अफ्रिकामा रिङमा ढलेका बक्सरको निधन (भिडियोसहित) 

डर्बन। बक्सिङ प्रेमीका लागि फेरि अर्को दुःखद घटना भएको छ। २४ वर्षीय बक्सर सिमिसो बुथेलेजीको गत मंगलबार निधन भएको छ। उनी दुई दिनअघि आइतबार डब्ल्युबीएफ अल अफ्रिका लाइटवेट उपाधिका लागि भिडेका थिए। भिडन्तकै क्रममा उनी कोमामा पुगेका थिए। भिडन्त राष्ट्रिय टिभीबाट प्रसारण भएको थियो। 

 

दक्षिण अफ्रिकी बक्सिङ संघले आफ्नो सोसल मिडियामा यसको जानकारी दिँदै सिमिसोले मंगलबार प्राण त्यागेको बताएको छ। आइतबार डर्बनमा भएको भिडन्तमा उनको टाउकोमा चोट लागेको थियो। १० राउण्डको भिडन्त सम्पन्न हुन केही सेकेण्ड समय बाँकी रहँदा उनले विपक्षी सिफेसिले मान्तुङ्वासँग आक्रामक खेल प्रदर्शन गरेका थिए। तर, रेफ्रीले एक छिन खेल रोकेर पुनः सञ्चालन गर्न खोज्दा उनी रेफ्री भएकै ठाउँतिर हावामा पञ्च हान्न थालेपछि तुरुन्त भिड्न्त रोक्नु परेको थियो। 

चिकित्सकहरूले ब्रेनमा रगत जमेका कारण उनको निधन भएको शंका गरेका छन्। अस्पताल लैजादा उनको टाउकाबाट रगत बगिरहेको थियो। २१ दिनअघि यस्तै भिड्न्तमा टर्कीका बक्सर मुसा यमकको निधन भएको थियो। 
 

प्रतिक्रिया