सी-पुटिन चियापानको सन्देश: भारत-पाकिस्तान युध्दमा कता उभिएलान् चीन र रुस

काठमाडौं । दक्षिण एशियाका दुइ छिमेकीहरु युध्दमा होमिएका बेला विश्व अर्थतन्त्रका दुइ ठूला देशहरु चीन र रसियाले संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्यहरूको हैसियतमा मिलेर विशेष जिम्मेवारी वहन गर्ने सहमति गरेका छन् ।

यतिबेला भारत र पाकिस्तान युध्दमा संलग्न भएका छन् । दुइसाता अघि भारत शासिन कश्मिरको पहलगाममा भएको आतंककारी हमलाको बदला लिन भनेर भारतले पाकिस्तानतर्फ हतियार उठाएको छ भने पाकिस्तानले पनि जवाफी फायर खोलिसकेको छ । पाकिस्तानले आतंककारी समूहहरुलाई सहयोग सहित आश्रय दिएर आफ्ना विरुध्द आतंककारी आक्रमण गर्न परिचालित गरेको भारतको आरोप रहँदै आएको छ । 

आणविक अस्त्र सुरक्षित गरेका यी दुइ देशसँग आ-आफ्नै सम्बन्ध राखेका चीन र रसियाले युध्द सुरु भएलगत्तै शीर्षस्थ तहको भ्रमण र वार्ता गरेर गम्भीर सन्देश दिएका छन् । चीनले आफूलाई पाकिस्तान तर्फ नरम व्यवहार देखाईसकेको छ भने रसिया भारतको परम्परागत मित्र रहिआएको छ । अब युध्द चर्कँदै गयो भने उनीहरुको समर्थन कसले पाउने हो भन्ने कुरा स्पष्ट हुँदै जाने छ ।

सी र पुटिको चियापानको सन्देश

यो साता रूसको राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति  सी जिनपिङले र आतिथेय समकक्षी भ्लादिमिर पुटिनले हिजो बिहान क्रेमलिन दरबारस्थित राष्ट्रपति निवासमा चिया पिउँदै वार्ता गरेका छन् । मे ८ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोस्थित क्रेमलिन दरबारमा भेटवार्ता भएको छ। 

शीर्ष नेताहरुले चीन र रूस सम्बन्ध सहित अन्य महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयहरूबारे गहन रूपमा वैचारिक आदानप्रदान गरेको भनेर सिन्ह्वा समाचार संस्थाले जनाएको छ । दुवै राष्ट्र प्रमुखले केहीबेर सहयोगी समेत राखेर वार्ता गरेका थिए भने त्यसपछि दुइजना मात्र बसेर सम्वाद गरेका थिए ।

राष्ट्राध्यक्ष सीले रूससँगै मिलेर विश्वका ठूला मुलुक र संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्का स्थायी सदस्य मुलुकको विशेष जिम्मेवारी लिँदै दोस्रो विश्व युद्धको सही ऐतिहासिक दृष्टिकोणको प्रचारप्रसार गर्नुका साथै दृढताका साथ चीन र रूस दुवै देश तथा अन्य विकासोन्मुख मुलुकहरूको हकअधिकारको संरक्षण गर्दै जान चीन इच्छुक रहेको बताएका थिए ।

विकासोन्मुख मुलुकहरूको हकअधिकारको संरक्षण गर्दै अघि बढ्न चीन र रुस सहकार्य गर्न तयार रहेको बताएर सीले दक्षिण एशियाको तनावमा दुइ ठूला देशले हातेमालो गर्न लागेको सन्देश दिएका छन् तर कसलाई सहयोग गर्नेछन् भन्ने कुरा भने स्पष्ट हुन सकेको छैन ।

राष्ट्रपति सीको भनाईपछि रुसी राष्ट्रपति पुटिनले दुवै पक्षले संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय कानूनको आधिकारिकताको संरक्षण गर्नुका साथै सँगै मिलेर दुवै देश र पुरै विश्वका लागि अझ सुमधुर भविष्यको सिर्जना गर्दै जाने आशा व्यक्त गरेका छन् ।

