एसियन कप छनोट : इन्डोनेसियासँग पनि पराजित नेपाल, शिव र नीरले गरे डेब्यू

काठमाडौं– समूह चरणका सबै खेलमा पराजित हुँदै नेपालले एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणको अन्त्य गरेको छ।

कुवेतस्थित जाबिर अल अहमद मैदानमा बुधबार राति समूह ‘ए’ को अन्तिम खेलमा इन्डोनेसियासँग ७–० ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। 

इन्डोनेसियाविरुद्धको खेलमा पुजन उपकोटीले टोलीको कप्तानी सम्हालेका थिए। छनोटका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले नवयुग श्रेष्ठ कप्तान नियुक्त गरेको थियो।

शिवकुमार गुरुङ र नीरकुमार राईले इन्डोेनेसियाविरुद्धको खेलमार्फत् डेब्यू गरेका छन्। शिव र नीर दुवैले पहिलो रोजाईमै खेलको सुरुआत गरेका थिए।

इन्डोनेसिसयाको जितमा विटान सुलेमानले २, डिमास ड्राजाड, फेचरुदिन आर्यान्टो, सादिल रामदानी र इल्कान बागोट, मार्सिलेनो फर्डिनान्डले समान १ गोल गरेका थिए।

नेपाल पहिलो हाफमै २–० ले पछि परेको थियो। दोस्रोे हाफमा थप ५ गोल खाएको थियो। खेलको छैटौं मिनेटमा डिमासको गोलबाट इन्डोनेसियाले अग्रता लिएको थियो। ४३औं मिनेटमा विटानले गोल गर्दै इन्डोनेसियाको अग्रतालाई दोब्बर पारे।

५४औं फेचरूदिनले गोल गर्दै अग्रता ३–० मा पुर्‍याए। त्यसको एक मिनेटमै सादिलले गोल गर्दा इन्डोनेसियाले ४ गोलको अग्रता लिएको थियो। त्यस्तै, ८०औं मिनेटमा इक्लानले गोल गर्दा इन्डोनेसिया आधा दर्जन गोलनजिक पुगेको थियो।

त्यसको एक मिनेटमै विटानले व्यक्तिगत दोस्रो र टिमको लागि छैटौं गोल गरे। अन्तिम मिनेटमा मार्सिलेनोले पुन: एक गोल गर्दा नेपाल ७–० ले पराजित हुन पुग्यो।

छनोट चरणका ३ खेलमा १३ गोल खाएको नेपालका लागि एक मात्र गोल दर्शन गुरुङले कुवेतविरुद्ध गरेका थिए। पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो। यस्तै, दोस्रो खेलमा नेपाल कुवेतसँग ४–१ ले पराजित भएको थियो।

समूह ‘ए’को समाप्तीमा ९ अंकका साथ जोर्डन शीर्ष स्थानमा रह्यो। यता, ६ अंकसहित इन्डोनेसिया दोस्रो र कुवेत ३ अंकसहित तेस्रो स्थानमा रहेको छ। नेपालले भने अंकवीहिन हुँदै छनोटको यात्रा अन्त्य गरेको छ।

प्रतिक्रिया