पञ्जाबी गायक मुसेवालाको हत्या, प्रहरी भन्छ– ग्याङवारको नतिजा

दिल्ली। पञ्जाबी गायक सिद्धु सिंह मुसेवालाको हत्या भएको छ। पञ्जाब प्रहरीले उनको हत्याको रहस्य ग्याङवारसँग जोडिएको हुनसक्ने बताएका छन्। पञ्जाबका डिजीपी विके भावराले स्थानीय मिडियासँग कुराकानी गर्दै भनेका छन्, क्यानडाको एउटा ग्याङले घटनाको जिम्मेवारी लिएको छ। 

मुसेवाला पञ्चाबका चर्चित गायक हुन्। उनी भारतीय कांग्रेस पार्टीसँग पनि आवद्ध थिए। आइतबार उनको मानसा जिल्लामा हत्या भएको थियो। उनी आफ्ना दुई मित्रसँग एउटा जीपबाट गाउँ गइरहेको बेला गोली हानिएको थियो। घाइते अवस्थामा उनलाई अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए। 

यो घटना पञ्जाब सरकारले एक दिनअघि मुसेवालालगायत ४ सय २४ जनालाई दिँदै आएको सरकारी सुरक्षा हटाएको भोलि पल्ट भएको हो। आम आदमी पार्टीका मुख्यमन्त्री भगवन्त मानले पञ्जाबमा व्याप्त भिआइपी कल्चरलाई निरुत्साही बनाउन यस्तो निर्णय गरेका थिए। मुसेवालाको हत्यापछि राज्य सरकारको यो निर्णयप्रति प्रश्न उठ्न थालेको छ। तर, मुख्यमन्त्री भगवन्तले शान्ति बनाउन जनतासँग अपील गरेका छन्। 

राज्यका पुलिस महानिर्देशक भावरा भन्छन्, ‘लोरेन्स विश्नोई ग्याङ घटनामा संलग्न छ। क्यानडाबाट ग्याङका एक सदस्य लकीले घटनाको जिम्मेवारी लिएका छन्।’

भावराले गत वर्ष विकी मिद्दुखेडा नामका व्यक्तिको भएको हत्याको बदलामा मुसेवालाको हत्या भएको हुनसक्ने बताएका छन्। गत वर्ष मारिएका विकीको हत्यामा मुसेवालाका मेनेजर शगनप्रित सम्मिलित भएको समाचार बाहिरिएको थियो।

शगनप्रित हाल अस्ट्रेलियामा बसोबास गर्छन। पञ्जाब प्रहरीले घटनाको अनुसन्धानका लागि एउटा कमिटी गठन गरेको छ। 
२८ वर्षीय मुसेवालाको वास्तविक नाम शुभदीप सिंह सिद्धु हो। उनी मानसा जिल्लाको मुसेवाला गाउँबाट प्रतिनिधित्व गर्छन।

त्यसैले उनले आफ्नो नामको पछाडि गाउँलाई जोडेका हुन्। उनले लोकप्रिय धेरै पञ्जाबी गीत गाइसकेका छन्। 

मुसेवाला बेलाबेलामा विवादमा पनि जोडिने गर्छन। उनीमाथि ‘गन कल्चर’ लाई प्रोत्साहित गरेको आरोप छ। उनको एउटा गीत ‘सञ्जु’ का लागि उनीमाथि मुद्धा पनि दायर भएको थियो। गीतमार्फत हिंसालाई भड्काएको आरोप उनीमाथि लागेको थियो। 

सोसल मिडियामा एके–४७ राइफल चलाएको भिडियो पोस्ट गरेपछि बरनाला प्रहरीले हतियार तथा खरखजाना मुद्धामा उनीमाथि मुद्धा दायर गरेको थियो। उनी गत डिसेम्बरमा कांग्रेस पार्टीमा आवद्ध भएका थिए। उनले विधानसभा चुनावमा कांग्रेस पार्टीको टिकटबाट चुनाव पनि लडेका थिए। तर, आम आदमी पार्टीका डा. विजय सिंगलासँग चुनाव हारेका थिए।

उनको हत्याप्रति कांग्रेस नेता राहुल गान्धीले शोक व्यक्त गरेका छन्। 
 

प्रतिक्रिया