‘गाउँ आएको बाटो’ नविन सुब्बाको पुनरागमन

 


काठमाडौं । निर्देशक नवीन सुब्बा नेपाली चलचित्रको बगैचामा तेश्रो सुन्दर फूल फुलाउँदैछन् । त्यो हो, उनको नयाँ चलचित्र ‘गाउँ आएको बाटो ।’


पहिलो चलचित्र ‘नुमाफुङ’ बाट  चर्चा बटुलेका नविन निकै कम चलचित्र निर्देशन गर्छन् । उनको दोस्रो चलचित्र ‘गुडबाई काठमाडौं’ले पनि अन्र्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा पुरस्कार जित्यो । पहिलो चलचित्र निर्देशनको करीब दुइ दशकको अन्तरालमा अब आउँदैछ, ‘गाउँ आएको बाटो’ ।


नविनले मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा चलचित्र निर्माणको घोषणा गरे । राई समुदायका बारेमा बनाइने यो चलचित्रको कथा महेश राई र नवीन सुब्बाले लेखेका छन् । निर्माता आमोद राई हुन्, जो हङकङमा शिक्षण पेशामा छन् । छायाँकन मार्किन कापरोनले गर्दैछन्, जो अमेरिकाबाट आएका हुन् ।  


चलचित्रमा दयाहाङ राई र पशुपति राई मुख्य भूमिकामा रहनेछन् । पर्सन राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतका कलाकार यसमा अनुबन्धित छन् । 


‘चाँडै नै छायांकन सुरु हुनेछ । हामी भोजपुरको ग्रामीण भेगतिर जाँदैछौं’, सुब्बाले भने । 


मौलिक, प्रतिस्पर्धी र गुणात्मक चलचित्र बनाउनुपर्ने, अन्यथा नेपाली चलचित्रको कुनै पहिचान स्थापित नहुने सुब्बाले बताए । 

 

Nabin_Subba

‘चलचित्र यस्तो होस्, जुन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसकोस्’, सुब्बाले भने, ‘हिजोकै जस्तो चलचित्र बनाएर अब दर्शकले मनपराउनेवाला छैनन् ।’


अभिनेता दयाहाङ राई पनि निर्देशक सुब्बासँग काम गर्न पाउँदा प्रसन्न छन् ।  दयाहाङले धेरै पहिले नविन सुब्बाकै निर्देशनमा बनेको टेलिचलचित्र ‘दलन’मा काम गरेका थिए । ‘गाउँ आएको बाटो’मा काम गर्न पाउँदा एकदमै खुशी लागेको उनले बताए । ‘यो मेरो लागि अवसर र चुनौती दुवै हो’, उनले भने । 


अभिनेत्री पशुपति राई पनि निर्देशक सुब्बासँग काम गर्न पाउँदा मख्ख छिन् । निर्माता तथा निर्देशक छिरिङरितार शेर्पाले निर्माण टिमलाई शुभकामना दिएका थिए । 

प्रतिक्रिया