एसियन कप छनोट

कुवेतविरूद्ध नेपाललाई इतिहास रच्ने मौका

काठमाडौं– नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत आज शनिबार आयोजक टोली कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले दोस्रो खेलमा घरेलु टोलीको सामाना गर्न लागेको हो। नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार राति १० बजे सुरु हुनेछ।

बलियो टिम कुवेतविरुद्ध नेपाल पहिलो जितको खोजीमा रहनेछ। बुधबार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो।

सो खेलमा नेपालले पहिलो हाफमा जोर्डनलाई गोलरहित बराबरी रोकेको थियो। तर, दोस्रो हाफमा फितलो डिफेन्सका कारण नेपालले २ गोल खाएको थियो। जोर्डनले एक गोल पेनाल्टीमार्फत् गरेको थियो। पहिलो खेलमा समग्रमा नेपाली युवा टिमले जोर्डनविरुद्ध सन्तोषजनक प्रदर्शन गरेको थियो।

आयोजक कुवेत पनि पहिलो जित निकाल्ने योजनामा रहेको छ। पहिलो खेलमा कुवेत इन्डोनेसियासँग २-१ ले पराजित भएको थियो।

छनोटको समूह 'ए' मा रहेको नेपाल अंकविहीन रहँदै पुछारमा रहेको छ। कुवेत पनि अंकविहीन रहँदै तेस्रो स्थानमा रहेको छ। जोर्डन शीर्ष र इन्डोनेसिया दोस्रो स्थानमा छन्।

हेड टू हेड

नेपाल र कुवेतले हालसम्म एकअर्काविरुद्ध ८ पटक खेलेका छन्। जसमा नेपालले ७ मा हार र एक खेल बराबरी खेलेको छ। यी दुई टोलीले पहिलोपटक सन् १९८२ मा एकअर्काको सामना गरेका थिए। एएफसी एसियन कप छनोटअन्तर्गतको उक्त भेटमा नेपालले ३–१ को पराजय बेहोरेको थियो।

त्यसपछि नेपाल सन् १९८६ मा ५–० र १९९४ मा ८–० ले पराजित हुन पुग्यो। यी दुवै खेल एसियन्स गेम्स छनोटअन्तर्गत भएका थिए। एफसी एसिया कप छनोटअन्तर्गत सन् २००० मा भएको भेटमा नेपाल ५–० ले पराजित हुँदा सन् २०१९ को मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो।

त्यस्तै, नेपालले सन् २०१९ मै भएको मैत्रीपूर्ण खेलमा १–० तथा विश्वकप छनोट अन्तर्गतका खेलमा ७–० र १–० को हार बेहोरेको थियो। नेपालले हालसम्म कुवेतविरुद्ध ३० गोल बेहोर्दा एक गोल मात्र फर्काउन सकेको छ। यसरी तथ्यांक हेर्दा हालसम्म नेपालले कुवेतलाई हराउन सकेको छैन। यदि शनिबारको खेल जित्नसके नेपालले कुवेतविरुद्ध इतिहास रच्नेछ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले कुवेतसँग राम्रो नजिताको आश रहेको बताएका छा्। ‘हामी २०२६ को विश्वकप छनोटको तयारी गरिरहेका छौं। हामीसँग ११ जना नयाँ खेलाडी छन्। कुवेत र इन्डोनेसियासँग राम्रो नतिजालाई लक्षित गर्नेछौं। उनीहरूसँग राम्रो नजिताका लागि प्रतिस्पर्धा गर्नेछौं। हामी पनि छनोटमा कठिन टिम बन्न चाहन्छौं,’ उनले भनेका छन्।

छनोटअन्तर्गत नेपालले अन्तिम खेल ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ। समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन्। यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ।

प्रतिक्रिया