रुस–युक्रेन युद्धको असर

परमाणु होडमा खुम्चिदै गएको विश्व

काठमाडौं– रुस–युक्रेन युद्ध अन्ततः के अमेरिका समर्थक तथा अमेरिका विरोधी ध्रुवमा मात्र सिमित हुनेछ? यो प्रश्नको उत्तर खोजिरहेका बौद्धिक जमातलाई छक्क पार्ने एउटा रिपोर्ट हालै सार्वजनिक भएको छ। 

एलाइड मार्केट रिसर्चले हालै सार्वजनिक गरेको रिपोर्टमा रुस–युक्रेन युद्धले विस्तारै विश्व बजारमा नकरात्मक सन्देश जान थालेको बताएको छ। उसले युद्धकै कारण विश्वमा ठूलो परिवर्तन देखिन थालेको र प्रायः देशहरू परमाणु मिसाइल र बमको खरिदमा उत्सुक हुन थालेको बताएको छ। 

रिपोर्टमा अबको एक दशकभित्र विध्वंसकारी मिसाइलको बजार ७३ प्रतिशतले बढ्ने अनुमान लगाइएको छ। यदी यो सम्भव भएको खण्डमा हतियारको बजार ७० बाट बढेर १२६ अर्ब डलरसम्म पुग्ने अनुमान छ। 

रुसले युक्रेनविरूद्ध युद्धको घोषणा गरेपछि प्रायः सबै देशले आफ्नो रक्षा बजेट वृद्धि गरेका थिए। यो बजेट थप वृद्धि हुनसक्ने पनि रिपोर्टमा उल्लेख छ। 

पोर्टल्याण्डस्थित यो रिसर्च फर्मले हाल न्युक्लियर मिसाइल र बमको बजार लगभग ७३ अर्ब डलर भएको जानकारी दिएको छ। उसले २०३० सम्म यसमा ७२ दशमलव ६ प्रतिशत वृद्धि हुनसक्ने आशंका गरेको छ। 

यसअघि कोरोना महामारीका कारण विश्वले आफ्नो सबै बजेट स्वास्थ क्षेत्रमा लगानी गरेका थिए। केही देशले त रक्षा बजेटलाई खुम्च्याएका पनि थिए। 

रिपोर्टमा उल्लेख छ– भूराजनीतिक संघर्ष तथा सैन्य बजेटमा भएको वृद्धिले सेनाको सामान खरिदमा पनि उल्लेख्य वृद्धि हुनेछ। सैन्य सामानमा वार्षिक ५दशमलव ४ प्रतिशतले वृद्धि हुँदै जाने बताइएको छ। 

यस्तै, सानो स्केलको परमाणु हतियार, जसलाई विमान र सैन्य गाडीमा सजिलोसँग ओसार–पोसार गर्न सकिन्छ, यसको माग उच्च हुने अनुमान गरिएको छ। भारत, पाकिस्तान र चीनले आफ्नो परमाणु भण्डारमा गरेको वृद्धिले एसिया प्रशान्तमा हतियारको बिक्री वितरणमा तीब्रता आउने रिपोर्टमा उल्लेख छ। २०२० को विश्व बजारमा उत्तर अमेरिकी राष्ट्रले सर्वाधिक हतियार खरिद गरेका थिए। अन्य क्षेत्रको तुलनामा उत्तर अमेरिकामा हतियार खरिदको मात्रा दोब्बर थियो।

बेलायत, चीन, फ्रान्स, रुस र अमेरिकाले यो वर्षको सुरुमा संयुक्त विज्ञप्ती सार्वजनिक गर्दै परमाणु युद्धको दौडमा कुनै देश विजेता नबन्ने बताएका थिए। तर, रुसले युक्रेनमाथि हमला गरेपछि यी सबै देश दुई समूहमा विभाजित छन्।

प्रतिक्रिया