समाचार टिप्पणी

प्रधानमन्त्री प्रचण्डको कैलाश यात्रा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै यात्रामा तीन शीखरको अवलोकन भ्रमण गरेका छन्। मानसरोवर कैलाश, अमेरिका र चीन  प्रचण्डले प्रत्यक्ष अवलोकन गरेका छन्। धार्मिक आस्थाका दृष्टिले उच्च महत्व रहेको मानसरोवर कैलाश दर्शन मनुष्य योनीको उपल्लो लक्ष मान्छन् हिन्दु आस्थावान् मानिसहरु। यस आस्थाका विविध आयाममा क्रियाशील अगुवाहरु जीवनमा कम्तीमा एकपटक कैलाश दर्शनको प्रयाश गर्छन्। यसरी आस्था राख्ने मध्ये कतिले गर्छन् दर्शन्, कति त दर्शनको घिडघिडो लिएरै मर्छन्।

PM PKD 2

प्रधानमन्त्री प्रचण्डले जीवनमा कैलाश दर्शनको सपना योजना बुनेका थिए थिएनन्, उनै जानुन्। तर विश्वको पहिलो शक्ति राष्ट्र मानिँदै गरेको अमेरिकाबाट उच्च शक्तिको दावी गरिरहेको अर्को राष्ट्र चीन भ्रमणको मौका छोपेर प्रचण्डले कैलाश दर्शनको अवसर छोपेका छन्। पहिलो पटक प्रधानमन्त्री बनेपछि भैंसी पूजा गरेर राजकाज थालेका प्रचण्डको कैलाश यात्रा आफैंमा उल्लेखनीय घटना हो। कैलाश पर्वत भगवान शिवको साक्षात् प्रतिविम्व मानिन्छ। 

मान्यता रहिआएको छ कि कैलाश दर्शन गरिसकेको व्यक्ति सहजै वैतरणी तर्छ। उसले वैकुण्ठ यात्राका क्रममा कुनै वाधा अवरोध वा विद्युतीय धरापमा (एम्वुस) पर्नु पर्दैन। हिंसात्मक युध्दका माध्यमबाट शक्तिमा विराजमान प्रचण्डका हकमा ईश्वरले अर्कै मान्यता बनाउँछन् या साविक नै लागु गर्छन् (भविष्यमा), त्यो पनि उनै परमात्मालाई छाडिदिउँ किनकि यो क्षणभंगुर चोला बोकेको मनुष्यको अधिनको कुरा होइन। यतिबेला भने प्रधानमन्त्री प्रचण्डको सुस्वास्थ्य र दीर्घजीवनको कामना।

PM PKD 1

प्रधानमन्त्री प्रचण्डले फरक प्रकृति र प्रवृत्तिका तीन शीखर स्थलको अवलोकन गरेका छन्। यो नै अहिलेका लागि महत्वपूर्ण प्रसंग बनेको छ। राष्ट्र संघको महासभालाई सम्वोधन गरेर अमेरिकी राष्ट्रपतिसँग अलग्गै भेट गरेपछि प्रचण्डको व्यक्तित्व हलक्क बढेको भनेर उनको कीर्तन भैरहेको देखिन्छ। स्वार्थप्रेरित स्वजनले यति त गर्ने नै भए। प्रचण्डप्रति नरम दृष्टि राख्दै आएका सञ्चारमाध्यमले पनि उनलाई हिरो बनाउन सकेको मेहनत गर्ने नै भए, गरिरहेकै छन्। 

अमेरिकाबाट उडेर सोझै चीन उत्रिएका प्रचण्डले राष्ट्रपति सी र प्रधानमन्त्रीसहितका उच्च पदाधिकारीहरुसँग भेटेर गरेको सम्वादको पूर्ण विवरण प्रकाशमा नआईसकेको भए पनि चीनले आफ्नो सरोकारका बिषयमा नेपालको स्पष्ट धारणा बुझेको चर्चामा छ। बीआरआईको हैसियतबारे स्पष्ट निर्णय हुननपाएकामा चीन अप्रशन्न रहँदै पनि नेपाल अरु कसैको प्रभावमा पो परिहाल्ने हो कि भन्ने बिषयमा भने उ निकै नै चिन्तित रहेको सन्देश प्रधानमन्त्री प्रचण्डको कानमा परिसकेको बताईएको छ। तर उनले चीनसँगको नेपालको सम्बन्ध र नीतिबारे चलनचल्तीकै औपचारिक धारणामात्र दोहोर्याएको थाहा भएको छ। तर चीन एमसीसीको अनुमोदन पछि नेपाल कतै अमेरिकी प्रभावमा पूर्ण रुपले पर्ने पो हो कि भनेर सतर्क रहेको प्रधानमन्त्री प्रचण्डले महसुश गरेको उनको भ्रमण दलका एक सदस्यले सुनाए। 

