पर्दाभित्रको राजनीति

राजाले कसरी कम्युनिस्ट प्रयोग गरे?

काठमाडौं। बलियो जनमत पाएर सत्तामा पुगेको नेपाली कांग्रेसलाई सैनिक शक्तिको बलबाट हटाए पछि कसरी कम्युनिस्ट समूहलाई तत्कालिन सरकारले उपयोग गर्यो भन्ने बारेमा धेरै किसिमका विश्लेषणहरु गरिएका छन्। त्यसपछिको लामो राजनीतिक चक्रमा पञ्चायत चल्यो, जनआन्दोलनबाट त्यो फालियो र बहुदलीय प्रजातन्त्र स्थापना भयो। राज्यको सर्वेसर्वा भएका राजा संविधानभित्र बाँधिए। फेरि पनि राजनीतिक स्थीरता बनिरहन पाएन, माओवादीले रक्तपातपूर्ण विद्रोह गर्योे। त्यही वीचमा दरबार हत्याकाण्ड भयो र नयाँ राजाले फेरि शक्ति हातमा लिए। तर उनले पनि देशलाई स्थीरता तर्फ नेतृत्व दिएर अघि बढाउन सकेनन्। दरबार इतर सबै शक्तिहरु एक भएर आन्दोलनमा उत्रिए। अन्तत राजाले सत्ता नै छोड्नुपर्यो। सत्ता मात्रै छोड्नु परेन अढाई वर्षको राजतन्त्रले नै विदा लिनु पर्यो।

त्यसपछि पनि वर्तमान नेपाली राजनीतिको बिकास क्रम र राज्य विरूद्ध मुलुकका सबै राजनीतिक शक्तिहरू लक्षित भएको र राज्य सम्पूर्ण रूपमा पराजित हुँदै गएको विश्लेषण हुन थालेको छ।

०१७ सालमा काङ्ग्रेसको निर्वाचित सरकारलाई बर्खासी गरेपछि त्यसबाट उत्पन्न हुने राजनीतिक जोखिमलाई सन्तुलन गर्न राजा महेन्द्रलाई वलियो कम्युनिस्ट समूह   चाहियो। व्यवस्था निर्दलीय तर पंचायतभित्र पनि काङ्ग्रेससँग राजनीतिक रूपमा भिड्न उनले कम्युनिस्टहरूलाई सहयोग र प्रोत्साहन प्रदान गरे। कम्युनिस्ट भए, नयाँ नयाँ युवा पनि कम्युनिस्ट राजनीतिमा पसे। भारतको नक्सलवारी आन्दोलनका नेता चारू मजुमदार, कानु सन्याल, जंगल सन्थालहरूको प्रभाव झापाका युवा कम्युनिस्टहरूमा पर्यो। 

धर्म प्रसाद ढकाल, ज्ञानी ढकाल, कर्णबहादुर गौतम, बुटन चौधरी, विष्णुप्रसाद विमली, ईश्वरीप्रसाद चुडाल, उद्रकान्त राजवंशी, ज्ञानबहादुर बस्नेतहरूलाई प्रचण्ड र बाबुराम नेतृत्वको माओवादीकै शैलीमा क्रुरतापूर्वक हत्या गरिएपछि पंचायती सरकार झस्कियो र कम्युनिस्ट विरूद्ध त्यही शैलीमा प्रहार गर्न शुरू गर्यो।

राजा महेन्द्रलाई २०१८मा जनकपुरमा र राजा वीरेन्द्रलाई २०२९मा विराटनगरमा बम र ग्रिनेडले नेपाली काङ्ग्रेसले आक्रमण गर्ने र विमान समेत अपहरण गरेर राष्ट्र बैंकको पैसा लुट्ने काम भए पछि पंचायतलाई पूर्णत कम्युनिस्ट शैलीको शक्तिशाली र अत्यन्त प्रभावकारी तर एकछत्त शासनमा रुपान्तर गर्ने अभ्यास गरियो। गाउँ फर्क राष्ट्रिय अभियानको नाउँमा एउटा सर्वशक्तिमान राज्ययन्त्र पनि बिकास गरियो।

