स्वदेश फर्कियो नेपाली टोली, कप्तान नवयुग भन्छन्- नयाँ खेलाडीको प्रदर्शन चित्त बुझ्दो छ

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान नवयुग श्रेष्ठले एएफसी एसियन कप २०२३ को छनोट आशाअनुरूपको प्रदर्शन गर्न नसके पनि नयाँ खेलाडीको प्रदर्शन राम्रो रहेको बताएका छन्।

छनोटमा सबै ३ खेलमा हार बेहोरेको नेपाली टोली बिहीबार कतार एअरलाइन्सबाट काठमाडौं आइपुगेको छ। ३१ सदस्यीय नेपाली टोली स्वदेश फर्कने भएपनि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने कुवेतमै बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

प्रशिक्षक अल्मुताइरी एन्फासँग बिदा लिएर कुवेतमै बसेका हुन्। सिनियर ११ खेलाडीविनै कुवेत भ्रमणमा पुगेको नेपाल समूह ‘ए’ मा जित र अंकविहीन बन्दै पुछारमा रह्यो। छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको नेपाल दोस्रो खेलमा आयोजक कुवेतसँग ४–१ ले पराजित भएको थियो।

तेस्रो तथा अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ७–० ले पराजित हुन पुगेको थियो। ‘हामी बलियो समूहमा परेका थियौं। हामी छनोट हुन सकेनौं तर, नयाँ भाइहरूको प्रदर्शन चित्तबुझ्दो छ। जोर्डनसँग २–० भन्नु राम्रो जस्तो लाग्छ। दोस्रो खेल कुवेतसँग पनि चित्त बुझेको छ। तेस्रो खेल इन्डोनेसियासँग कोचले नयाँ खेलाडीहरूलाई खेलाउने कुरा गर्नुभयो। त्यही भएर गोल धेरै निस्कियो। नयाँ खेलाडीहरू सुरूमा खेल्न डराएजस्तो भए पनि पछि राम्रो भयो,’ उनले भने।

इन्डोनेसियाविरूद्धको खेलमा पुजन उपकोटीले टोलीको कप्तानी सम्हालेका थिए। छनोटका लागि एन्फाले नवयुगलाई कप्तान नियुक्त गरेको थियो। शिवकुमार गुरूङ र नीरकुमार राईले इन्डोनेसियाविरूद्धको खेलमार्फत् डेब्यू गरेका थिए। 

शिव र नीर दुवैले पहिलो रोजाईमै खेलको सुरूआत गरेका थिए। उनीहरूसँगै राष्ट्रिय टोलीमा डेब्यू गर्ने खेलाडीको संख्या १५ पुगेको छ।

भइरहेका खेलाडी नपर्दा टिमको प्रदर्शनमा फरक पर्नु स्वभाविक रहेको उनले बताए। ‘भइरहेको खेलाडीहरू टिममा नहँदा अलिकति फरक त परिहाल्छ। नयाँ खेलाडीहरूले राम्रो प्रदर्शन गर्‍यो तर, पुराना खेलाडीहरू भएको भए केही फरक नतिजा आउथ्यो होला,’ उनले भने।

उनले बन्द प्रशिक्षणका क्रममा खेलाडी आफैं होटल छाडेर नहिँडेको पनि बताए। ‘खेलाडीहरू आफैं निस्किएर गएको होइनन्। कोचले तिमीहरू जान सक्छौं भनेपछि खेलाडीहरू गएका हुन्,’ उनले भने।

प्रतिक्रिया