पेरूलाई पराजित गर्दै एसियाली राष्ट्र अस्ट्रेलिया फिफा कतार विश्वकपमा छनोट

काठमाडौं– दक्षिण अमेरिकी प्रतिद्वन्द्वी पेरूलाई पराजित गर्दै एसियाली राष्ट्र अस्ट्रेलिया फिफा कतार विश्वकप २०२२ मा छनोट भएको छ।

कतारको दोहास्थित अहमेद विन अली स्टेडियममा सोमबार राति भएको कन्टिनेन्टल प्लेअफको फाइनलमा पेरूलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै अस्ट्रेलिया २००६ पछि लगातार पाँचौ पटक विश्वकपमा छनोट हुन सफल भएको हो।

निर्धारित र थप गरिएको अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। जसमा सव्सिच्युट गोलरक्षक एन्ड्रिउ रेडमेन नायक बने। उनले अन्तिम पेनाल्टी बचाए।

टाइब्रेकरमा अस्ट्रेलियाका आरोन मोए, क्रेइग गुडविन, एज्दिन रूस्टिक, जेमी माकलरेन र एवेर मविलले गोल गरे। अस्ट्रेलियाका मार्टिन बोएलको सुरूआती पेनाल्टीमा गोल गर्न सकेनन्।

पेरूका जियानलुका लापाडुला, एलेक्सान्डर कालेन्स, रेनाटो तापिया र इडिसन फ्लोरेसले गोल गर्न गरे। लुइस इडभिनकुलाले गोल गर्न नसक्दा एलेक्स भालेराको पेनाल्टीलाई गोलरक्षक एन्ड्रिउ रेडमेनले बचाएका थिए।

त्यसअघि प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले निर्धारित र थप गरिएको अतिरिक्त समयमा केही अवसर पाएपनि सदुपयोग गर्न नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो।

अस्ट्रेलिया कतार विश्वकपमा छनोट हुने ३१औं टोली बनेको छ। अब कोस्टारिका र न्यूजिल्यान्डमध्येबाट एक टोलीले विश्वकपमा स्थान बनाउनेछ। त्यसपछि विश्वकपमा छनोट हुने सबै ३२ राष्ट्रको टुंगो लाग्नेछ।

विश्वकपमा स्थान बनाएको अस्ट्रेलिया च्याम्पियन फ्रान्स, डेनमार्क र ट्युनिसिया रहेको समूह ‘डी’ मा परेको छ।

प्रतिक्रिया