भक्तपुर नगरपालिका–१, सिर्जनानगर पर्छ । नगरपालिकाले त्यस क्षेत्रको फोहोर संकलनबापत वर्षेनि दुई सयदेखि तीन सय रुपैयाँ लिँदै आएको छ । यहाँको नेवाः समुदायसँग फोहोर बापतको दुई सय रुपैयाँ लिइन्छ भने बाहिरी जिल्लाबाट आएर घर बनाएकासँग तीन सय रुपैयाँ असुलिन्छ ।
कतिपय घरधनीले नगरपालिकामा फोहोरको दर्ता गरेकै छैनन् । वर्षमा दुई–तीन सय रुपैयाँ तिर्न पनि उनीहरुलाई सास्ती छ । नगरपालिकालाई दुई–तीन सय रुपैयाँ नतिर्ने घरधनीहरु डेरावालसँग मासिक तीन सयदेखि साढे तीन सयसम्म असुलिरहेका छन् । यस क्षेत्रमा भएका अधिकांश घरमा इनार छ ।
रोचक कुरा के भने, घरधनीहरुले इनारकै पानीको पैसा असुलिरहेका छन् । नगरपालिकाले भोटका लागि पानी फ्रि गरेको छ । धारा जोडेको छ, पानी आउँछ तर नगरपालिकाले घरधनीबाट पैसा उठाउँदैन । घरधनीले भाडावालसँग चाँहि मासिक दुई–तीन सयको दरले उठाउँछन् ।
यहाँ पुराना घरमा धारा जोडिएको छ, नयाँमा जडान हुन बाँकी छ । त्यस्ता घरमा इनार छन् । भाडामा बस्नेले इनारको पानीको पनि पैसा तिर्नुपर्ने बाध्यता छ । यहाँका घरधनीले एउटा कोठाको पाँच हजारदेखि आठ हजारसम्म मासिक भाडा असुलिरहेका छन् । एउटा सटरको मासिक ३० देखि ४५ हजार बुझाउने व्यवसायीहरु छन् ।
फ्ल्याट २० हजारभन्दा माथि नै छ । यो ठाउँमा पसल राख्ने कुनैको पनि दर्ता छैन । वर्षौंदेखि उनीहरु दर्ताबिनै पसल सञ्चालन गरिरहेका छन् । यहाँका घरधनीले नगरपालिकालाई सुको घरबहाल कर तिर्दैनन् । यो ठाउँको जग्गा ऐलानी, सरकारी र गुठीको हो ।
वृद्धवृद्धाहरु २०३० सालअघि त्यस क्षेत्रमा एउटा छाप्रो पनि थिएन । सल्लाघारीको आर्मी ब्यारेक मूनि रहेको गणेशथान, दुवाकोट जाने टर्निङबाट यता, हनुमन्ते खोलाभन्दा यता र सिर्जनानगर ऐलानी, सरकारी र गुठीको जग्गामा पर्दथ्यो । हाल उल्लेखित एरियामा हजारौं घर बनेको छन् ।
७६ जिल्लाका बासिन्दाले यहाँ जग्गा किनेर घर बनाएको पाइन्छ । यहाँ जग्गा आनाको २५ देखि ८० लाखसम्म किनबेच भइरहेको छ । यहाँ भएको हजारौं रोपनी सरकारी, गुठी, ऐलानी जग्गा मासिएको छ । वडा नम्बर–१ को वडाध्यक्ष श्याम खत्री नेपाल मजदूर किसान पार्टीका हुन् । भक्तपुरका मेयर सुनिल प्रजापति पनि नेमकिपाबाटै निर्वाचित भएका हुन् ।
सांसद पनि नेमकिपाकै छन्, प्रेम सुवाल । सल्लाघारी आर्मी व्यारेक मूनि रहेको गणेशथानबाट केही तल एउटा ढुङगेधारा छ । त्यहाँ पानी जमेर सर्वसाधारणलाई पैदल हिँड्नै सास्ती भएको छ । गन्हाएर हिँड्नै सकिँदैन । इवामुरा अस्पताल छेउ एउटा कुवा छ । कुवाको छेउमा घरैघर ।
कुवा नै मिचेर घर बनाइएको छ । ढुङ्गेधारा र कुवा सार्वजनिक सम्पत्ति हो । तर, नगरपालिकाले न संरक्षण गरेको छ सरसफाइ । सरोकारवालाको निकायले सो कुवा नै धरापमा परेको छ । सल्लाघारीको चौरअगाडि तीन वटा ढुंगेधारा भएको बुढापाका बताउँछन् । बिकुलाल ख्याउँजुले तीन वटा ढुङ्गेधारा पुरेर घर बनाएका छन् ।
