मनोरंजन दिने कलाकार आफैं तनावमा 

काठमाडौं । अभिनय, गायन र नृत्यलगायतका कलाबाट श्रोता दर्शकलाई मनोरंजन दिंदै आएका केही नेपाली कलाकार आफैं तनावमा फसेका छन् । कोही ठगीको चंगुलमा फसेका छन् त कोही अन्यायको शिकार भएका छन् । 

बलिउडमा नब्बेको दशकमा धुम मच्चाएकी चर्चित नेपाली गायिका पूर्णिमा (सुष्मा श्रेष्ठ) पारिवारिक तनावमा छिन् । 

चलचित्र निर्देशक प्रकाश सायमीले सामाजिक संजालमा खुलासा गरे अनुसार गायिका पूर्णिमालाई उनका जेठा छोरा, बुहारी अनि अर्का छोराले श्रीमान्सँगै मिलेर घरबाट निकालिदिएका छन् । 

पूर्णिमा बम्बईमा आफ्ना एक नातेदारका घरमा शरणार्थीका रुपमा दिन बिताइरहेकी छिन् । सायमीका अनु्सार एउटी गायिकाका हैसियतले उनले कमाएको रकमको बैंक खाता पनि उनको नाममा छैन । 

‘पहिलो लकडाउनमा उनी घरबाट निकालिइन् । दोस्रो लकडाउनमा उनी कामको खोजीमा फेरि मैदानमा निस्केकी छिन्, श्रीमान् र छोराहरुलाई मुद्दा हालेर बसेकी छिन्’, सायमीले उल्लेख गरेका छन् । 

नेपालमा निजी क्षेत्रबाट चलचित्र बन्नुअघि नै शाही नेपाल चलचित्र संस्थानको चलचित्र ‘सिन्दुर’ मार्फत गीत गाउन थालेकी गायिका पूर्णिमाले ‘जूनी’, ‘तिलहरी’, ‘सिमाना’, ‘अवतार’, ‘चेलीबेटी’, ‘चोखो माया’, ‘सन्तान’, ‘कन्यादान’ आदि दर्जनौं नेपाली चलचित्रमा स्वर दिएकी छिन् । 

गायीका श्रेष्ठले ११ वर्षको उमेरदेखि नै हिन्दी फिल्ममा गीत गाएर आधा शताब्दि लामो यात्रा तय गरिसकेकी छिन् । नेपालका उच्चकोटीका गायक नारायणगोपालसँग पहिलो युगल गीत गाएकी पूर्णिमाले बलिउडका महान गायक मोहम्मद रफी, मुकेश, किशोर कुमारसँग सफल युगल गीत गाएकी छिन् ।

आरडी बर्मनको संगीतमा ‘बालिका बधू’ को युगल गीत ‘बडे अच्छे लगते हो’ उनको चर्चित गीत हो भने आरडी बर्मनकै संगीतमा ‘क्या हुआ तेरा वादा’ उनको अत्यन्त स्मरणीय गीत हो ।

पूर्णिमाको जीवनमा आएको दुःखको सिलसिलाबारे सायमी लेखेका छन्,

‘पूर्णिमाले आमा, दाजु र दिदीको विरोधकैबीच फेनोग्राफर रेकर्डिस्टका छोरा हरिश चन्द्रसित दुःखदायी विवाह गरिन् ।

त्यो विवाह नै उनका लागि अभिशाप भयो । उनले श्रीमान्को घरमा अपमान, बेइज्जत र शोषणबाहेक केही पाइनन् । त्यस घरबाट आफ्ना श्रीमान् नभएका बेला उनी अपमानपूर्वक निकालिइन् । त्यसपछि उनी पुनः माइतीकै छेउमा डेरा लिएर उही बेरोजगार श्रीमान्सँग बस्न थालिन्, कारण उनी गर्भवती भइसकेकी थिइन् ।

पूर्णिमाको पहिलो सन्तान छोरा निषाद जन्मिए । सन् ९० को दशकमा पूर्णिमा बलिउडडमा सफल गायिका भइन् । उनले टिप्स कम्पनीका रमेश तुर्रानीसित मिलेर एल्बम निकालिन् ।

नाम, दाम र ख्याति कमाउँदै गएकी पूर्णिमाले अर्को छोरा निर्मयलाई जन्म दिइन् । उनको एक्लो कमाइले बेरोजगार श्रीमान्, दुई छोरा हुर्काउँदै अघि बढिन् ।

सन् २००१ मा उनकी आमा लिला श्रेष्ठको मृत्यु भयो । आमाको मृत्युको समय उनी आफ्ना श्रीमान्का कारण आमाबाट टाढा थिइन् । आमाको मृत्युको कारण उनका श्रीमान् नै थिए भन्ने बुझेपछि उनी धेरै दुःखी भइन् ।

