महानगर प्रमुखको महँगो रहर

बालेनजी, सालिकको पछि किन दौडने?

सालिक बनिने क्रममा
ढुंगाले पनि सोच्दोहोला–
सालिक बनिनुभन्दा
किन बन्न सकिन्न
जनताको मनको मालिक ?

(कृसु क्षेत्रीको सालिक कविताबाट)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिवंगत चर्चित र्यापर यमबुद्घ (अनिल अधिकारी)को शालिक निर्माण गर्न महानगरको कोषबाट १५ लाख रुपैयाँ छुट्याउने निर्णय गरेको खबर सार्वजनिक भएपछि सर्वत्र यसको कडा आलोचना भयो। शनिबार बालेनले निर्णय सच्याउँदै महानगरको कोषको सट्टा आफ्नो तलबले शालिक बनाइछाड्ने जानकारी दिए। विशेषतः फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा आमनागरिकले गरेको व्यापक विरोध र आलोचनाका कारण बालेन उक्त निर्णय सच्याउन बाध्य भएका हुन् भनी सहजै अनुमान गर्न सकिन्छ।

समाजमा योगदान दिएका विशिष्ट व्यक्तित्वहरुको सम्झनामा शालिक बनाउने चलन रहँदै आएको छ। तर, पछिल्लो समय शालिक निर्माणकार्य यति विकृत र कर्मकाण्डी बन्न पुग्यो कि त्यसको आधारभूत मूल्य–मान्यता अब बाँकी रहेन। पछिल्लो समय नुवाकोटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वर्गीय छोरा प्रकाश दाहालको शालिक अनावरण भएपछि यसको औचित्यमाथि धेरैले प्रश्न उठाएका थिए।

त्यसको केही दिनपछि बालेनले यमबुद्घको शालिक बनाउन राज्यकोषको रकम छुट्याउँदा सबैले आस गरेका उनी चौतर्फी आलोचनाको घेरामा परे। यमबुद्घको नेपाली र्याप संगीतमा ठूलो योगदान छ, यसलाई कसैले नकार्न सक्दैन। तथापि, बालेनले उनको शालिक बनाउन जसरी मरिहत्तै गरिरहेका छन्, त्यो किमार्थ उचित निर्णय होइन। 

सरकारी पैसाबाट नभए पनि आफ्नै तलबबाट यमबुद्घको शालिक बनाइछाड्ने उनको उद्घोष छ। यसअघिका मेयरबाट सिन्को भाँच्ने काम नभएपछि महानगरका जनताले आशाको केन्द्रका रुपमा बालेनलाई पठाएका हुन्। उनले गरेका हरेक नीतिगत निर्णय र कामलाई जनताले मिहिन रुपमा निगरानी गरिरहेका छन्। यसपटकको स्थानीय चुनावमा एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहजस्ता आफूलाई काठमाडौंको रैथाने र प्रभावशाली ठान्ने उम्मेदवारहरुलाई हराउँदै बालेनलाई यहाँका जनताले किन भोट दिए त? प्रमुख दल र तिनका नेताहरुप्रति रहेको आक्रोश एउटा पक्ष हो भने बालेनजस्ता युवापुस्ताप्रति भरोसा महत्वपूर्ण पाटो हो। 

बालेनबाट यहाँका जनताले जादूको छडीजस्तो तुरुन्ततुरुन्ती सबै विकृत र विसंगति अन्त्य होला भन्ने आशा पनि राखेका छैनन्। विकास–निर्माण र परिवर्तन क्रमिक रुपमा अगाडि बढ्ने एउटा प्रक्रिया हो। जसरी बिहानको समयले दिउँसोको अवस्थालाई प्रतिबिम्बित गर्छ, त्यसरी नै बालेनले अहिले चालेका पाइलाले उनको आगामी कार्यकाले मार्गचित्र तयार हुन्छ। 

बालेन मेयर भएर आएको एक महिना पूरा भइसकेको छ। यति छोटो अवधिमा उनका कामको मूल्यांकन गर्न धृष्टता गर्नु उचित पनि होइन। राजनीतिक दलको छत्रछायाँमा हुर्किएको महानगरको कर्मचारी संयन्त्रसँग काम गर्न स्वतन्त्र हैसियतले चुनाव जितेका बालेनलाई त्यति सहज पनि कहाँ छ र?

काठमाडौंको फोहार व्यवस्थापनको समाधान नगरेसम्म कतै सार्वजनिक अन्तर्वार्ता दिन्नँ भन्ने उनको आशय ‘केही गरेर देखाउनुपर्छ’ भन्ने भावनाबाट प्रेरित भएको हो कि भन्न सकिन्छ। तथापि, कतिपय विषयवस्तु र मुद्दामा भने आलोकाँचोपन देखाउँदा उनले आफ्नो ‘वेटेज’ आफैं घटाइरहेका छन्। 

बालेनले किन बुझ्न सकिरहेका छैनन् कि अहिले शालिक निर्माणमा समय र स्रोत खर्च गर्नुपर्ने बेला होइन। चाहे त्यो पैसा राज्यकोषको होस् कि बालेनको निजी। अहिले त उनले गर्नुपर्ने योभन्दा धेरै महत्वपूर्ण कामहरु रहेका छन्। उनका लागि जनताले पाँच वर्षका लागि म्यान्डेट दिएका छन् र, यसअघिका मेयर विद्यासुन्दर शाक्यको जस्तै कुम्भकर्ण गति लिने हो भने यो अवधिमा कुनै योजनाको प्रभावकारी कार्यान्वयन गर्न सकिँदैन।
 
