यस्तो थियो सीताको योगदान

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको पार्थिव शरीरलाई पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ। उनको आज बिहान निधन भएको हो।

स्वर्गीय दाहालको पार्थिव शरीरलाई अन्तिम श्रदाञ्जलि दिनको लागि अहिले पेरिस डाँडामा राखिएको हो।

दिउँसो १ बजेसम्म पार्टी कार्यलयमा राखेर आजै अपरान्ह पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बुधबार बिहान उपचारको क्रममा नर्भिक अस्पतालमा सीताको निधन भएको हो। 

को हुन् सीता?

PSनेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता माओवादी केन्द्रका सल्लाहकार थिईन्।

विसं २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिनुभएकी सीताको २०२६ सालमा प्रधानमन्त्री दाहालसँग विवाह भएको थियो। विसं २०२८ देखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै आएकी थिईन्।

मुलुकमा गणतन्त्र ल्याउनका लागि भएको जनयुद्धको समयमा पति पुष्पकमलको नेतृत्वलाई सफलतामा पुर्याउन आफ्नो जीवन बाजी लगाएर सहयोग पुर्याएकी थिईन्। पार्टी कामका लागि पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी दाहालले देशमा जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरूपमा सहभागी भएकी थिईन्।

जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिईन्। पछिल्लो समय उनी पार्किन्सनलगायत रोगबाट पीडित थिईन्। 

प्रधानमन्त्री दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानुको क्यान्सर र छोरा प्रकाशको हृदयाघातका कारण निधन भइसकेको छ। छोरी रेनु र गङ्गा राजनीतिमै सक्रिय छन्।  (फायल तस्बिर)

प्रतिक्रिया