इटालीलाई पराजित गर्दै अर्जेन्टिनाले हात पार्‍यो फाइनलिसिमाको उपाधि

काठमाडौं– युरोपेली च्याम्पियन इटालीलाई पराजित गर्दै कोपा अमेरिकाको च्याम्पियन टोली अर्जेन्टिनाले फाइनलिसिमाको उपाधि जितेको छ।

इङ्ग्ल्यान्डको वेम्बली रंगशालामा बिहीबार राति सम्पन्न खेलमा अर्जेन्टिनाले इटालीमाथि ३-० को सहज जित दर्ता गर्दै उपाधि जितेको हो। अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले १/१ गोल गरे।

खेलको २८औं मिनेटमा अर्जेन्टिनाले मार्टिनेजको गोलमा अग्रता लिएको थियो। कप्तान लिओनल मेसीको कटब्याक पासमा अनमार्क रहेका मार्टिनेजले ६ यार्ड बक्सभित्र सहजै गोल गरे।

यस्तै, पहिलो हाफको इन्ज्युरी समयमा मार्टिनेजको थ्रु बललाई पेनाल्टी क्षेत्र भित्रबाट डी मारियाले फिनिसिङ गर्दै अग्रता दोब्बर बनाए। दोस्रो हाफको इन्ज्युरी समयमा डिबालाले मेसीले दिएको बललाई नियन्त्रणमा लिँदै सहजै गोल गरे।

इटालीले २०२१ जुनमा घरेलु टोली इङ्ग्ल्यान्डलाई पराजित गर्दै युरोकप २०२०को उपाधि जितेको थियो। फाइनल खेलमा इटालीले टाइब्रेकरमा इङ्ग्ल्यान्डलाई ३-२ ले पराजित गरेको थियो।

सोही वर्ष जुलाईमा अर्जेन्टिनाले साविक विजेता ब्राजिललाई फाइनल खेलमा १-० ले पराजित गर्दै उपाधि जितेको थियो। जुन मेसीको पहिलो अधिकारिक अन्तर्राष्ट्रिय उपाधि हो।

युरोपेली फुटबलको सर्वोच्च निकाय (युईएफए) र दक्षिण अमेरिकी कन्मेबलबीच डिसेम्बर २०२१ मा फुटबल विकासका लागि फरक देश, महादेश र संस्कृतिलाई एक स्थानमा ल्याउन युरो र कोपाका उपाधि विजेता टोलीबीच फाइनलिसिमा खेलाउने सम्झौता भएको थियो।

सोही सम्झौता अनुसार इटाली र अर्जेन्टिनाबीच खेल भएको हो।

प्रतिक्रिया