एक महिना अवधि पूरा नहुँदै बालेन केही मुद्दाहरुमा चुकेका छन्। जस्तो: केही साताअघि महानगरको फुटपाथबाट व्यापारीलाई हटाउने निर्णय सही भए पनि अर्को विकल्पबिनै नगर प्रहरीले बल प्रयोग गरेर हरियो मकै बेच्ने विपन्न परिवारको ठेला जफत गरेपछि बालेनको व्यापक आलोचना भएको थियो। महानगरमा अनगिन्ति समस्या छन्, तिनका समाधानका लागि मेयर÷उपमेयरको अक्कलले मात्र भ्याउँदैन। तसर्थ, उनले अनुभवी विषयगत विज्ञहरुसँग सरसल्लाह लिएर मात्र कुनै पनि निर्णय गर्नुपर्ने हो, त्यस्तो भएजस्तो देखिँदैन।

बालेन मेयर निर्वाचित हुनुभन्दा अगाडि एउटा टेलिभिजनमा चिरिबाबु महर्जन र बालेन शाहसँग अन्तर्वार्ता गरिएको थियो। त्यस अन्तर्वार्तामा चिरिबाबुले भनेका छन्–मेयर/उपमेयरलगायत जनप्रतिनिधिले आमनागरिकका गुनासो सुन्नुपर्छ, कहिल्यै आवेगमा आउनु हुँदैन। अनुभव र परिपक्वताको अभावले हुन सक्छ–बालेनले अझै यदाकदा रिस र आवेग देखाएको पाइन्छ। 

कुशल नेतृत्व विकास सन्दर्भमा विश्वभर विभिन्न मोडल विकास भएको पाइन्छ। त्यही क्रममा अध्यात्ममा आधारित राजनीतिक नेतृत्वले मात्र सामाजिक, आर्थिक, सांस्कृतिकलगायत विविध समस्या समाधान गर्न सक्छ भन्ने पछिल्ला अनुसन्धानको निष्कर्ष रहेको छ। त्यही भएर बालेनलगायत स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले योेग, ध्यानलाई जीवनको अभिन्न अंग बनाउनुपर्छ।  
 
काठमाडौं महानगरपालिकको उम्मेदवार हँुदा बालेनलाई अधिकांश युवापुस्ताको समर्थन रहेको थियो। विदेशका नेपाली युवाहरुले काठमाडौंमा रहेका आफ्ना परिवारका सदस्यहरुलाई यसपटक बालेनको चुनाव चिह्न लौरोमा भोट हाल्नका लागि जोडदार आग्रह गरेका थिए। काठमाडौं उपत्यकाको कला, संस्कृति, पाटीपौवा, फाल्चा, ढुंगेधारालगायत सभ्यतालाई जोगाउन विशेष भूमिका खेल्छु भनी बालेनले घोषणापत्रमै उल्लेख गरेका थिए। सबै पक्षको समन्वयकारी भूमिका र सदाशयताले गर्दा बालेनले चुनाव जिते पनि।

बालेन आफैंमा कुशल ¥याप गायक भएकाले युवापुस्ता उनीप्रति आकर्षित भएको थियो। युवापुस्ताकै मत निर्णायक भएकाले उनको विजय सहज बनेको थियो। ¥यापप्रति आकर्षित युवापुस्ताको ‘सेन्टिमेन्ट’ सम्बोधन गर्न उनले यमबुद्घको शालिक निर्माण गर्ने योजना अघि सारेको जानकारहरु बताउँछन्। त्यही भएर सरकारी रकमबाहेक अन्य स्रोतले यमबुद्घको शालिक बनाइछाड्ने बालेनको योजना रहेको छ। बालेनको यो जिद्दी उचित होइन।

बालेनले आफ्नो तलबबाट शालिक बनाउने भनेका छन्। चार वर्षअघि सर्वोच्च अदालतले दिएको आदेशपछि मुलुकका कुनै स्थानीय तहका पदाधिकारीले विधिवत रुपमा तलब लिन मिल्दैन। उनीहरुले बैठकभत्ता, गाडी, इन्धन आदि शीर्षकमा भने लिन मिल्छ। त्यही भएर पनि बालेनले तत्कालका लागि यमबुद्घको शालिक बनाउने योजना थाँती राखेर उनको सम्झनामा अन्य सिर्जनात्मक क्रियाकलाप गर्नु उचित हुन्छ।   

सुरुमै उल्लिखित कवि कृसु क्षेत्रीको कविताझैं कुनै पनि सर्जक ढुंगाको शालिक बनिनुभन्दा जनताको मनको शालिक भएमा पछिसम्म स्मरणीय हुन सक्छ। यसको तात्पर्य कसैको पनि शालिक बनाउनै हुँदैन भन्न खोजिएको होइन, तर, यस्तो कार्य गर्नका लागि यो उपयुक्त बेला होइन।   

      


        
        
             


      

 
   

प्रतिक्रिया