अर्थमन्त्री महतले गरे नेपालमा लगानी गर्न कोरियन कम्पनीसँग आग्रह

मोरक्को (मराकेस)। अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले नाफा कमाईरहेको भन्दै कोरियन कम्पनीहरुलाई पनि लगानी गर्न आग्रह गरेको छन्। 

कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङसँगको दुई पक्षिय भेटमा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कमाईरहेकाले कोरियन कम्पनीलाई पनि नेपालमा राम्रो अवसर भएको  बताए। 

‘नेपाल लगानी गरेका भारतिय बहुराष्ट्रिय कम्पनी डाबर, अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकोकोला र पेप्सी, भारतिय कम्पनी आइटीसी ईण्डिया मात्रै होइन् मलेसियन टेलिकम कम्पनीले पनि राम्रो नाफा कमाईरहेका छन्। हामीहरुले चालू आर्थिक वर्षको बजेट मार्फत् निजी क्षेत्रको लगानीलाई थप सहजिकरण गर्ने प्रयास गरेका छौं। आगामी दिनमा पनि निजी क्षेत्रलाई सुविधा दिने हाम्रो सोच छ। कोरियन लगानीकर्तालाई नेपालमा स्वागत गर्न हामी इच्छुक छौं।’

मन्त्री महतले नेपाल सरकारले इज अफ डुइङ विजनेसमा निरन्तर सुधार गरिरहेको भन्दै कोरियन लगानीकर्तालाई झन्झट नहुने बताए। 

‘भारत सरकारले नेपालबाट १० हजार मेगावाट विजुली खरिद गर्ने निर्णय गरिसकेको छ। जलविद्युत उत्पादन, प्रशारण र वितरणलाइन, डिजिटल क्षेत्र, कृषि, पर्यटन लगायतका क्षेत्रमा नेपालमा राम्रो आम्दानी गर्न सक्ने अवसर’ मन्त्री महतले भनेका थिए।

उनले नेपाली कामदारलाई कोरिया लगेर कोरियन कम्पनीले राम्रो प्रगति गरिरहेको चर्चा गर्दै नेपालमै लगानी गरेर लाभ लिन र नेपालको आर्थिक वृद्धीमा पनि सहयोग गर्न आग्रह गरे। (नेपाल न्यूज बैंक)
 

प्रतिक्रिया