रोचक कुरो के थियो भने त्यस्तो गाउँ फर्कको हालीमुहाली भने राजा वीरेन्द्रले पूर्व कम्युनिस्टहरूलाई नै दिए। त्यही गाउँ फर्कको स्वेच्छाचारी कार्य संचालनबाट उठेको पंचायतभित्रको असन्तोष समेत जोडिएर पाकिस्तानी प्रधानमन्त्री जुल्फिकार भुट्टोको हत्याको विरोधको नाऊँमा शुरु भएको विद्यार्थी आन्दोलन जनमत सङ्ग्रहको घोषणामा गएर टुंगियो।

जनमत संग्रहको घोषणा अघिको एउटा महत्वपूर्ण सन्दर्भ के विर्सन सकिन्न भने बंगलादेशको स्वतन्त्रताले नेपालको प्रजातन्त्रको पुनर्थास्पनाको आधा बाटो तय हुन्छ भन्ने वीपी कोइरालाको विश्वास थियो।

उता अलग बंगलादेशको उदय नेपालको भविष्यकोलागि पनि खतरा हो भन्नेमा राजा महेन्द्र विश्वस्त थिए तर जव बंगलादेश अवश्यम्भावी देखियो उनले बंगलादेशलाई मान्यता दिए– भारतले भन्दा पनि पहिले। तर त्यो मान्यता दिएको दुई सातामै रहस्यपूर्ण वातावरणमा उनको निधन भयो।

 पाकिस्तानबाट बंगलादेश अलग पारिएपछि सिक्किमलाई भारतमा विलय गराइयो र त्यसपछि नेपालको तराईलाई अलग पार्ने र अन्तत सिङ्गो नेपाल स्वतन्त्र अस्तित्वलाई नै समाप्त पार्ने इन्दिरा गान्धीको रणनीति बुझेर वीपी राष्ट्रिय मेल मिलापको नीति लिएर नेपाल आए।

त्यही कुरा राजा वीरेन्द्रले पनि बुझे र उनले शान्ति क्षेत्रको घोषणा गरे।

राष्ट्रिय मेलमिलापको नीति र शान्ति क्षेत्रको प्रस्ताव पछाडिको मर्म, लक्ष र सन्दर्भ यौटै थियो तर वीपी र राजा वीरेन्द्रले एकैसाथ बसेर त्यसलाई आत्मवोध गर्ने र गराउन सकेनन्।

वीपीको वरिपरी पनि केही वाधक शक्ति थिए र राजाको वरिपरी पनि, त्यसलाई चिर्न दुवैले सकेनन्।

इतिहासले दिएको त्यो अवसर गुम्यो र गुमेको गुम्यै भयो।

२०४६ सालको जनआन्दोलनले वीपीको राष्ट्रिय मेलमिलापको नीतिको मर्ममा नै प्रहार गरेको हो। त्यसले राजा र काङ्ग्रेसवीच विश्वास बढाउन सकेन। त्यस पछिको आम निर्वाचनले आन्तरिक रूपमा काङ्ग्रेसलाई छिन्न भिन्न पार्यो, काङ्ग्रेस र एमाले वीचको सम्वन्धलाई चरम शत्रुतापूर्ण बनायो।

कहाँ ककसको कमजोरी रह्यो त्यो अर्को कुरा हो, तर मध्यावधि निर्वाचन पछि मनमोहन नेतृत्वको सरकार एउटा कार्यकालसम्म रहने वातावरण निर्माण भएको भए सम्भवत माओवादी विद्रोह जन्मिने थिएन।

त्यो यसकारण कि सर्पको खुट्टा सर्पले देख्छ भन्ने लोकोक्ति र भर्खरै भूमिगत राजनीतिबाट खुला राजनीतिमा आएका एमालेले त्यस्तै भूमिगत राजनीतिमा लागेका माओवादीलाई सजिलै सरकारको नियन्त्रणमा ल्याउन सक्थे र काङ्ग्रेस सरकारले माओवादी विरूद्ध अभियान संचालन गर्दा माओवादीको ढाल भएर एमाले उभिने अवस्था उत्पन्न हुने थिएन।

यो अर्कै कुरा हो कि माओवादी विद्रोहको अवधिमा काङ्ग्रेसीहरूको सामूहिक पलायनको स्थिति निर्माण हुने अवस्था आइसक्दा माओवादी निकै शक्तिशाली भैसकेका र उनीहरू एमाले विरुद्ध पनि काङ्ग्रेस विरुद्ध जस्तै खनिन थालेका थिए।

