बाल श्रमका लागि साेमालियाबाट बेलायत भित्रिएका चर्चित ओलम्पियन मो फरा

बाल्यकालमा सोमालियाबाट मानव तस्करीको शिकार भएर बेलायत पुगेका एक शिशु, जो लामो समय एउटा घरमा बाल श्रमिक भएर जीवन बिताउन बाध्य भए। यो कथा हो, बेलायतलाई ओलम्पिकमा ४ वटा स्वर्ण पदक जिताउने धावक मो फराको।

हालै बीबीसीको एउटा डकुमेन्ट्री ‘दि रियल मो फरा’ मा उनले आफ्नो जीवनसँग जोडिएको थुप्रै रहस्यको पर्दाफास गरेका छन्। 
मो फराको वास्तविक नाम हुसेन अब्दी काहिन हो। उनी सोमालियाको दिजिबुती भन्ने ठाउँमा जन्मिएका थिए। उनले अन्तर्वार्ताको क्रममा भनेका छन्, ‘म ८–९ वर्षको हुँदा मलाई अपरिचित एक महिला तस्करले बेलायत भित्र्याइन र घरमा नोकर बनाएर राखिन। तपाईहरू मलाई अहिले जुन नामले चिन्नु हुन्छ, त्यो म होइन। मेरो नाम मो फरा थिएन।’

पूर्वी अफ्रिकी राष्ट्र सोमालियाबाट बेलायत प्रवेश गराउने वित्तिकै ती महिलाले उनको नाम मोहम्मद फरा राखेकी थिइन। र, उनलाई अर्कै परिवारको सानो केटाकेटीको रेखदेख गर्ने कामलाई लगाइन। 

यसअघि मो फराले आफ्नो परिवार सोमालियाबाट बेलायत शरणार्थीको रूपमा प्रवेश गरेको बताएका थिए। उनले सन् २०१२ को लण्डन ओलम्पिक र २०१६ को रियो ओलम्पिकमा दुवै पल्ट ५ हजार र १० हजार मिटरमा दोहोरो स्वर्ण जितेका थिए। उनको नाममा ओलम्पिकमा ४ स्वर्ण जित्ने पहिलो अश्वेत बेलायती ट्रयाक एण्ड फिल्ड खेलाडीको इतिहास जोडिएको छ।   

अहिले उनी ३९ वर्षमा प्रवेश गरेका छन्। यतिबेला उनले आफूलाई जन्म दिने आमा–बुवाले बेलायती भूमिमा खुट्टा नटेकेको बताएका छन्। उनले भने, ‘म ४ वर्ष हुँदा सोमालियामा भएको नागरिक हिंसामा बुवाले ज्यान गुमाउनु भयो। आमा र २ भाइ सोमालियाबाट छुट्टिएको सोमालिल्याण्डमा बसोबास गर्नुहुन्छ, जुन ठाउँलाई अन्तर्राष्ट्रिय मान्यता छैन।’

जुन महिलाले तस्करी गर्दै उनलाई बेलायत पुर्याएकी थिइन, उनैले नक्कली दस्तावेज तयार पारेर मो फरालाई बेलायत प्रवेश गराएकी थिइन। उनलाई यतिबेला उनकै छोराछोरीले आफ्नो विगत बाहिर ल्याउन प्रोत्साहन गरिरहेका छन्। 

उनी भन्छन्, ‘मैले आफ्नो कथा सुनाउने कारण यो हो कि, म सामान्य जीवनयापन गर्न चाहन्छु। मेरो मन भित्र कुनै कुरा गुम्स्याएर राख्न चाहन्न।’ 

फराको विवाह २०१० मा तानियासँग भएको थियो। विवाहको केही दिनभित्रै तानियालाई आफ्नो श्रीमानको विगतका धेरै कुराहरू गायब भएको महसुस हुन थालेको थियो। पछि फराले श्रीमतीलाई सबै कुरा बताए।

उनले भने, ‘बेलायत भित्रिएपछि तस्करी गर्ने महिलाले मेरो सबै कागज च्यातिदिइन। जसमा मेरो परिवारको ठेगाना उल्लेख थियो। घरमा नोकरको रुपमा काम गर्दा आफ्नो परिवारलाई अफ्ठेरो पर्छ कि भनेर मैले मुख खोलिन। म प्रायः बाथरुमको ढोका थुनेर रुने गर्थे।’ 

उनको प्रतिभालाई सबैभन्दा पहिले स्कुलका फिजिकल एजुकेशन शिक्षकले पत्ता लगाएका थिए। एलन वाटकिन्सन नाम गरेका शिक्षकले उनी दौडिदा उनको मुडमा देखिने परिवर्तनलाई सुक्ष्मढंगले अनुभव गरेका थिए। 

फरा भन्छन्, ‘एथलेटिक्सले मलाई मुक्तिको बाटो देखायो।’ उनले आफ्नो दुःखद कहानी उनै शिक्षक वाटकिन्सनलाई बताएका थिए। पछि उनै शिक्षकले मो फरालाई बेलायतको नागरिकता उपलब्ध गराउन योगदान गरेका थिए। लामो प्रक्रियापछि फराले २५ जुलाई २००० मा बेलायती नागरिकता प्राप्त गरे। 

मानव बेचबिखनको आफ्नो अनुभव सार्वजनिक गरेकोमा समाज कल्याण संस्थाले उनको प्रसंसा गरेका छन्। बेलायतको शरणार्थी विभागले ट्वीट गर्दै लेखेको छ, ‘मुटु चुडिने कथा व्यक्त गर्ने आँटका लागि मो फरा प्रसंसाको पात्र छन्।’

–AP

प्रतिक्रिया