विश्वकप २०२६ खेलाइने १६ सहरको नाम सार्वजनिक

काठमाडौं– फिफा विश्वकप २०२६ का खेलहरू अमेरिकाका ११ साथै मेक्सिकोका तीन र क्यानडाका दुईवटा सहरमा खेलाइने भएको छ। फुटबलको विश्व प्रशासकीय निकाय फिफाले बिहीबार सन् २०२६ मा तीन फरक राष्ट्रले पहिलो पटक आयोजना गर्न लागेको विश्वकप २०२६ खेलाइने १६ सहरहरुको नाम सार्वजनिक गरेको हो। 

फिफाका अनुसार एटलान्टा, बोस्टन, डलास, गुआडालाजारा, हस्टन, कन्सास सिटी, लस एन्जलस, मेक्सिको सिटी, मियामी, मोन्टेरे, न्यूयोर्क/न्यू जर्सी, फिलाडेल्फिया, सान फ्रान्सिस्को, सिएटल, टोरन्टो र भ्यानकुभरमा खेलहरु खेलाइने छ।

प्रतियोगिताको पश्चिमी क्षेत्र आयोजक सहरहरू भ्यानकुभर, सिएटल, सान फ्रान्सिस्को–बे एरिया, लस एन्जलस र गुआडालाजारा हुन्। मुख्य आयोजक सहरमा कन्सास सिटी, डलास, एटलान्टा, ह्युस्टन, मोन्टेरी र मेक्सिको सिटी हुनेछन्। पूर्वी क्षेत्रका खेलहरू टोरन्टो, बोस्टन, फिलाडेल्फिया, मियामी र न्यूयोर्क/न्यू जर्सीमा हुनेछन्।

यूएस स्थलहरूमा मर्सिडीज–बेन्ज स्टेडियम (एटलान्टा), एटी एन्ड टी स्टेडियम (डलास), जिलेट स्टेडियम (बोस्टन), एनआरजी स्टेडियम (ह्युस्टन), एरोहेड स्टेडियम (कन्सास सिटी), सोफी स्टेडियम (लस एन्जलस), हार्ड रक स्टेडियम (मियामी) समावेश छन्। 

मेटलाइफ स्टेडियम (न्यूयोर्क/न्यू जर्सी), लिंकन फाइनान्सियल फिल्ड (फिलाडेल्फिया), लेभिस स्टेडियम (सान फ्रान्सिस्को) र लुमेन फिल्ड (सिएटल) मा हुनेछन्। क्यानडाका खेलहरू बिएमओ (टोरन्टो) र बीसी प्लेस (भ्यानकुभर) मा खेलिनेछन्। मेक्सिकोमा (मेक्सिको सिटी), स्टेडियो बीबीभीए मोन्टेररे र स्टेडियो एकरोन गुआडालाजारा रहेका छन्। 

यद्यपि, फिफा अधिकारीहरूले १६ सहरमध्ये कुनले कुन समूहका खेलहरू आयोजना गर्ने र कुनले एलिमिनेशन राउन्ड खेलहरू आयोजना गर्ने भन्ने निर्णय पछि गर्ने छन्। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले एक विज्ञप्तिमा भनेका छन्, ‘हामी १६ फिफा विश्वकप आयोजक सहरहरूलाई उत्कृष्ट प्रतिबद्धता र जोशका लागि बधाई दिन्छौं। आज एक ऐतिहासिक दिन हो, ती सहर र राज्यहरूमा सबैका लागि। क्यानडा, संयुक्त राज्य अमेरिका र मेक्सिकोसँग मिलेर काम गर्न तत्पर छौं।’

विश्वकप २०२६ मा ४८ राष्ट्रको सहभागिता हुनेछ। हालसम्म पुरुष विश्वकपमा ३२ राष्ट्रको मात्रै सहभागिता रहँदै आएको थियो। सन् १९९४ मा भएको पहिलो विश्वकपपछि अमेरिकाले दोस्रो पटक विश्वकप आयोजना गर्न लागेको हो। सन् १९७० र १९८६ मा पनि आयोजना गरेको मेक्सिकोले कीर्तिमानी तेस्रो पटक विश्वकप आयोजना गर्न लागेको हो। सन् २०१५ मा क्यानडाले महिला विश्वकप आयोजना गरेको थियो।

प्रतिक्रिया