उनको घरमा विभिन्न पसल सञ्चालनमा छ । तत्कालीन राजपरिवारले सल्लाघारीको १०८ रोपनी जग्गा प्रति आना हजार रुपैयाँमा त्यहाँका बासिन्दासँग खरिद गर्यो । यो जग्गा अहिले नेपाल ट्रष्टको कार्यालयको नाममा गएको छ । १०८ रोपनी भएकोमा अहिले ६५–७० आना मात्र बाँकी छ ।
अरु सबै अतिक्रमण गरेर घर बनाइएको छ । बाँकी जग्गा पनि नेमकिपाले ख्वप कलेज बनाउने नाममा मागिरहेको छ । सस्तोमा विद्यार्थी पढाउने भन्दै उनीहरुले पास नै गरेर लैजान लबिङ गरिरहेको छन् । यस एरियामा बनेको केहीको घरको मात्र नक्सा पास छ । अधिकांशले नक्सा पास नै गरेका छैनन् ।
एउटा भौतिक संरचना नभएको ठाउँमा २०३२ सालपछि बसोबास शुरु भयो । २०३२ सालमा एक जनाले छाप्रो हाले । त्यसको तीन वर्षपछि अर्थात २०३५ सालमा त्यहाँ एउटा सानो कच्ची ईँट्टाको छाप्रो बनाइयो । त्यतिखेर देशमा पञ्चायती व्यवस्था थियो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले आफू भूमिगत भएको बेलामा त्यहाँको जग्गा हडप्न लगाएको स्थानीय बताउँछन् ।
आफू नदेखिएपनि उनले आफ्ना कार्यकर्तालाई सरकारी, ऐलानी, गुठीको जग्गा कब्जा गर्न लगाए । २०४६ सालमा पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्था आएपछि सो क्षेत्रको जग्गा सबै व्यक्तिको नाममा गयो । त्यसमा नेमकिपाकै हात छ । धमाधम आफ्ना कार्यकर्ताको नाममा सो जग्गा दर्ता गरियो ।
भक्तपुरमा दुई निर्वाचन क्षेत्र छ । भक्तपुर निर्वाचन क्षेत्र १ मा नेमकिपाले लगातार जीत हासिल गरिरहेको छ । २०४८ देखि २०७० सालसम्म बिजुक्छें निर्वाचित भए । २०७४ र २०७९ को निर्वाचनमा प्रेम सुवाल निर्वाचित भएर आए । जो आएपनि आखिर नेमकिपाकै हुन् ।
७६ जिल्लाका मध्ये कसैले तीन आना त कसैले आठ आना जग्गा किनेर घर बनाएका छन् । जसमा बाहिरी जिल्लाका स्थानीय नेतादेखि कार्यकर्ता, अधिवक्ता, बहालवाला तथा भूपू सरकारी कर्मचारी, सुरक्षाकर्मीलगायत छन् । पहिले एमाले र काँग्रेसलाई भोट हाल्दै आएका उनीहरु अहिले मन नहुदाँहुँदै नेमकिपालाई भोट हाल्छन् ।
कारण हो–जग्गा सरकारको नाममा जाने डर । सरकारी, ऐलानी र गुठीको जग्गा किनेर घर बनाएकाहरुसँग अब कुनै विकल्प नै छैन । आफ्नो घरजग्गा बचाउनका लागि उनीहरुले नेमकिपालाई भोट हालिरहेका छन् । भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले एकताका गुठीको जग्गा व्यक्तिको नाममा गरिदिने निर्णय गरेको थियो ।
त्यतिबेला गुठी मात्र होइन्, ऐलानी, सरकारी, आर्यघाट, मठमन्दिर, जंगल, खोलानाला, तालपोखरी, कुवा, ढुङ्गेधाराको जग्गा व्यक्तिको नाममा गयो । देशको संघीय प्रशासनिक केन्द्र भएको स्थानमा त सरकारी सम्पत्ति धमाधम व्यक्तिको नाममा लैजाने काम भइरहेको छ भने बाहिरी जिल्लाको अवस्था के होला ?
