पर्दाभित्रको राजनीति

‘किसानकी छोरी’ यसरी बनिन् सभापति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी मनोविज्ञानी डाक्टर आरजु राणा देउवा ‘कृषककै छोरी’ भएकाले कृषिक्षेत्रको सुधारका लागि संसदीय समितिको सभापति बन्न अग्रसर भईन्। विपक्षी दलहरुले समेत मार्गप्रशस्त गरिदिएपछि उनी कृषकको हितमा काम गर्न संसदीय समितिको सभापतिमा निर्विरोध निर्वाचित भईन्।

अब हेर्नु छ, कसको सेवा गर्छिन् आरजुले?

आफ्नो देशको नागरिकता परित्याग गरेर, परित्याग मात्र गरेर होइन उल्टै जायजेथा समेत बिक्री गरेर जम्मा गरेको लाखौं रुपैंयाँ दलाललाई बुझाएर अर्को देशको नक्कली नागरिक हुन राजी भएर नेपाली नागरिक विदेश जान तयार भएको घटना यसै वर्षको मनसुन अवधिको चर्चित बिषय हो। स्मृति शक्ति निकै कमजोर भएका नेपाली जनताले समेत ‘नक्कली भूटानी शरणार्थी प्रकरण’ नामले चर्चित यो घटना बिर्सिसके होला भनेर विश्वास गरिहाल्न सकिँदैन।

राज्यशक्तिको चरम दुरुपयोग गरेर भएको यो मानव तस्करी जस्तो प्रकरणले नेपाल र बाँकी नेपालीको शीर लज्जाले झुकाएको छ। प्रमुख राजनीतिक दलका शीर्ष भनिने गरेका कतिपय नेताहरुकै प्रोत्साहन र संरक्षण पाएको यो प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व माओवादी तथा पछि एमाले छिरेका नेता टोपबहादुर रायमाझी समेत दर्जनौं व्यक्तिहरु यसै प्रकरणका दोषी ठहरिएर अभियुक्तका हैसियतमा हिरासतको हावा खाईरहेका छन्। 

खाँणकी पत्नी मञ्जु खाँण समेत संलग्न रहेको प्रमाण हातमा बोकेको अनुसन्धान निकाय राजनीतिक दवावमा उनलाई नियन्त्रणमा लिन असमर्थ छ। पिछडिएका वर्गको सुविधा खोसेर समानुपातिक सांसद बनेकी छिन् मञ्जु खाँण। यही हैसियतले उनलाई तत्काल अनुसन्धानबाट जोगाएको ठान्छन् अनुसन्धान अधिकारीहरु। करिब करिब भूमिगत भैसकेकी मञ्जु केहीदिनको तनाव विसर्जनपछि मात्र प्रतिनिधि सभामा झुल्किएकी थिईन्। 

एक उच्च तहको स्रोत आरजु देउवा पनि मञ्जुकै हालतबाट बचेकी दावी गर्छ। नेपाली कांग्रेसको समर्थनबिना आफ्नो सरकारको भविष्य जोखिममा पर्ने निश्चित देखेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले आरजुतिर कर्के नजर नलाउन अनुसन्धान निकाय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अधिकृतहरु र सुरक्षा निकायका प्रमुखहरुलाई सचेत गराएका थिए। सभापति देउवाले सवैभन्दा पहिला त पत्नी आरजुलाई हिरासतमा देख्न चाहेका थिएनन् भने मञ्जुको घिडघिडोले गर्दा बालकृष्णलाई पार्टीका हैसियतहरुबाट निवलम्वन गर्न सकेका थिएनन्।

सत्ता राजनीतिको प्रचूर उपयोग गरेर दुइ नारीहरुलाई रक्षाकवच प्रदान गर्न प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री देउवा यसरी सफल भएको कथा विस्तारै सतहमा उत्रिन थालेको छ। यत्तिले मात्र ती राष्ट्रिय नारीहरुको ह्रदयको जलन शान्त नभएपछि अनुसन्धान अधिकारीहरुलाई चारभञ्ज्याङ कटाउने योजनाको जालो बुन्न थालिएछ। नारीहठसँग पराजित भएका प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीले तलबितल गरे ‘जागीर खाईदिने’ चेतावनी दिँदै गृहमन्त्री नारायकाजी श्रेष्ठको सातो टिपेछन्। निर्वाचनमा टिकट दिने र जागीर दिन समहति दिनेको एकसाथ चेतावनी पाएका नारायणकाजीले सीआईवीका अनुसन्धान अधिकारीलाई टिकट कटाउँदा चूँ समेत गर्न सकेनछन्।
 