पूर्णीमाले आफ्ना जेठा छोरा निषादलाई उस्ताद जाकिर हुसैनका भाइ उस्ताद तौफिक कुरैशीसित संगीत सिक्न लगाइन् । निषाद संगीत सिक्दै अघि बढे र सफल पनि भए । पूर्णिमाले निषादको भव्य रुपमा विवाह पनि गरिदिइन् । उक्त विवाह पश्चात् यो परिवारले नयाँ घर बनाउने पहल गर्याे । त्यसवेला पूर्णिमालाई थाहा भयो, श्रीमान्ले उनले कमाएको सारा सम्पत्ति अरु कसैसित मिलेर आफ्नो नाम गरिसकेका रहेछन् ।

नयाँ घर पनि श्रीमान् र छोराले बुहारीको नाम गरिसकेको जब उनले चाल पाइन्, उनमा विद्रोही भावना जाग्यो तर उनको केही लागेन । अन्ततः पूर्णिमालाई घरबाटै निकालियो, जसको विरुद्ध उनी अचेल अदालत धाइरहेकी छिन् । 

गायक योगेश्वरलाई ठगको टेन्सन

गायक योगेश्वर अमात्य चाहिँ ठगहरुका कारण केही दिन तनावमा परे । उनको जग्गाको नक्कली पूर्जा बनाएर बैंकबाट १९ करोड ऋण लेनदेन गरेको भेटियो । 

अमात्यको नाममा बारामा रहेको १२ बिगाहा जग्गा धितो राखेर कुमारी बैंकबाट १९ करोड ऋण लिएको फेलापरेपछि केन्द्रीय अनुसन्धान ब्युरोले त्यसबारे अनुसन्धान गरिरहेको छ । 

नक्कली पूर्जा बनाएर ऋण लेनदेन गर्ने ५ जनालाई पक्राउ गरिसकिएको छ । पक्राउ पर्नेमा बिचौलिया कुसन प्रधान, जग्गाको धनी बनेका एसके महर्जन, मुक्तिलाल गौतम, कुमारी बैंकका ऋण अधिकृत सोनु ठाकुर र मूल्यांकनकर्ता राजेश चौरसिया     छन् । 

कुसन प्रधानसँग एसके र मुक्तिलाल गौतमले पैसा लिनुपर्ने थियो । सो पैसा माग्दा कुसनले अमात्यको बाराको जग्गाको लालपूर्जा दिएको उनीहरूले प्रहरीलाई बताएका छन् । जग्गा राखेर बैंकबाट पैसा निकालेको थाहा पाएपछि योगेश्वर अमात्य र उनका साथीले प्रहरी अनुसन्धान ब्युरोलाई खबर गरेका थिए । अमात्यको जग्गा फुकुवा भैसकेको छ । 

मुन्द्रेको कमेडी टेन्सन

हास्य अभिनयमार्फत सबैलाई पेट मिचिमिची हँसाउने जितु नेपाल ‘मुन्द्रे’ लाई चाहिँ कमेडीकै टेन्सन छ । उनले संचालन गर्दै आएको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको छ ।

जितुका अनुुसार यो मनोरन्जनात्मक कार्यक्रम १ सय ३२ श्रंखला पुरा भएपछि बन्द गर्न उनी बाध्य भए । कार्यक्रमका एक पात्र फुलन्देको आमा (उमेश राई) क्लब छाडेर अन्त्यत्र काम गर्न गएपछि समस्या आएको हो । 

निर्माता कम्पनी ‘कि एडभर्टाइजिङ’ ले फूलन्देकी आमा (उमेश राई) लाई प्रस्तोता बनाई अर्को टेलिभिजन शो घोषणा गरेपछि उनले ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गरेका हुन् । यद्यपी, कार्यक्रम बन्द हुनुमा यो मात्र कारण चाहिँ हैन । 

‘कार्यक्रमको सुटिङ गर्ने सेटको अभाव भयो । सुटिङ गर्र्न स्थायी सेट नहुँदा निकै समस्या प¥यो’, जितुले भने, ‘मनोरन्जनात्मक कार्यक्रम भएकोले अतिथिको अभाव पनि खट्कियो ।’ 

‘डाँडाको बरपिपल’ ले नदिएको छहारी

कोरोना संक्रमण घट्दै गएपछि हल खुल्न थाले । यही मौकाको फाइदा उठाउन दशैंमा निर्देशक सोभित बस्नेतले चलचित्र ‘डाँडाको बरपिपल’ प्रदर्शनमा ल्याए । दशैंको बिदामा सबैले हेर्लान् र चलचित्र सुपर हिट होला भन्ने उनको आशा थियो, तर हलमा दर्शकको संख्या न्यून देखेपछि उनी निरास भए । 

यो चलचित्र हलमा धेरै दिन चलेन, करीब करीब फ्लप भयो । चलचित्र हिट बनाउने स्टन्ट बमोजिम शोभितले ‘महानायक’ बिबाद चर्काएका थिए । चलचित्रको व्यापारमा यही बिबादले ‘भिलेन’ को रोल खेलेको पनि धेरैको अनुमान छ । 

तर, शोभित हल खुलेकाले दर्शकमा सकारात्मक सन्देश दिनकै लागि चलचित्र प्रदर्शनमा ल्याएको, तर चलचित्र नचल्ने कुरा आफुहरुलाई पहिले नै थाहा भएको दाबी गरेका छन् । 


 

प्रतिक्रिया