शेयर बजारमा १८ अङ्कको बृद्धि

काठमाडौं । साताको पहिलो दिन शेयर बजार झण्डै १८ अङ्कले बढेको छ । कारोबार सुरु भएदेखि घट्न सुरु गरेको नेप्से साढे १२ बजे ३५ अङ्कले घटेको थियो । तर बन्द हुने बेलामा १७ दशमलव ९५ अङ्कले बढेर दुई हजार दुई सय ५६ दशमलव ५७ विन्दुमा पुगेको छ । आज बैंक र माइक्रोफाइनान्सबाहेक अरू समूहको शेयर सामान्य बढेको छ ।

दुई सय ३३ वटा कम्पनीका ३३ लाख ४१ हजार कित्ता शेयर एक अर्ब ३२ करोड ६४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको सात करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज जालपा लघुवित्तको शेयर १० प्रतिशतले तथा घलेम्दी हाइड्रो र माउन्टेन इनर्जी नेपालको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि उन्नति सहकार्य लघुवित्त कम्पनीको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ ।
 

प्रतिक्रिया