राजकाजमा यत्ति दखल डालिसकेपछि अब भने नक्कली शरणार्थी प्रकरणले ठूला गर्धन भएका नरनारीलाई जेल पठाउने सम्भावना टरेको जानकार सूत्रले बताएको छ। यसपछि तत्काल मन्त्रीपरिषदको सदस्य हुन अनुकूल नहुने परिस्थिति देखिएपछि आरजुले संसदीय समितिको सुरक्षाकवच ग्रहण गरेको बताईन्छ। सत्ता, राज्यस्रोत र अन्य अनेकौं आयस्रोतका धाराहरुमा सहस्र धन प्रवाह भैरहँदा राज्यमन्त्री सरहको सुविधा लिने लालचाले मात्र आरजु संसदीय समितिको सभापति हुन अग्रसर भएकी हुन् भनेर उनलाई निकटबाट बुझेका कांग्रेसजन मान्न तयार छैनन्। स्वतन्त्र अनुसन्धान हुनपाएका दिन कुनैपनि क्षण हिरासतमा पुग्नुपर्ने जोखिम ठम्याएर आरजुलाई ‘किसानको सेवा गर्न’ समितिमा विराजमान गराईएको स्पष्ट छ।

कृषि, शहकारी तथा प्राकृतिक स्रोत समितिमा बसेर सकारात्मक परिणाम दिन सक्ने आशा लिएकी आरजुले आफू पहिलादेखि नै ‘वनजङ्गलको क्षेत्रमा काम गर्दै आएको’ दावी गर्दै वन क्षेत्रमा देखिएका चुनौतीलाई समाधान गर्ने ठोकुवा पनि गरिसकेकी छन्।

आरजुलाई संसदीय समितिमा सेल्टर दिईसकेपछि नक्कली भूटानी शरणार्थी प्रकरणमा अरु दोषी तानिने सम्भावना कमजोर हुँदै गएको देखिन्छ। सुरुसुरुमै नियन्त्रणमा लिईएका व्यक्तिहरुसँग समेत मोलमोलाई गरेर नेपाली जनता चाडपर्व मनाउन मस्त रहेको अवसरमा उनीहरुलाई पनि परिवारसँग सम्मिलन गराउने सम्भावना रहेको एक उच्च सुरक्षा सूत्रले बताएको छ।
 
यही प्रवृत्ति ललिता निवास जग्गा प्रकरण हुँदै सय किलोबाट साठीमा झरेको सुन प्रकरणमा दोहोरिने सम्भावना रहेको बताईन्छ। अनुसन्धान अधिकारीहरुको सरुवा गरिएपछि अनुसन्धानमा क्रियाशील अरु अधिकृतहरुको समेत मनोवल गिरेको देखिन्छ। सत्ताको दलाली गर्ने परम्परागत गिरोहले समेत ती अधिकृतहरुलाई धम्क्याउन थालेको बुझिएको छ।

प्रमाणले अन्तिम निर्णयकर्ता देखिएका दुई पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई निवासमै ‘वयान’ लिन वाध्य अनुसन्धान निकाय उनीहरुलाई निजहरुकै घरमा ‘थुनेर’ फर्कन विवश देखियो। विभागीय जिम्मेवारी पूरा गर्दा हिरासतमा परेका अवकाशप्राप्त राष्ट्रसेवक ८० वर्षका धर्म गौतमको सेन्ट्री बसिरहेका सुरक्षाकर्मीहरु मुख्य जिम्मेवार मानिएका पूर्व प्रधानमन्त्रीहरुको सेवा गर्न नपाएकामा चुकचुक देखिन्छन्।

जस्तोसुकै अनियमित काम गरेको भएपनि राजनीतिक सहमतिमा एकअर्कोलाई चोख्याउने र जोगाउने काम नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले, राप्रपा लगायतका दलहरुले नियमित रुपमा गर्दै नै आएका थिए, अहिले त्यही प्रवृत्तिले निरन्तरता पाएको छ। नक्कली भूटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरण र पछिल्लो सय किलो अवैध सुन भित्र्याईएको जस्ता ठूल्ठूला अवैध काण्डहरुमा कुनै न कुनै हैसियतमा संलग्न रहेका शीर्ष नेतृत्व आफ्नो कर्तुत खुलासा हुने सम्भावना देखिएपछि आफ्नै अनुजहरुलाई प्रहरी हिरासतमा कोच्न अग्रसर भएका घटनाहरु प्नि पछिल्ला दिनहरुमा देखिएका छन्। 

तत्कालिन राणा प्रधानमन्त्री जुध्द शम्शेरकी नातिनी आरजु राणाले पिता पूर्खाले भोगचलन गरेको राजकाजी सुविधा पति परमेश्वरका पालामा उपभोग गरेकी छन् भने यसलाई अन्यथा मान्नुपर्ने आवश्यकता पनि देखिँदैन।

केही हजार नेपालीले नागरिकता परित्याग गर्दैमा, केही सय रोपनी जमिन यताउता पर्दैमा र सय किलो सुन साठी किलोमा झर्दैमा दाहाल, देउवा, ओली र नेपालको के नै पो भरिहाल्छ र? दलहरुको थेत्तरो प्रवृत्ति देख्दादेख्दा आजित भैसकेका नेपाली जनता यस्तै टिप्पणी गर्छन् भने कसको के लाग्छ र?
  
 

प्रतिक्रिया