काठमाडौं। लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीले निजामति सेवाकालमा देखेभोगेका घटनाहरुको संस्मरणलाई पुस्तक स्वरुपमा सार्वजनिक गरेका छन् । ‘सुनेको शासन, भोगेको प्रशासन’ शीर्षकको पुस्तकलाई प्रधानन्याायाधीश प्रकाशमान सिंह राउतले शनिबार एक भव्य समारोहमा लोकार्पण गरेका हुन्।
प्रधानन्यायाधीश राउतले पुस्तकका लेखक मैनालीको प्रशासन क्षेत्रको योगदान महत्वपूर्ण रहेको भन्दै अनुभवले खारिएको पुस्तक भावी पुस्ताका लागि सन्दर्भ सामग्री हुने बताए ।
प्रशासन सेवा र सन्यन्त्रमा भोगेका अनेकौं अनुभवमध्येबाट चुनिएका प्रसंगलाई प्रशासनविद् मैनालीले रोचक शैलीमा लेखेका भनेर समीक्षहरुले चर्चा गरेका थिए । पुस्तकले नेपालको प्रशासनिक इतिहास, सुशासनको चुनौती र मैनालीको निजामती सेवाका अनुभवहरूलाई जीवन्त रूपमा प्रस्तुत गरेको उनीहरुको बुझाई छ।
मैनालीले राणाकालदेखि प्रजातन्त्र स्थापना, पञ्चायत, २०४६ को परिवर्तन र गणतन्त्रसम्मको प्रशासनिक विकासक्रमलाई आकर्षक शैलीमा पुस्तकमा प्रस्तुत गरेका छन्। तीन दशक लामो आफ्नो निजामती सेवाको भोगाइ र ऐतिहासिक घटनाक्रमको अनुसन्धानलाई जोडेर मैनालीले नेपालको प्रशासनिक संरचनाको उतारचढावलाई चिरफार गरेका छन्। राणाकालीन प्रशासनदेखि गणतन्त्रकालसम्मका महत्त्वपूर्ण घटनाक्रमलाई समेटिएको पुस्तकमा शासक र प्रशासकहरूका कार्यशैलीहरू विवेचना गरिएको छ ।
पुस्तकको प्रस्तावनामा मैनालीले अमेरिकी विद्वान एज्रा सुलेमानको भनाइ उद्धृत गर्दै लेखेका छन्, “सार्वजनिक सेवा यस्तो साधन हो, जसबाट लोकतन्त्रको वैधानिकता सुदृढ वा कमजोर हुन्छ। यसको अभाव, अकुशलता र राजनीतिकरणले समाजको सुशासनमा असाधारण प्रभाव पर्न सक्छ।” उनले बलियो लोकतन्त्रका लागि बलियो प्रशासन आवश्यक रहेको र नेपालमा राजनीतिक परिवर्तनका ‘क्रिटिकल जंक्चर’हरू ९२००७, २०१७, २०४६, २०६३० मा प्रशासन सुधारको अवसर गुमेको बताएका छन्। “राजा र राजनीतिज्ञहरूले आफ्ना स्वार्थ अनुकूल प्रशासन चलाउन खोज्दा देशको विकास र प्रगति हुन सकेन,” उनले लेखेका छन्।
मैनालीले विश्वका विभिन्न प्रशासनिक मोडेलहरूको चर्चा गर्दै नेपालको प्रशासनलाई ‘हाइब्रिड मोडेल’ को रूपमा चित्रण गरेका छन्, जहाँ राजनीतिक र प्रशासनिक भूमिका मिश्रित हुन्छन्। उनले योग्यतामा आधारित प्रशासनले बेलायत, जापान, कोरिया र सिंगापुर जस्ता देशहरूमा प्रगति ल्याएको उदाहरण दिँदै नेपालमा पनि यस्तै प्रणालीको आवश्यकता औँल्याएका छन्।
‘सुनेको शासन, भोगेको प्रशासन’ ले नेपालको प्रशासनिक इतिहासलाई अनुसन्धान र व्यक्तिगत अनुभवको संयोजनबाट प्रस्तुत गरेको छ। मैनालीले पुस्तक लेख्दा आत्मश्लाघाबाट जोगिन निकै होशियारी अपनाएको र प्रशासनका विकृति र राम्रा पक्षहरूलाई निष्पक्ष रूपमा प्रस्तुत गरेको बताए ।
‘सुनेको शासन, भोगेको प्रशासन’ नेपालको प्रशासनिक इतिहास र सुशासनका चुनौतीहरूलाई बुझ्न चाहनेहरूका लागि एक महत्त्वपूर्ण कृति बनेको छ। मैनालीको अनुभव र विश्लेषणले प्रशासन सुधारको आवश्यकतामाथि प्रकाश पार्दै नेपालमा योग्यतामा आधारित, पारदर्शी र जनमुखी प्रशासनको खाँचोलाई उजागर गरेको छ।
निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त भोजराज पोखरेल र पत्रकार हरि बहादुर थापाले पुस्तकको विस्तृत चर्चा गरेका थिए । लोकार्पण समारोहमा निजामति सेवाका पूर्व र वर्तमान पदाधिकारी, न्याय सेवा र सञ्चार क्षेत्र लगायतका अनुभवी व्यक्तित्वहरुको महत्वपूर्ण र उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रतिक्रिया