एसियन कप छनोट : इन्डोनेसियाको सामना गर्दै नेपाल

काठमाडौं– एएफसी एसियन कप छनोट फुटबलको तेस्रो चरणअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा आज इन्डोनेसियासँग खेल्दैछ। नेपाल र इन्डोनेसियाबीचको खेल आज राति १ बजे हुनेछ। जारी प्रतियोगिताबाट नेपाल बाहिरिसकेको छ।

लगातार दुई खेलमा हार बेहोरेपछि नेपालको आगामी एसियन कप यात्रा सकिएको हो। समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा जोर्डनविरुद्ध २–० र दोस्रो म्याचमा घरेलु टोली कुवेतविरुद्ध ४–१ को हार बेहोर्‍यो। बलियो टोली जोर्डनविरुद्ध नेपालको युवा टोलीले हार बेहोरे पनि सन्तोषजनक प्रदर्शन गरेको थियो।

सो खेलमा नेपालले पहिलो हाफमा जोर्डनलाई गोलरहित बराबरीमा रोकेको थियो। दोस्रो हाफमा केही गल्ती गर्दा नेपालले २–० को हार बेहार्न बाध्य भयो। दोस्रो खेलमा कुवेतविरुद्ध भने नेपालले ४–१ को फराकिलो हार बेहोर्‍यो।

पहिलो हाफमा १–० मा रोकेको नेपालले दोस्रो हाफमा भने ३ गोल खान पुग्यो। इन्जुरी समयमा दर्शन गुरुङले गोल गरे पनि नेपाललाई जितका लागि पर्याप्त भएन। अब नेपाल इन्डोनेसियाविरुद्ध खेल्दै सुखद् अन्त्य गर्न चाहन्छ। जारी प्रतियोगितामा इन्डोनेसियाले दुईमध्ये एकमा जित र एक खेलमा हार बेहोरेको छ।

उसले पहिलो खेलमा कुवेतलाई २–१ ले हरायो। दोस्रो खेलमा भने इन्डोनेसिया जोर्डनविरुद्ध १–० ले पराजित हुन पुग्यो। दोस्रो स्थानमा रहेको इन्डोनेसिया नेपाललाई फराकिलो अन्तरले हराउँदै एसियन कप छनोटको सम्भावना जीवितै राख चाहन्छ। 

हालसम्म इन्डोनेसियाविरुद्ध नेपालले जित निकाल्न सकेको छैन। यदि बुधबार उसलाई हराउन सके नेपाली टिमले इतिहास रच्नेछ। नेपालले अहिलेसम्म इन्डोनेसियासँग एकपटक मात्र खेलेको छ। सन् २०१४ मा भएको मैत्रीपूर्ण खेलमा इन्डोनेसियाविरुद्ध नेपाल २–० ले पराजित भएको थियो। 

प्रतिक्रिया