एक छोरीमध्ये दुई छोरा जापान र क्यानडा, छोरी अमेरिका तथा दुई छोरा यहि बसेर पढिरहेका छन्।

उनी अहिले पनि मुक्तिनाथस्थित झारकोटबाट करिव २० किमिको दुरीमा घोडसवार गर्दै दैनिक स्कुल पढ्न जोमसोम पुगेको सम्झिने गर्छन्। 

उनलाई सन् १९८४ को ‘पाइलट काण्ड’ ले अहिले पनि चिमोटिरहन्छ। त्यतिबेला जोमसोममा खम्पाहरुको बाक्लो उपस्थिति थियो। एकदिन १९ वर्षीय एक खम्पाली युवती जोमसोमबाट पोखरा उत्रिनका लागि तल झरेकी थिइन। जोमसोमबाट पोखरा जान प्लेन मात्र सजिलो विकल्प भएको हुँदा उनी टिकट काट्न लाइनमा बसेकी थिइन। शरीरभरी सुनको गहना भएको हुनाले उनी सम्पन्न भएको कुरामा दुइमत थिएन। यसमा पनि उनी सुन्दर थिइन। 

उनको सौन्दर्यताले गर्दा होला, नेपाल एयरलाइन्सका पाइलटको मनमा पाप पलायो। उनीहरुले जानीजानी त्यो दिन पोखरा उड्नुपर्ने जहाज ‘डिले’ गरिदिए। 

अहिले सैयौंको संख्यामा होटल भएको जोमसोममा त्यति बेला दुइवटा मात्र होटल थियो। पाइलटहरुले स्थानिय थकाली युवासँग मिलेर युवतीलाइ आफू बस्ने होटलमा बोलाए। 

होटलमा तातो पानीले नुहाएर खान खाइसकेपछि ती युवतीलाई उनीहरुले भनेछन्, ‘भोलि बिहानको फ्लाइटबाट पोखरा जाने भए साँझ होटल आउनु।’ 

पाइलटको व्यवहार ती युवतीलाई चित्त बुझिरहेको थिएन। उनलाई शंका लाग्यो। कसलाई आफ्नो मनको व्यथा सुनाउ भन्ने 
लागिरहेको बेला ती युवतीले जोमसोममै रहेका राजेन्द्र ठकुरीलाई फेला पारिन्। 

संयोगले ठकुरी पनि पोखरा जान जोमसोम झरेका रहेछन् र त्यही एउटा होटलमा बास बसेका रहेछन्। 

सामाजिक काममा अग्रसर ठकुरीलाइ जोमसोममा प्रायस् सबैले चिन्थे। खम्पा युवतीको रोदन सुनेपछि स्वाभिमानी स्वभावका ठकुरीले भोलि बिहान जसरी पनि पोखराको प्लेनमा टिकटको व्यवस्था गरिदिने र आफू बसेको होटलको अर्को कोठामा बास बस्न सुझाव दिए।

तर, राति घटनाले अर्कै मोड लियो। १२ बजे राती युवती सुतेको रूमको ढोका बाहिरबाट ढक्ढक्याएको आवाज आयो। ठकुरी हत्तपत्त उठेर बाहिर निस्किए। उनीसँगै अन्य युवाहरु पनि थिए। मानिसहरुको भिड देखेपछि ढोका ढकढक्याउने मानिसहरु अध्यारोमा कुलेलम ठोके। उनले रातभरी पहरा दिए। भोलि बिहान गाउँलेहरु उठ्दा राती जुन लुगासहित देखिएका व्यक्ति थिए, ती मध्ये एक जना आर्मी ब्यारेकबाट आउँदै गरेको, अर्को कालिगण्डकी तिरबाट र तेस्रो एयरपोर्टको धावनमार्गबाट। 

रातीको घटनामा नेपाल एयरलाइन्सका पाइलट, को–पाइलट र अर्का एक स्थानिय युवा भएको पुष्टी गर्न स्थानियलाई गाह्रो भएन। उनीहरुले यी तीन जनालाई ल्याएर थुने। 

यो घटनाबाट आत्तिएको तत्कालीन प्रशासनको होस् उड्यो। तत्कालिन जिल्ला प्रहरी प्रमुखलगायत जिल्ला सभापतिले होटलमा पुगेर पाइलटको टिमलाइ छोडिदिन ठकुरीसमक्ष आग्रह नै गर्नुपर्यो। ‘मैले उनीहरुलाई समातेर कोठामा राखेको थिए,’ उनी सम्झन्छन्। 

यो घटनाले ठकुरी यति विक्षिप्त भए कि उनको मनमा एउटा कुरा खेल्न थाल्यो, ‘गाउँमा एक जना पाइलट जन्मिएको भए यस्ता कृयाकलाप आफ्नै आँखा अगाडि देख्नु पर्दैनथ्यो।’ 

उ बेला ठकुरी आफैले राम्रोसँग पढ्न पाएका थिएनन्, यस्तो बेला उनले सोचेर मात्र के हुन्थ्यो ररु  त्यो केवल आक्रोश मात्र थियो। 