वार्तापछि दुवै देशका नेताले संयुक्त रूपमा “जापानी अतिक्रमण विरूद्ध चिनियाँ जनताको युद्ध, सोभियत संघको महान देशरक्षा युद्ध बिजय र संयुक्त राष्ट्र संघ स्थापनाको ८० औँ वार्षिकोत्सवको स्मृतिमा जन गणतन्त्र चीन र संघीय रूस बीच चीन-रूस नयाँ युगमा सम्पूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई अझ गहन पार्ने संयुक्त वक्तव्य”मा हस्ताक्षर गरेका छन् ।

दुइ राष्ट्र प्रमुखले चीन र रूस दुवै पक्षबीचका २० भन्दा बढी द्विपक्षीय सहयोगात्मक दस्तावेजको आदानप्रदान गरेका थिए । 

विशेष जिम्मेवारी निर्वाह गर्ने प्रतिवध्दता

राष्ट्रपति सी र पुटिनले विश्वका प्रमुख देशहरू र संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्यहरूको रूपमा विशेष जिम्मेवारी वहन गर्न चीन र रूस मिलेर काम गर्ने प्रतिवध्दता पनि प्रकट गरेका छन्।

दुई नेताहरूले चीन र रूस सम्बन्ध र प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा गहन विचार आदानप्रदान गरे, रणनीतिक समन्वयलाई अटल रूपमा गहिरो बनाउने र चीन-रूस सम्बन्धको स्थिर, स्वस्थ र उच्च-स्तरीय विकासलाई प्रवर्द्धन गर्ने कुरामा सहमति जनाए। दुई नेताहरूले दोस्रो विश्वयुद्धको सही ऐतिहासिक दृष्टिकोणलाई प्रवर्द्धन गर्न, संयुक्त राष्ट्र संघको अधिकार र हैसियत कायम राख्न र अन्तर्राष्ट्रिय न्याय र निष्पक्षताको रक्षा गर्न पनि विश्व समुदायलाई आह्वान गरे।

सी चिनफिङले विश्व अशान्ति र परिवर्तनको नयाँ अवधिमा प्रवेश गरेको टिप्पणी गर्दै जबसम्म चीन र रुसले रणनीतिक दृढ संकल्प कायम राख्छन् र रणनीतिक सहयोगमा अडिग रहन्छन्, कुनै पनि शक्तिले दुई देशलाई प्रभाव पार्न नसक्ने बताए । उनले चीन र रुसको स्थायी मित्रताको लागि जनताको आकांक्षा, विश्व बहुध्रुवीकरण र आर्थिक विश्वव्यापीकरणतर्फको समयको प्रवृत्ति हासिल गर्नबाट रोक्न नसक्ने उल्लेख गरे । आफूले राष्ट्रपति पुटिनसँग घनिष्ठ सम्पर्क कायम राख्न, चीन-रुस सम्बन्धको दिशा निर्देश गर्न र विश्वव्यापी शासन प्रवर्द्धनमा सकारात्मक योगदान दिन इच्छुक रहेको पनि उनले बताए । 

पुटिनले रूस र चीनले सधैँ एकअर्कालाई साथ र सहयोग गर्दै आएका छन् भन्दै दुई देशबीचको मित्रता अटुट रहेको उल्लेख गरे। आफूले राष्ट्राध्यक्ष सी चिनफिङसँग घनिष्ठ रणनीतिक सञ्चार कायम राख्न, द्विपक्षीय सम्बन्धको विकासका लागि रणनीतिक मार्गदर्शन प्रदान गर्न, जटिल अन्तर्राष्ट्रिय चुनौतीहरूको संयुक्त रूपमा प्रतिक्रिया दिन, व्यापक रणनीतिक सहयोगलाई गहिरो बनाउन, दुई देशको साझा हितको रक्षा गर्न र विश्वलाई न्यायपूर्ण, लोकतान्त्रिक र बहुध्रुवीय दिशामा विकासको प्रवर्द्धन गर्न इच्छुक रहेको पुटिनले चर्चा गरेका थिए । चीन र रुसको यो उच्चस्तरीय भ्रमणले ताजा भू-राजनीतिक गतिविधिमा महत्वपूर्ण सन्देश प्रवाह गरेको विश्लेषण गरिएको छ ।  तस्बिरहरु: सिसिटिभी

प्रतिक्रिया