मध्यावधिपछिको राजनीतिक अस्थिरताको चक्रमा माओवादीलाई हुर्कने, बढ्ने, शक्ति संचय गर्ने र राज्य व्यवस्था माथि नियन्त्रण गर्ने वातावरण निर्माण भयो प्राप्त भयो। यस अर्थमा माओवादी भाग्यमानी देखियो र पालैपालो कहिले एमाले, कहिले राजा, कहिले सेना, कहिले काङ्ग्रेस उसको साधन बन्दै गए। 

भारत र युरोपका केही मुलुकहरू उसको संरक्षक भैदिए। जो जो माओवादीको साधन बने ती क्रमशः सिद्धिदै गए र सिद्धिदै छन्।

 सिध्याउने साधन माओवादी बने, पर्दा पछाडिबाट माओवादीको काँधमा बन्दुक राखेर हान्ने अरू नै भए। सेनाको वाह्य समर्थनको पाटो बलियो भएकोले ऊ जोगिएको छ–कतिञ्जेल हो थाहा छैन।

नेपालका राजनीतिक दलहरू मूलतः राज्य विरूद्ध संगठित र बिकसित संगठन भएकाले नेपाली राज्य मुलुकमा सबैभन्दा प्रताडित संगठन हो।

कुरा देशभक्तिको गर्ने, राष्ट्रियताको गर्ने तर राज्यलाई निरन्तर कमजोर बनाउने काम भइरह्यो। राजाले त्यही गरे, सेनाले त्यही गर्यो, काङ्ग्रेस, एमालेले त्यही गरे, माओवादीको कुरै भएन!

नेपालमा हरेक व्यक्ति र समूहको आक्रोश राज्य विरुद्ध नै लक्षित हुन्छ, हुने गरेको छ। सरकारमा रहेका व्यक्तिहरू, सत्तारूढ दल, प्रतिपक्ष सबै राज्य विरूद्ध नै राजनीति गरेर आएका हुन् र अझै गरिरहेका छन्।

त्यसैले कुनै साधारण व्यक्ति र स्वार्थ समूह पनि जतिखेर पनि राज्यलाई चुनौती दिन सक्ने भूमिकामा छ।

व्यक्ति र स्वार्थ समूह वलिया र राज्य कमजोर भएको अवस्थामा हाम्रो लोकतन्त्र, गणतन्त्र र संघियता राज्यलाई खान सक्ने भएर उभिएको छ। राजनीतिक विश्लेषक केशब प्रसाद भट्टराईको टिप्पणी छ– राज्य विरूद्धको राजनीति, एनजिओ आइएनजियोको राज्य विरूद्धको निरन्तर प्रहारको अवस्थामा प्रभावकारी नियन्त्रण गर्न समर्थ कुनै शक्ति नदेखिएको अवस्थामा मुलुकको भविष्यबारे आश्वस्त हुन सकिन्न!

स्थानीय निर्वाचन आउन अब तीन साता मात्र बाँकी छ। यसवीच पूर्व माले हुँदै एमालेबाट अलग्गिएको सानो समूह र हिजो राज्यसत्तालाई नै चुनौति दिएको माओवादीसँग नेपाली कांग्रेसले चुनावी सहकार्य गरिरहेको छ। तत्कालका लागि यो राजनीतिक गठजोड एक पक्षलाई उचित  लागेको हुनसक्छ। तर नेपाली कांग्रेसभित्र भने यो गठजोड सबैलाई रुचिरहेको देखिँदैन, त्यहाँभित्र विद्रोहको स्वर पनि गुञ्जिरहेको सुनिन्छ।

अबका दिनहरुमा यो अनौठो गठबन्धन कसरी अघि बढ्ने हो त्यो त देखिएला। तर इतिहासतिर फर्केर हेर्दा सधैं लोकतान्त्रिक शक्ति विरुध्द संगठित भएका बाम शक्तिहरु फुट्ने अनि फुटेको एउटा समूह चैं नेपाली कांग्रेसको  घनिष्ठ मित्र हुने जुन परिस्थिति देखिएको छ। यसको परिणाम के हुने हो भनी चासो राख्नेहरुका लागि भने आसन्न निर्वाचन एउटा रोचक अध्ययनको बिषय भने भएको छ। 

प्रतिक्रिया