पर्यटकको पर्खाइमा म्याग्दीको बूढोपोखरी

गलेश्वर । पश्चिमदेखि पूर्वतर्फ मोहोडा गरेर लमतन्न फैलिएको विशाल र सुन्दर फाँट । फाँटैभरि पहेँलै भएर फुलेको तोरी र गहुँबालीको हरियाली । फाँट बीचभागमा कालेपत्र गरिएको सडक । सडकबाट उत्तरतर्फ फर्केर हेर्दा दन्तलहरजस्तै देखिने धवलागिरि, निलगिरिलगायत हिमशृङ्खला । केही समयदेखि सामाजिक सञ्जालमा निकै भाइरल बनेको रच्नेचौरको सुन्दरताबारे व्यापक चर्चा हुने गरेको छ ।

म्याग्दीको बेनी नगरपालिका–१ स्थित रत्नेचौरको सुन्दरता अहिले सामाजिक सञ्जालभरि छाएको छ । अवलोकन र कृषि पर्यटनका लागि सम्भावनायुक्त यही ठाउँमा एउटा यस्तो ऐतिहासिक र प्राकृतिक सम्पदा पनि छ, जो वर्षौँदेखि प्राकृतिक सुन्दरताका पारखीलाई कुरेर बसेको छ । त्यो ठाउँ हो धवलागिरि हिमालको प्रतिविम्ब देखिने ऐतिहासिक बूढोपोखरी ।

बूढोपोखरीको इतिहास तत्कालीन राजा गिर्वाणयुद्ध विक्रम शाहसँग जोडिएको छ । राजा गिर्वाणयुद्धका मिरसुब्बा रहेका रत्नचौरका वसन्त बोगटीले १८६६ सालमा राजाको इच्छा अनुसार सो पोखरी निर्माण गर्न लगाएको प्रमाण छ । तत्कालीन समयमा रत्नेचौरमा पानीको हाहाकार भएपछि मानव बस्ती नै विस्थापित हुने अवस्था आएकाले ढोडेनीबाट पानी ल्याई यो पोखरी निर्माण गरिएको बताइन्छ ।

धवलागिरि क्षेत्रभित्र प्रशस्तै प्राकृतिक पोखरी भए पनि रत्नेचौरको बूढोपोखरीभन्दा ठूला मानव निर्मित पोखरी नभएकाले पनि यो चर्चित छ । तत्कालीन समयमा खानेपानी समस्याले आजित भएका स्थानीयवासीले निकै मेहेनत गरेर यो पोखरी बनाएका रच्नेचौरको विकासका लागि खटिरहनुभएका भानु माध्यमिक विद्यालयका प्राचार्य भरत खत्रीले बताए ।

रत्नेचौरमा पानीको अभाव भएको कुरा आफ्ना मिरसुब्बामार्फत राजा गिर्वाणयुद्धले थाहा पाएपछि राजाको इच्छाअनुसार नै पोखरी निर्माण गरी ढोडेनी खोलासम्म नहर खनी पानी ल्याइएको इतिहास छ । ठूलो सङ्ख्यामा जनशक्ति प्रयोग गरी पोखरी निर्माण गरेपछि रत्नेचौरमा खेतीपाती गर्न थालिएको थियो । पोखरी आसपास क्षेत्रमा बगैँचा विस्तार गर्न सात रोपनी जग्गा छ । अहिले सोही जग्गामा बगैँचालगायतका केही पूर्वाधार थप गर्न थालिएको छ । पोखरीको पनि अहिले नयाँ स्वरुपमा मर्मतसम्भार गरिएको छ ।

अहिले पोखरीमा पानी भरिएको छ । घाम लागेका बेलामा धवलागिरि हिमालको पूर्ण प्रतिविम्ब पोखरीमा देखिने गर्छ । त्यतिबेला यहाँको सौन्दर्य अत्यन्तै चित्ताकर्षक हुने गरेको स्थानीयवासी रमेश बोगटीले बताउनुभयो । बेनी–बागलुङ सडकखण्डको छेऊमै रहेकाले त्यस सडकबाट ओहोरदोहोर गर्ने यात्रु पोखरीमा पुगेर फोटो खिच्ने गर्छन् । पोखरीको प्रचार हुन नसक्दा पर्यटकीय सम्भावना बोकेको बूढोपोखरी ओझेल परेको प्रअ खत्रीले बताए ।

“पर्यटकलाई पोखरीले आर्कषित गरेको छ, आसपासका क्षेत्रमा थप पूर्वाधार विस्तारको तयारीमा छौँ”, बेनी नगरपालिका–१ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर रावलले भने । विगतमा पोखरी मर्मत तथा केही पूर्वाधार थपिएको सुनाउँदै उनले थप संरचना निर्माण गर्न बजेट माग गरिएको बताए । “पुरानो इतिहास देखाउँदै नयाँ संरचना बनाउन जुटेका छौँ”, खत्रीले भने । पोखरीबाटै धवलागिरिसहितको हिमशृङ्खला तथा त्यस आसपासका रमणीय दृश्य देख्न सकिन्छ । रत्नेचौरमा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छ भने क्षेत्रीय स्तरको खेलमैदान, कालोपत्र सडकलगायत पूर्वाधार छ ।

प्रतिक्रिया