राजु अग्रवाल, जो नारायण गोपाललाई दिन्थे सुरमा ताल 


काठमाडौं । स्वर सम्राट नारायण गोपालको एकल गायन कार्यक्रम ‘स्वर्णीम सन्ध्या’ । वर्ष २०४५ । 

श्यामश्वेत तस्वीरमा तबलाबादक राजु अग्रवाल स्वरसम्राट नारायण गोपालको छेउमै बसेर तबला बजाइरहेका देखिन्छन्, जुन अग्रवालका लागि जिवनकै अनुपम क्षण हो । 

‘स्वर्णीम सन्ध्या’का लागि नारायणगोपालसँग तबलाबादक राजुले १५ दिनसम्म प्रज्ञा प्रतिष्ठानको मंचमा रिहर्सल गरेका थिए । एउटा पूर्ण तयारी, जसले स्वर्णीम सन्ध्या कार्यक्रमलाई वास्तवमै स्वर्णीम बनायो । 

स्वर्णीम सन्ध्याको दुइ वर्षपछि २०४७ मंसिर १९ मा नारायण गोपालको देहावसान हुँदा राजुलाई आफ्नो तबलाले ‘सहोदर सुर’ गुमाएको महसुस भयो । एउटा बेजोड सुर र स्वरसँगको सहकार्य उनको तबलाले गुमायो । 

दादरा होस् या कहरवा, झपताल होस् या रुपक, नारायण गोपालका हरेक तालका गीतमा राजुको तबला बादनको जादु छरिएको छ । रेडियो नेपालमा रेकर्ड भएका नारायण गोपालका अधिकांश गितमा उनले नै तबला बजाएका छन् । 

नारायण गोपालसँग राजुको परिचय बिसको दशकबाटै भएकमो हो । स्वरसम्राटको घर काठमाडौंको किलागलमा थियो भने राजु पनि नजिकै भेंडासिंहको रैथाने मारवाडी । 

70708039_944665825897894_3885753635354705920_n

‘म तन्नेरी हुँदादेखि नै नारायणगोपालको घरमा आउने जाने गरिरहन्थें, त्यसैबेला उहाँसँग मेरो परिचय भएको हो’, राजु संझन्छन्, ‘नारायण गोपालका बुबा राम्रो सितार बजाउनुहुन्थ्यो, जसको म फ्यान नै थिएँ ।’

तिनताक मच्छिन्द्रबहालस्थित भजन घरमा साँझ साँझ भजन किर्तनहरु हुन्थे । नारायण गोपाल भजन घरमा आफ्नो पारामा गितहरु सुनाउँथे । राजुले त्यही भजनघरमा प्रारम्भीक चरणमा तबला बजाउने मौका पाए । तबलाबादनको अभ्यास भजनकै क्रममा भयो । 

विसं २०२६ मा राजुले रेडियो नेपालमा तबलाबादकको जागिर पाए । त्यसबेलासम्म नारायण गोपालका गीतहरु रेकर्ड हुन थालिसकेका थिए र उनी चर्चामा आइसकेका थिए । 

‘रेडियो नेपालमा नारायण गोपालका हरेक रेकर्डीङमा सहभागी हुने मौका पाउनु मेरो लागि अहोभाग्य हो’, राजु संझन्छन् । 
विसं २०२६ देखि २०७० मा सातौं तहको जागीरबाट सेवा निवृत्त हुँदासम्मको करिअरमा आफुले नारायण गोपालजस्तो महान गायक अर्को कुनै नदेखेको राजु बताउँछन् । 

‘मैले गुलाम अलीदेखि एक से एक गायकका गीतमा तबला बजाएँ । दिव्य खालीङ, दिपक जंगमदेखि नातीकाजीसँग पनि काम गरें’, राजु भन्छन्, ‘नारायण गोपालजस्तो स्वाभिमानी, मेहनती, मिजासिलो र मुडी कलाकार अर्को देखिन ।’

हुन पनि राजुका अनुसार नारायण गोपाल एउटा गित रेकर्डीङका लागि चार पाँच दिनसम्म रिहर्सल नै गर्थे । रेकर्डिङको दिनमा पनि १२ पटक टेक दिएपछि मात्र सुन्थे । यसरी सुन्दा आफुले गाएको आफैले नबुझेको खण्डमा उनी भन्थे, ‘ह्या आफैले नबुझ्ने झन श्रोतले के बुझ्ला, फेरी रेकर्डीङ गरौं ।’

आफुलाई चित्त बुझेपछि मात्र ‘ओके’ भन्ने नारायण गोपालको शैलीकै कारण उनका हरेक गितमा शब्द उच्चारण स्पष्ट र गायनमा मिठास भरिएको हो ।

‘मुडमा आएपछि मात्र उहाँ गाउनुहुन्थ्यो, मुड आएन भने कसैले हजार पटक आग्रह गरे पनि गाउनुहुन्नथ्यो’, राजु संझन्छन्, ‘कलाकारमा हुनुपर्ने गुण नै यही हो । मुड भएन भने गाउनुको अर्थ छैन, नारायण गोपाल पनि मुडमा मात्र गाउनुहुन्थ्यो ।’

128402773_2719867978328785_4648656150266659569_n

स्वरसम्राटको अर्को विशेषता चाहिँ गीत छनौट पनि हो । एक त उनी जो पायो उही संगीतकारका गित गाउँदैनथे, संगीत पनि उत्कृष्ट नै हुनुपथ्र्यो । कसैले कुनै गित ल्याएर दियो भने उनी सरर शब्द उच्चारण गरेर गलाले छाम्ने कोशीस गर्थे । 

‘गीतका शब्दहरु बोलेर र हार्मोनियमका धुनमा घोलेर हेर्दा मिठो सुनीयो भने मात्र गाउनुहुन्थ्यो, हैन भने शब्दमा दम छैन भने गाउनुहुन्नथ्यो’, राजु भन्छन् । 

रेडियो नेपालमा रेकर्डीङबाहेकको समयमा भेट हुँदा चाहिँ नारायण गोपालले निकै हसाउने गरेको राजु संझन्छन् । आफु कम हाँस्ने, तर केही न केही उटपटयाङ बोलेर अरुलाई हँसाउने । 

तबलाबादक राजुलाई चाहिँ नारायण गोपालले ‘साहुजी’ भनेर बोलाउँथे । यसको कारण के थियो भने राजुका पिताजीको कपडाको व्यवसाय थियो । पिताजी कपडा साहु भएकाले राजुलाई पनि ठट्टाबस ‘ओ साहुजी चिया खाने हैन ?’ भन्दै बोलाउँथे । 

रेडियो नेपालबाट सेवा निवृत्त भइसकेका राजु नारायण गोपालसंगका ति दिन संझना अझै पनि भावुक हुन्छन् । एउटा महान सांगितिक युग अनि महान कलाकारसंग बिताएका एक एक क्षण पुनः ताजा भएर आउँछ । 

‘मेरो लागि त नारायण गोपाल भगवान सरह हुनुहुन्छ, किनकी अहिले तबलाबादनमा मेरो जे जति चर्चा र सम्मान छ, त्यो उहाँकै गितका कारण हो’, राजु भन्छन् । 

प्रतिक्रिया