नौ महिनामा सात खर्ब २४ अर्ब विप्रेषण भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा  सात खर्ब २४ अर्ब ७४ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिनाको विवरणमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले कमी आई छ अर्ब पाँच करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भई दुई लाख ५६ हजार ३१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७४.९ प्रतिशतले घटेको थियो ।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १९९.९ प्रतिशतले वृद्धि भई दुई लाख छ हजार ६२९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ६०.७ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ०.७ प्रतिशतले कमी आई रु आठ खर्ब आठ अर्ब ९२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १४.४ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया