काठमाडौँ । रेडियो नेपालका प्रथम गायक, ख्यातिप्राप्त रंगकर्मी, अभिनेता तथा गीतकार स्व. हरिप्रसाद रिमालको १०१औँ जन्मजयन्तीको अवसर पारेर राष्ट्रिय लघुक्त चलचित्र महोत्सव आयोजना हुँदैछ ।
हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानको आयोजनामा हुने चलचित्र महोत्सवमा नौ ओटा चलचित्र देखाइँदैछ । प्रतिष्ठानका अनुसार एउटा चलचित्रको अवधि ९ देखि १५ मिनेटको हुनेछ । प्रतिष्ठानले २३ ओटा चलचित्र दर्ता भएकामा नौ ओटालाई प्रतिष्पर्धामा राखिएको छ । शीर्ष तीनमा रहने चलचित्रले नगद पुरस्कार जित्नेछन् । जसमा पहिलो हुनेलाई एक लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ दिइने छ ।
त्यस्तै व्यक्तिगततर्फ उत्कृष्ट लेखक, निर्देशक, अभिनेता, अभिनेत्री, क्यामेराम्यान र सम्पादक गरी ६ विधाकाले जनही १५ हजार रुपैयाँ पाउने छन् । चलचित्र बुधबार बिहान ११ बजेदेखि राष्ट्रिय नाचघर जमलमा प्रदर्शन गरिने छ । यसका विजेता तथा प्रतिष्ठानले हरेक वर्ष गर्दै आइरहेको हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत तथा सञ्चार सेवा सम्मान पुरस्कार बिहीबार प्रदान गरिने भएको छ ।
यसपालि संगीततर्फ वरिष्ठ गायिका मीरा राणा र सञ्चार सेवातर्फ पत्रकार एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई पुरस्कृत गरिने प्रतिष्ठानका सदस्य सचिव, चलचित्र निर्देशक एवं अभिनेता सम्राट सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया