दक्षिण कोरिया र ब्राजिलको जित

काठमाडौं– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली राष्ट्र दक्षिण कोरिया र दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले जित निकालेका छन्।

सोमबार राति सम्पन्न खेलमा दक्षिण कोरियाले दक्षिण अमेरिकी राष्ट्र चिलीमाथि २-० को सहज जित निकालेको हो। यस्तै अर्को खेलमा ब्राजिलले एसियाली राष्ट्रिय जापानमाथि १-० को संघर्षपूर्ण जित निकालेको छ।

घरेलु मैदानमा कोरियालाई जित दिलाउन हि चान ह्वाङ र ह्युङ मिन सनले गोल गरे। 

खेलको १२औं मिनेटमा ह्वाङले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाए। ५२औं मिनेटमा चिली १० खेलाडीमा समेटिन पुग्यो।

एलेक्स इवाकाचे दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए। त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सनले गोल गर्दै कोरियाको जित पक्का गरे।

सोमबार नै भएको अर्को खेलमा स्टार फरवार्ड नेयमार जुनियरको पेनाल्टी गोलमा पाहुना टोली ब्राजिलले जापानमाथि १-० को संघर्षपूर्ण जित निकालेको छ।

जापान नेसनल स्टेडियम टोकियोमा भएको खेलमा ब्राजिलले घरेलु टोलीलाई बल पोसेसन राख्दै दबाब बढाएपनि गोलको लागि पेनाल्टीको साहरा लिनुपरेको थियो।

७८औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै टोलीलाई जित दिलाएका थिए। रिचार्लीसनलाई पेनाल्टी बक्समा इन्डोले फउल गर्न पुगेपछि रेफ्रीले ब्राजिललाई पेनाल्टी प्रदान गरेका थिए।

प्रतिक्रिया