समाचार टिप्पणी

सिंहदरबार होइन, आफ्नो क्रोध भष्म गर बालेन

काठमाडौं महानगर प्रमुख बालेन साहले सिंहदरबारसँग चर्को आक्रोश पोखेका छन्। आक्रोश चानचुने छैन, हिंसा मिसिएको छ आक्रोशमा। आगजनी गर्ने धम्की सहित कुनै संरचनाको अस्तित्वलाई चेतावनी दिनु सामान्य सन्देश मान्न सकिँदैन। महानगर प्रमुख बालेन साहको चेतावनी सामान्य मनस्थितिबाट उत्पन्न आक्रोश होइन। उनी निकै क्रुध्द बनेपछि प्रकट भएको छ त्यो आक्रोश।

पाण्डवका लागि केवल पाँच गाउँ मात्र माग्न आएका श्रीकृष्णसँग सुईको टुप्पोमा अट्नेजति माटो पनि नदिने भन्दै क्रोधित भएका छन् दुर्योधन। हस्तिनापुरका सम्राट धृतराष्ट्रका पुत्र हुन् दुर्योधन। समाजले समाजशास्त्र भनि ग्रहण गरेको शास्त्र महाभारतमा रोचक वर्णन छ यस प्रसंगको। यही क्रोध विस्तार हुँदैजाँदा न दुर्योधन नै बचे न त हस्तिनापुरको राजपाठ कुनै कौरब वंशको हातमा पर्यो। क्रोधको परिणति कस्तो हुन्छ भन्ने अजरअमर सन्देश छ महाभारतमा। आखिर मानिसले शिक्षा लिने भनेको त यस्तै पौराणिक ग्रन्थ र घटनाहरुबाटै न हो।

राजधानी महानगरका पिता बालेन साह पक्कै पनि महाभारतको यो सन्देशसँग परिचित छन्। त्यसकारण क्रोधमाथि नियन्त्रण उनको पहिलो वाचा हुन आवश्यक देखियो। नेपालको चुच्चे नक्शा प्रकरणमा पनि उनको वालसुलभ शैली आलोचनामा परेकै हो। त्यसपछि पनि कतिपय प्रसंगमा महानगरपिताको कार्यशैलीलाई उनका प्रिय मतदाताले मन पराएका थिएनन्। जोश र होस एकसाथ चल्न पायो भने मात्र सिर्जनात्मक कार्यका लागि उनले चालेका दुस्साहस जस्ता लाग्ने कदमहरुमा समर्थन प्राप्त हुने छ, हुँदैजाने छ। समाजले असल मनसायले गरेको आलोचना र टिकाटिप्पणीलाई उर्जाका रुपमा ग्रहण गर्ने ग्रहणशिलता पनि अटल रहन जरुरी छ। अरु कसैले जस्तो आलोचकहरुमाथि अरिङ्गाल खन्याउने मूर्खता महानगरपिताबाट नहोस् भन्ने पनि आममानिसहरुको मनसाय देखिन्छ।

ठीकै छ, शनिबार महानगर प्रमुख बालेन साहको आपतकालिन सावरी थियो होला। उनीसँग तत्काल जेजस्तो सवारी साधन थियो त्यसको विकल्प जुटाईहाल्ने समय पनि थिएन होला। यस्तो हुन्छ, आपत पर्छ। तत्कालको अवस्था हेर्दा त्यसलाई पनि आपत्तिजनक भनिहाल्न मिल्दैन। आपतमा उध्दार नै पहिलो काम हो। तर सार्वजनिक विदाका दिन सरकारी साधन प्रयोग गर्नुहुँदैन भनेर कसैले सुविधाको दुरुपयोग पो गर्छन् कि भनेर सुरक्षा निकायलाई निगरानी र नियन्त्रणको कार्य गर्न निर्देशन गरिएको कुरा सर्वसाधारणलाई पनि अवगत छ। महानगरपिता यसकुरासँग अनभिज्ञ होलान् भनेर विश्वास गर्न सकिँदैन। तसर्थ सुरक्षा निकायले केहीबेर सोधपुछ गर्दा जे हो त्यो यथार्थ जानकारी गराएर अघि बढ्न सकिन्थ्यो। तर यसको बदलामा महानगरपिताले ‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहरदरबार आगो लगाइदिन्छु। याद राख चोर सरकार।’ भनेर हिंसामिश्रित धम्की दिएको भने पटक्कै सुहाएन। जननिर्वाचित प्रतिनिधिलाई त झन् यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने कुनै सुविधा मतदाताले दिएको हुँदैन। महानगरका कुनै पनि गाडी सरकारले रोक्न पाउने या नपाउने प्रश्न समय सन्दर्भ अनुसार प्रासंगिक होला तर यसमा आएको प्रतिक्रिया पनि पदीय मर्यादा सुहाउँदो देखिएन।

