पशुपति क्षेत्र बिकास कोष आफैंले बनाएको नीति विपरित अनुदान स्वीकार्दै

काठमाडौं। पशुपति क्षेत्र बिकास कोषले आफैंले बनाएको नीति विपरित पशुपति क्षेत्रको बिकासमा वैदेशिक सहयोग लिन लागेको छ। कोषले यसै वर्ष पशुपति क्षेत्रभित्रको निर्माण र पुननिर्माण गर्न आन्तरिक स्रोतमात्र प्रयोग गर्ने तर कुनैपनि विदेशी दातृ संस्था र देशबाट आर्थिक सहयोग या अनुदान ग्रहण नगर्ने भनेर नीति पास गराएको जानकार सूत्रले बताएको छ। तर यसविपरित कोषको वर्तमान व्यवस्थापन समितिले ठूला संरचनाहरुको पुननिर्माण गर्न भारत सरकारबाट ठूलै धनराशी सहयोग स्वीकार्ने तयारी गरेको छ। 

भारतीय दूतावास मार्फत आउने भनिएका यस्ता सहयोग र अनुदान कसरी खर्च गर्ने भन्नेमा कोषले स्वतन्त्र रुपमा काम गर्न नपाउने बताउँदै समाचार सूत्रले यसमा पारदर्शिताको सख्त अभाव रहने जोखिम औंल्याएको छ। तर कोषका पदाधिकारीहरु नीति विपरित अनुदान ग्रहण गर्नुपर्ने तर्क गरेर कोषका अध्यक्षलाई प्रभावित पार्न सफल भैरहेको देखिन्छ।

केही ठूला संरचनाहरु रकम अभावका कारणले पुननिर्माण गर्न नसकिएकामा भारत सरकारले सहयोग निम्ति ‘इच्छा व्यक्त गरे अनुसार’ सहयोग स्वीकार गर्न लागिएको विश्वस्त सूत्रबाट थाहा भएको छ।

कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको अध्यक्षतामा आज बिहान मन्त्रालयमा बस्ने बैठकले भारतीय सहयोग स्वीकार गर्ने लगायतका केही महत्वपूर्ण निर्णय गर्ने तयारी छ।

यो लगायत कर्मचारीहरुको सेवा, शर्त र सुविधा सम्बन्धी नयाँ नियमावली स्वीकृतिका लागि सरकारलाई सिफारिस गर्ने, पशुपतिनाथका दक्षिण मुहारका रिक्त पूजारी (भट्ट) को नियुक्ति गर्न पनि सिफारिस आजको बैठकबाट गर्ने तयारी छ।

भारतले १ अर्ब सहयोग गर्ने

पशुपति क्षेत्रका पञ्चदेवल सत्तल भित्रका पाँचवटा शिवालय र पञ्चदेवल चौघेरा सत्तल पुननिर्माण गर्न भारत सरकारले ३७ करोड सहयोग गर्ने भएको छ। त्यसैगरी नेपाल वेद विद्याश्रम संस्कृत माविको स्तरोन्नति गरी महाविद्यालय सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न ७९ करोड ४६ लाख सहयोग गर्न भारत सरकारले काठमाडौंस्थित दूतावास मार्फत औपचारिक जानकारी अर्थ मन्त्रालयलाई पठाईसकेको थाहा भएको छ।

साथै वज्र घर पुननिर्माण निम्ति पनि भारत १६ करोड सहयोग गर्न सहमत भएको समाचार सूत्रले जानकारी दिएको छ। भारतले सबै सहयोग अनुदानका रुपमा दिन लागेको बुझिएको छ।

यी सहयोगहरु स्वीकार गर्न औपचारिक निर्णय आवश्यक परेकाले आज कोषको बैठक बस्न परेको बताईएको छ। 

०७२ को भूकम्पबाट क्षति पुगेका धेरैजसो संरचनाहरु नेपाल सरकारले नै पुननिर्माण गरिसकेको छ। तर मुख्यमुख्य संरचनाहरु पुननिर्माण गर्न आन्तरिक स्रोत नै सम्भव हुनसक्ने भएपनि भारतले सहयोग गर्ने इच्छा व्यक्त गरेकाले उससँग लिने अनुदान रकम स्वीकार गर्न आजको बैठकबाट औपचारिक निर्णय गर्न लागिएको छ।

अमानतको भुक्तानी

पशुपति क्षेत्रको सौन्दर्यीकरण गर्न कोषले अमानतमा काम लगाएर लाखौंको रकम भुक्तानी दिन लागेको छ। बगैंचा, फूलरोपण, पर्खाल निर्माण लगायतका काम हतारमा अमानतमै गराईएको देखिन्छ।

कोष सचिवालयको निर्देशनमा ‘तत्काल अमानतमा काम गराईएको हुँदा खरिद प्रक्रिया पूरा गरि भुक्तानी गर्नुपर्ने भएकाले’ भन्ने जरुरी कारण देखाएर १ करोड ५८ लाख ८४ हजार १६६ रुपैंयाँ थप बजेट माग्ने पनि तयारी भएको बुझिएको छ।

मन्त्रीकी आमाको नाममा वृक्षरोपण

PDF picकोषका अध्यक्ष रहेका मन्त्री सुदन किरातीले पशुपति क्षेत्रभित्र आमाका नाममा वृक्षरोपण गरेर कीर्तिमान राखेका छन्। अहिलेसम्म कुनै मन्त्री या प्रधानमन्त्रीले नगरेको काम गरेर मन्त्री किरातीले पशुपतिनाथ परिसरको मर्यादा उल्लंघन गरेको टिप्पणी भैरहेको छ। सदस्य सचिव मिलन कुमार थापा र कार्यकारी निर्देशक घनश्याम खतिवडाको उक्साहटमा परेर किरातीले वृक्षरोपण गरेको थाहा भएको छ।

  
 

प्रतिक्रिया