पार्टीको आडमा तिनका कार्यकर्ता र भूमाफियाहरुले सरकारी सम्पत्ति केही छोडेनन् । भोटको लागि नेमकिपाले राज्यलाई कतिसम्म नोक्सानी गर्छ ? छर्लङ्ग भइसकेको छ । सिर्जनानगर त एउटा उदाहरण मात्र हो, नगरपालिकाअन्तर्गत रहेका स्थानमा सोही अवस्था छ ।
कर पनि नउठाउने, व्यवसाय पनि दर्ता गर्न नलगाउने, फोहोरको पैसा पनि वर्षेनि रुपमा उठाउने, सरकारी सम्पत्ति खान दिने अनि स्थानीयलाई भोट बैंक बनाउने । २०४८ सालदेखि भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा निरन्तर जितिरहेको नेमकिपा आजसम्म सरकारमा गएको छैन ।
कारण स्पष्ट छ–आफूले गरेका गल्तीहरु खोतलिने डर । प्रेम सुवाल सँधै बोल्नका लागि समय माग्छन् । ठूला कुरा गर्छन् । जुनसुकै विधेयक आएपनि उनले विरोध गर्छन् । आफूले गरेकोचाँहि नदेख्ने अनि अरुमाथि औंला ठड्याउने ! पहिले आफूले के गरेको छु ? भनेर मनन गर ।
भोटको लोभले सरकारी सम्पत्ति स्वाहा पार्नेले देश र जनताको विषयमा आवाज उठाउन सुहाउँदैन । भक्तपुर निर्वाचन नम्बर २ मा कहिले काँग्रेस, एमाले त कहिले नेमकिपाले जितेको छ । एमालेका पूर्वसांंसद महेश बस्नेतलगायत विभिन्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिले पनि हजारौं रोपनी सरकारी जग्गा व्यक्तिको नाममा लगेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–५ स्थित सुशिल भैरवथानको जग्गा जनप्रतिनिधिले नै मिचेका छन् । मन्दिरको जग्गामा वडाध्यक्ष राजकुमार जोशी, प्रेम जोशी र श्याम जोशीले घर बनाएका छन् । उनीहरु घर पनि मन्दिरभन्दा ठूलो छ । वडाध्यक्ष जोशीको घरभन्दामूनि त्यहाँ ढुङ्गेधारा र गाईभैंसीले पानी खाने आल थियो । आलको छेउमा भएको पिपलको बोट अहिलेपनि छ ।
आलभन्दा मूनि चौर थियो । त्यो चौर पनि नेमकिपाका कार्यकर्ताले कब्जा गरेका छन् । त्यहाँ अहिले भव्य बस्ती छ । सूर्यविनायक नगरपालिका भाडामा बसेको पुरानो भवन र अहिलेको नयाँ भवन अगाडि र छेउछाउ भएको सबै जग्गा सरकारी हो । काँग्रेस, एमाले र नेमकिपाले भक्तपुरको सबै सरकारी सम्पत्ति दर्ता गरेर खाएको छ । यिनीहरु पार्टी होइन्, जग्गा दलाल गर्ने कम्पनी हुन् ।
-अनुसा थापा
भक्तपुर
प्रतिक्रिया