नबिल बैंकले १८ शाखाका शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न दिने

काठमाडौं । नबिल बैंक र काठमाडौं महानगरपालिकाबीच महानगरपालिका भित्र रहेका बैंकका शाखाका शौचालयहरुलाई निःशुल्क सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने सम्झौता भएको छ । बुधवार काठमाडौं महानगरपालिका र नबिल बैंकबीच यस्तो सम्झौता भएको हो ।

सम्झौतामा महानगरको तर्फबाट महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल र नविल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल शाहले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतामा काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका नविल बैंकका १८ शाखाका शौचालयहरुलाई निःशुल्क रुपमा प्रयोग गर्न दिने भएको छ ।

सम्झौता पश्चात् नविल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बैंकका शाखालाई सार्वजनिक शौचालयहरुलाई निःशुल्क प्रयोग गर्नदिने सम्झौता अन्त्य नभएर शुरुवात भएको बताए । काठमाडौं महानगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउनको लागि होटल तथा अन्य संस्थाहरुलाई कार्यालयमा भएको शौचालयलाई सार्वजनिक बनाउन आह्वान गरेको थियो ।

सोही निर्णय बमोजिम ऐक्यवद्धता जनाएको बैंकले बताएको छ । सम्झौता अनुसार बैंकले सार्वजनिक प्रयोगलाई सञ्चालनमा ल्याउने शौचालयको सरसफाई र आवश्यक सामग्रीहरुको व्यवस्था सामाजिक उत्तरदायित्व अन्तर्गत स्वयं बैंकले नै गर्नेछ । शौचालयको नियमित मर्मतसम्भार र सरसफाई, पानीको प्रवन्ध, निकासको व्यवस्था दुरुस्त राख्ने बताइएको छ । यो सम्झौता पाँच वर्ष अवधिको हुने उल्लेख छ ।

प्रतिक्रिया