कैलाश मानसरोवर, अमेरिका र चीनको अवलोकन भ्रमण सकेर स्वदेश फर्किएपछि प्रधानमन्त्री प्रचण्डको पदचाप कस्तो होला भनेर काठमाडौंका शक्ति केन्द्रहरु कान थापेर बसेका छन्। प्रचण्डको प्रवासकालमा भक्तपुर दरबार स्क्वायरमा पूर्व राजाको ‘दर्शन’ गर्न उर्लिएको जनसागर र शिक्षक आन्दोलन पनि राजनीतिक वृत्तमा ठूलै चर्चाको बिषय बनिरहेको छ। जनवादका पक्षपोषक मानिँदै आएका नेता कमरेड रोहितको जगजगी रहेको भक्तपुरमा बाजागाजा र मौलिक पोशाका उर्लिएका स्थानीय नगरवासीले पूर्व राजालाई जसरी स्वागत गरेको देखियो। यो दृश्य देखिसकेपछि मानिसहरुले चर्चा गरे कतै यो कमरेड रोहितको इशारामा त भैरहेको होइन? त्यो के हो उनै रोहित जान्दछन्। तर एउटा कुरा भने पक्का हो कि औपचारिक समारोहजस्तै गरी पूर्व राजाले स्वागत त पाएकै हुन्। शक्ति राष्ट्रको भ्रमणमा रहेका प्रचण्डले तात्तातै यो समाचार पाईसकेकै थिए। यसकारण पनि उनी स्वदेश फर्किएपछिको राजनीतिक पदचाप कस्तो होला भनेर सशंकित नजरले प्रतिक्षा गरिएको पाईन्छ।

एमसीसी कार्यान्वयनको चरण सुरु भएपछिको अमेरिका भ्रमण, ‘चीनलाई नेपालमा पत्तासाफ’ गरिँदैछ भन्ने चिनियाँ कुटनीतिज्ञको चर्को टिप्पणी पछिको चीन भ्रमण र भारतको गर्भगृह र पशुपतिनाथको दर्शनपछि कैलाश पर्वतको दर्शन प्रधानमन्त्री प्रचण्डका पछिल्ला ताजा संलग्नता हुन्। जसलाई विभिन्न आयामबाट विश्लेषण गरिँदै छ। संसदमा तेस्रो स्थान पाएर पनि ठूलो दलको समर्थनमा सरकारको नेतृत्व गरिरहन सफल भैरहेका प्रचण्डले अब कस्तो राजनीतिक कदम चाल्लान्? अहिले राजनीतिक र अन्य शक्ति केन्द्रमा चर्चामा रहेको प्रश्न हो यो। 

कैलाश पुगेपछि प्रचण्डले भनेका छन्, नेपालको हुम्लाको बाटो भएर हिन्दूहरुको पबित्र तिर्थस्थल कैलाश पर्वत र मानसरोबार तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने छ।

कैलाश पर्वत र मानसरोबर ताल क्षेत्रको स्थलगत अवलोकन गरी नेपाली, भारतीय र अन्य देशका पर्यटकहरुले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्दान्तिक सहमति भैसकेको उनले सुनाएका छन्। 

चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोबर करिब २ सय ५० किलोमिटर टाढा छ  भने नेपालको हुम्लाबाट यात्रा गर्दा हुम्ला सदरमुकाम सिमकोटबाट १ सय ६० किलोमिटर र नेपाल चीन सीमानाबाट भने ७० किलोमिटरको दुरीमा छ।

सिमकोटबाट कैलाश मानसरोबर जान अहिले सडक संजाल जोडिएको भएपनि सडकको ट्रयाकमात्रै खोलिएकाले यात्रीहरुले असहज अवस्था बेहोरिरहेका छन्।

प्रधानमन्त्री प्रचण्डका तीन अवलोकन भ्रमणले कैलाश मानसरोबरको यात्रा मात्रै सहज बनाउने छ कि शक्ति राष्ट्रहरुसँगको नेपालको सम्वन्ध पनि सहज, सरल र लाभदायक पार्ने छ। यो भने भविष्यमा देखिँदै जाला। 
 
 

प्रतिक्रिया