घटनाको पर्सी पल्ट बिहान ६ बजे प्लेन जोमसोमबाट पोखरा उड्यो तर ती युवती उड्न पाइनन्। दोश्रो फ्लाइटमा पनि ती युवतीलाई उडाइएन। यसपछि ठकुरी गाउँको युवाहरु जम्मा पारेर खुकुरी नचाउँदै एयरपोर्टभित्र प्रवेश गरे। यो घटनाबाट डराएको प्रशासन बल्ल अन्तिम फ्लाइटमा युवती उडाउन राजी भयो। ‘मलाइ अहिले पनि त्यो घटना सम्झदा राज्य प्रशासनको लाचारी देखेर दया लाग्छ,’ उनी सम्झन्छन्। 

उनी एकदिन पोखराबाट जोमसोम आउँदै थिए। एक अमेरिकी उनीसँगै प्लेनमा थिए। ती अमेरिकीले उनलाई जोमसोममा गाइड गरिदिन अनुरोध गरेपछि उनले पुरै जोमसोम घुमाइदिए। जाने बेला ती अमेरिकीले आफूलाई १२ वटा तिब्बेतीयन गलैचा चाहिएको बताए। ठकुरीले उनलाई पछि पार्सल गरेर पठाइदिने बाँचासहित बिदा गरेको केही साताभित्रै अमेरिका पठाइदिए। 
यो घटनाबाट खुसी भएको अमेरिकीले केही साताभित्रै ठकुरीको नाममा एउटा बडेमानको उपहार पठायो, त्यो पनि ५०० लिटरको पानी बेड। 

‘म त दंग परे। यसपछि मलाइ लाग्यो, सहयोग र सहकार्यले मानिसहरु जति टाढा भए पनि नजिकको साथी बन्न सक्दो रहेछ’,  उनी पुरानो घटना सम्झन्छन्।  

एकदिन तिनै अमेरिकीले उनलाई अमेरिका आउने निम्तो गरे। उनी त्यतिबेला २ सय ५० डलरको चेक काटेर अमेरिकाको भिजा लिँदै अटलान्टा पुगेका थिए। 

उनलाई पहिले ती गोराको विषयमा त्यति थाहा थिएन। तर त्यहाँ पुगेपछि बुझे, गोरा त निकै धनी रहेछन्। गोराको आफ्नै दुइ सिटे जहाज थियो। ‘अफिसबाट घर आउँदा उनी आफ्नै प्लेन प्रयोग गर्थे’, उनी सुनाउँछन्। 

ठकुरीले जोमसोममा १० कक्षासम्मको अध्ययन गरेका थिए। उनले गोराको घरमा प्लेन देखेपछि जोमसोमको त्यही पाइलट काण्ड सम्झिए। उनले एकदिन गोरा साथीलाइ सोधेछन्, म प्लेन उडाउन सक्छु?

अमेरिकी साथीले उनलाई उत्साहित पार्दै प्लेन उडाउन सिकाउने आश्वासन दिए। 

‘१२ दिनमा प्लेन उडाउन–बसाउन जान्ने भैसकेको थिए। प्लेन उडाउन र ल्याण्ड गर्न मात्र गाह्रो हो। आकाशमा उडाउन सजिलो छ,‘उनी भन्छन्– प्लेन उडाउन सिके पनि अन्य प्राविधिक काम गाह्रो हुने रहेछ। अरु सवै ठिक चलेको थियो तर कन्ट्रोल रुमले भनेको कुरा पटक्कै नबुझिने, निकै गाह्रो। कन्ट्रोलको सिग्नल बुझ्न नसकिए एक्सिडेन्टको निकै ठूलो सम्भावना हुने।’ 

उनले यही आएर गाउँको पढाइले पाइलट बन्न सम्भव नहुने बुझे। यसका लागि राम्रो पढेलेखेको र अंग्रेजी भाषामा पोख्त हुनुपर्ने उनलाई बुझ्न गाह्रो भएन। यसपछि पाइलट बन्ने भूत उनको दिमागबाट बाहिर निस्कियो। 

‘अमेरिकी साथीले एक–दुइ महिना कर गरेकै हुन्। त्यसपछि लाइसेन्स लगेर नेपाल फर्किन अनुरोध गरेका थिए,’ उनी सुनाउँछन्। 

अमेरिका भएको बेला आफू बौद्धिष्ट भएको र सधै तिब्बेतीयन भाषामा लेखिएको मन्त्र पढ्ने गरेको उनले बताए। 

अमेरिकामा हुँदा उनलाइ अर्को गोराले क्रिश्चियन धर्म अपनाएर उतै बस्न अफर दिएका थिए। उनले पाँच सय एकड जमिन ठकुरीको नाममा गरिदिने लोभ पनि देखाएका थिए। तर, बुद्ध धर्ममा रमाइसकेका र पहाड र हिमाली परिवेशमा हुर्किएका ठकुरीलाई त्यहाँ बस्न मन लागेन। नेपाल फर्किए। 

गाउँ फर्केपछि पनि उनी समाजसेवामा सक्रिय भए। पछि जापान पनि हानिए। तर उनलाई नेपाल, विशेषत जोमसोमले तानिरह्यो। 

अचेल उनलाइ मुक्तिनाथस्थित झारकोटमा रहेको पुरानो घरलाई होमस्टेको रुप दिने र स्थानिय युवाको लागि रोजगारी सृजना गर्ने रहर छ। ‘म यसलाइ अध्ययन केन्द्रको रुपमा विकाश गर्न चाहन्छु,’ उनी भन्छन्। 

प्रतिक्रिया