यहाँनेर हाम्रो एउटै मात्र सुझाव छ, कि महानगर प्रमुख बालेन साह अत्यधिक महानगरवासीले मन पराएका नेता हुन्। दशकौंको इतिहास भएका पुराना दलहरु, राजनीतिक खानदानका नेतागण, अनेक शक्ति केन्द्रको निवासस्थल, वैधअवैध धन्दाको हेराफेरि भैरहने स्थल हो काठमाडौं। यति हुँदाहुँदै पनि नयाँ मतदाताले महानगरमा नयाँ नेताको चाहना गरिरहेका रहेछन्। परम्परागत कार्यशैली, भद्दा सार्वजनिक सेवा र सार्वजनिक चलअचल सम्पत्तिको चरम दुरुपयोगमाथि पूर्ण नियन्त्रण गरेर केही नयाँपन गरेर देखाउने नेता खोजिरहेका नयाँ पुस्ताका मतदाताको रोजाईमा परेका हुन् बालेन साह। त्यसकारण उनले ती मतदाताको भावनालाई केवल निर्वाचनसम्मको सीमामा मात्र तौलनु हुँदैन। उनका तमाम सार्वजनिक क्रियाकलापले तिनको भावना र विश्वासमा असर गर्छ। यसले सान्दर्भिकता गुमाउँदै गएका तत्वहरुलाई हौस्याउँछ भने नयाँलाई खिन्न पार्छ। तसर्थ क्षणिक आक्रोश र तत्कालको अवरोधबाट उत्पन्न हुने क्रोधलाई समन गर्ने सामथ्र्य महानगर प्रमुखले बनाउने प्रयत्न गरिरहनुपर्छ। कहिँकतै शासकीय विकृति छन् भने त तिनलाई सच्याउने बलियो शक्ति त जनमत मार्फत् महानगर प्रमुखलाई मतदाताले प्रदान गरिसकेकै छन् नि!

भनाई नै छ कि बालक रिसाएनन् भने, बालकले उपद्रो र चकचक गरेनन् भने बूढाहरु ठेगानमा बस्दैनन्, बरालिन्छन्। घरमा एकदम चकचके बालक छन् र उखरमाउलो गर्छन् भने एउटा कुरा प्रस्ट छ त्यस घरका बूढाबूढी सही ठाउँमा छन्। उनीहरुलाई मनमौजी अन्ताक्षरी गाएर अलमलिने फुर्सद छैन। तर त्यसो भनेर बालकलाई उपद्रोको सीमा अतिक्रमण गर्ने छुट चैं दिन हुँदैन, त्यसो भैगयो भने त्यसले अपुरणीय क्षति हुनसक्ला, हिंसै पनि नहोला भन्न सकिँदैन। उसलाई सम्यम् सिकाउँदै परिपक्व बनाउन समय लाग्छ। त्यो धैर्य राखेर उपद्र्याहा बालकलाई सिर्जनात्मक मार्गतिर क्रियाशील राख्ने काम भने परिवार र समाज दुवैथरीले गरिरहनुपर्छ। अनिमात्र सिर्जनात्मक कार्यहरु हुँदैजान सक्छन्। यहाँनेर ती अभिभावक जस्ता छहारी भनेका मतदाता नै हुन्। मतदाता सदैव चनाखो रहन पर्छ अनिमात्र आफूले अमूल्य मत दिएर आफ्नो अभिभावक बनाएर पठाएको नेतामाथि निगरानी गर्न सकिन्छ। महानगर प्रमुखलाई पनि ती अभिभावकले एकटकसँग नियाली रहेका छन्। तसर्थ आफ्नो कार्यशैली आलोचनाको बिषय बन्छ कि भनेर उनी पनि सतर्क रहीरहन जरुरी छ।

नयाँ जोशका साथ नेतृत्वमा आएका महानगर प्रमुख बालेन साहले चारैतिरको तिव्र आलोचना झेल्दै यतिञ्जेल जे जति कार्य गरिसकेका छन्, त्यो हिजोका दिनहरुमा दलका प्रतिनिधिहरुले किन गरेनन् त? किन गर्न सकेनन्? भन्ने जस्ता प्रश्नहरु आज पनि अनुत्तरित नै छन्! सार्वजनिक सम्पत्तिको खोजबिन र संरक्षण गर्ने कार्यमा उनले गरेको कार्यलाई महानगरवासीले साहसी काम भनेर स्यावासी पनि दिईरहेका छन्।

साथै प्रत्येक वडामा दक्ष जनशक्ति सहितको आधुनिक उपकरण र सवैजसो निःशुल्क औषधि सेवा दिएर स्वास्थ्य प्रवध्र्दन केन्द्र स्थापना गर्ने कार्यलाई निकै महत्वसाथ स्वागत गरिएको पाईएको छ। स्थापना भैसकेका त्यस्ता केन्द्रको सेवाबाट लाभान्वित नगरवासीले महँगा अस्पताल धाउन छाडेको प्रतिक्रिया पनि आईरहेका छन्। यसै वर्षभित्र सबै वडामा त्यस्ता केन्द्र स्थापना गरिसक्ने लक्ष महानगरपालिकाले लिएको बुझिएको छ। यस्ता कार्य विगतमा किन गरिएन भनेर आज प्रत्येक नागरिक प्रश्न गरिरहेका छन्। महानगर प्रमुखमा बालेनको चयन सही थियो भनेर प्रशन्न भैरहेका मतदातालाई आवेशमा आउने प्रतिक्रियाले निराश बनाउँछ कि भन्ने कुरामा महानगरपिता सम्यमित हुनुपर्छ भन्ने हाम्रो सल्लाह हो। 

शास्त्रमा भनिएको छ, ‘मानिस स्वयं उसको मित्र हो, मानिस स्वयंको शत्रु पनि हो।’
 

प्रतिक्रिया