एन्फा अध्यक्षमा नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा खड्का निर्वाचित

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन्। बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको एन्फाको २१औं केन्द्रिय कार्यसमितिको साधरणसभाबाट निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ आगामी चार वर्षको कार्यकालका निर्वाचित भएका हुन्।

नेम्वाङले ४५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी शेर्पाले ३९ मत पाए। कुल ८४ मत खस्दा स्वतन्त्र उमेदवार राजीव राज पौड्यालले एक मत पनि प्राप्त गरेनन्। अध्यक्षमा निर्वाचित भएसँगै नेम्वाङले खेलाडी र प्रशिक्षकको विवाद पहिलो बैठकबाट निर्णय गर्ने बताए। ‘छानविन समितिको प्रतिवेदनको बृहत रुपमा छलफल गछौं। सबै पक्षसँग बसेर समस्याको समाधान गर्नेछौं,’ उनले भने।

चार वर्षअघि शेर्पा अध्यक्षमा चुनिँदा उनकै प्यानलबाट नेम्वाङ ६१ मतसहित उपाध्यक्षमा निर्वाचित भएका थिए। झापाको धुलाबारीका स्थायी वासिन्दा नेम्वाङ रोलिङ क्लब हुँदै झापा जिल्ला फुटबल संघमा छिरेका थिए। उनी २०५९ सालमा एन्फाको केन्द्रीय सदस्य भएका थिए। त्यसयता लगातार चार कार्यकाल सदस्य भएर काम गरेका नेम्वाङ चार वर्षअघि उपाध्यक्षमा निर्वाचित भएका थिए।

यी भए निर्वाचित
एन्फाको वरिष्ठ उपाध्यक्षमा नेम्वाङ प्यानलकै बीरबहादुर खड्का निर्वाचित भएका छन्। उनले निकटतम् प्रतिद्वन्द्वी शिक्षित पराजुलीलाई ४ मतले पराजित गर्दै आगामी चार वर्षको कार्यकालका लागि निर्वाचित भए।

खड्काले ४४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी पराजुलीले ४० मत पाए। यस्तै, उपाध्यक्षमा पंकज प्यानलका दावा लामा, विराट जंग शाही, दीपक खतिवडा र शेर्पा प्यानलबाट दीर्घबहादुर केसी (कुमार) निर्वाचित भए।

दावाले सर्वाधिक ४८ मत ल्याए। शाही र खतिवडाले समान ४७ मत ल्याए। केसीले नेम्वाङ प्यानलका सुन्दर नरसिंह जोशीलाई १ मतले पछि पार्दै उपाध्यक्षमा निर्वाचित भए। दीर्घले ४२ तथा सुन्दरले ४१ मत पाए। 

महिला सदस्यमा नेम्वाङ प्यानलकी सरिला श्रेष्ठ र शेर्पा प्यानलकी पेमा डोल्मा लामा निर्वाचित भइन्। सरिलाले ४६ तथा पेमाले ४३ मत पाइन्। शेर्पा प्यानलबाट उम्मेदवार रहेकी विना श्रेठले ४० तथा नेम्वाङ प्यानलकी विन्द्रा देवानले ३९ मत पाइन्। दुई महिला सदस्यका लागि चार जना चुनावी मैदानमा रहेका थिए।

साधरणसभाबाट पंकजविक्रम नेम्वाङबाट ७ र कर्माछिरिङ शेर्पा प्यानलबाट ४ गरी ११ जना खुला सदस्य निर्वाचित भए।

१३ सदस्य चुनिने व्यवस्था भएपनि ४ जना उम्मेदवारको समान ३९ मत आएको थियो। त्यसपछि पुन: निर्वाचन गराउन नसकिने भन्दै विशेष साधरण सभाबाट ४ जनाबीच निर्वाचन गराई २ सदस्य छानिने एन्फाले जनाएको छ।

दीपक थापा क्षेत्री, दिपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत पाएका छन्। यीमध्ये दीपक, रुपेश र लोकेन्द्र शेर्पा प्यानलका उमेदवार हुन्। एन्फाको विधान, फिफा र एएफसीको नियमहरु सबै विचार गरेर फिफा र एएफसीकै प्रतिनिधिहरुको राय र सुझावमा एन्फाले निर्वाचनको मिति तोक्ने र निर्वाचन समितिले ११ जना सदस्यलाई निर्वाचित घोषणा गरेका छन्।

मनिष जोशी ४८, अनिल मल्ल ४७, रविन्द्र चन्द ४६, विकास नारायण श्रेष्ठ ४४, भोजराज शाही ४४, महेन्द्र क्षेत्री ४४, पुरुषोत्तम थापा ४३, रमेश व्यन्जनकार ४३, मनिराज विष्ट ४२, टिकाराम लामा ४१ र भरत बुढ थापा ४० मत पाएर निर्वाचित भएका छन्।

निर्वाचित हुनेमध्ये मनिष, रमेश, मणि, टिका र भरत शेर्पा प्यानलका हुन्। भरत अन्तिम समयमा नेम्वाङ प्यानलमा उभिएका थिए। उनलाई दुवैतर्फबाट मत खसेको थियो। अनिल, रविन्द्र, विकास, भोजराज, महेन्द्र र पुरुषोत्तम नेम्वाङ प्यानलका हुन्।

१३ सदस्यका लागि ३६ जनाको उम्मेदवारी परेको थियो। २१ सदस्यीय कमिटीका लागि अध्यक्षमा ३, वरिष्ठ उपाध्यक्षमा २, उपाध्यक्षमा ४, महिला सदस्यमा ५ र सदस्यमा ३६ जना गरी कूल ५० जनाको उमेदवारी परेको थियो। यसपटकको एन्फा निर्वाचनमा ८४ जनाले मताधिकार पाएका थिए। 

निर्वाचनमा ४५ जिल्लामध्येबाट ४२ जिल्ला, १४ ‘ए’ डिभिजन क्लब, ११ ‘बी’ डिभिजन क्लब र ९ ‘सी’ डिभिजन क्लब, मोफसलका ४ क्लबसँगै एन्फाअन्तर्गतको महिला संघ, खेलाडी संघ, प्रशिक्षक संघ र रेफ्री संघले मताधिकार पाएको थियो।

एन्फाको नवनिर्वाचित कमिटी
अध्यक्ष – पंकजविक्रम नेम्वाङ
वरिष्ठ उपाध्यक्ष – वीरबहादुर खड्का
उपाध्यक्ष – दावा लामा, विराटजंग शाही, दीपक खतिवडा र दीर्घबहादुर केसी (कुमार)
महिला सदस्य – सरिला श्रेष्ठ र पेमा डोल्मा लामा
सदस्य – मनिष जोशी, अनिल मल्ल, रवीन्द्र चन्द, विकासनारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, रमेश व्यञ्जनकार, मनिराज विष्ट, टिकाराम लामा र भरत बुढ थापा।
 

प्रतिक्रिया