विराटनगर । संखुवासभाको संखुवासभाको सिलिचोङ गाउँपालिका-३ मा एउटा विद्यालय छ । जंगलले लगभग छोपिएको छ । घारीबीच पुराना भवन छन् । निर्जन छ । सुनसान छ ।
पहिले पढाइ हुँदा चहलपहल हुन्थ्यो । त्यहाँ रहेको बस्ती र आसपासका बालबालिका पढ्न आउँथे । २०४५ मा गाउँ नै उजाड बनाउने घटनापछि विद्यालयको अवस्था त्यस्तो भएको हो ।
२०३९ सालमा स्थानीय बुद्धिजीवी, शिक्षाप्रेमीहरुको प्रयासमा निजी स्रोतबाट स्थापना भइ सञ्चालन गरिएको ‘हिमालसिद्ध प्राथमिक विद्यालय’ को अवस्था हो त्यो ।
विद्यालयमा १० वर्ष काम गरेका रबिन्द्र कुमार राईका अनुसार विद्यालयलाई अलि समयपछि तत्कालीन कालिका प्रावि याचम्खाको शाखाका रुपमा सञ्चालन भएको थियो । २०४५ साल जेठ १७ गतेदेखि सरकारी स्वीकृति प्राप्त गरी अनुदान समेत पाएर १ देखि ५ कक्षा सम्म सञ्चालन भएको थियो । त्यस बेला तीन जना शिक्षकको दरबन्दी थियो ।
राईका अनुसार उक्त विद्यालयमा अध्ययन गरेका धेरै विद्यार्थीहरु सरकारी सेवामा कार्यरत् छन् । कतिपय उच्च ओहोदामा पनि पुगेका छन् ।
विद्यालय रहेको बस्ती २०४५ साल भदौमा पहिरोले ठूलो क्षति गर्यो । पुरिएर १३ जनाको मृत्यु भएको थियो । राईका अनुसार गाउँका ११ वटा घर पुरिएका थिए । विद्यालयमा पनि क्षति पुग्यो । त्यसपछि गाउँले विस्थापित भए । उनीहरुलाई अन्यत्रै पुनर्वास गराइएको स्थानीय स्वास्थ्य केन्द्रका कर्मचारी मिलन राई सुनाउँछन्, सरल पत्रिकामा समाचार छ ।
‘भिरालो र कमजोर भूगोलका कारण पहिरो गएपछि बस्ती उजाड बन्यो’ उनले भने, ‘त्यसयता यो ठाउँ नै निर्जन जस्तै बनेको छ ।’ पहिरोले क्षति भएपछि पढाइ हुन छाड्यो । अनि पछि सिलिङचोङकै सगरमाथा माध्यमिक विद्यालयमा उक्त प्राविलाई गाभिएको थियो ।
‘त्यस बेला पहिरोले छोपेर गाउँलेको ज्यान गयो, घर र सबै सम्पत्ति पुरियो’ राई ले भने, ‘अनि त्यसपछि यहाँ कोही पनि बस्न मन गरेनन् । बस्ती उजाडियो । स्कुल पनि उस्तै भयो ।’
प्रतिक्रिया