खै, कसले फर्काउला राजसंस्था !

१. सिद्धान्ततः गणतन्त्र उत्कृष्ट शासन व्यवस्था हो। तर त्यसले माग्ने केही मूल्यहरू छन्, मानदण्ड, मान्यता र विश्वास छन्।

ती मूल्य, मानदण्ड, मान्यता र विश्वासहरूलाई परित्याग गरियो भने गणतन्त्र हाम्रो जस्तो हुन पुग्दछ। हामीलाई थाहा छ, राजसंस्थाको पुनस्र्थापनाको लागि बलियो र भरपर्दो राजनीतिक शक्ति मुलुकमा छैन। नेपालमा प्रभावशाली रहेका वाह्य शक्तिहरू पनि नेपालमा राजसंस्था पुनस्र्थापनाको पक्षमा छैनन।

नेपालका ठूला राजनीतिक दलहरूले चाहेमा पनि वाह्य शक्तिहरूको दवाव र त्रासका कारण उनीहरू राजसंस्थाको पुनर्स्थापनाको पक्षमा जान सक्दैनन्। र राजा र राजाका निकट व्यक्तिहरूमा राजनीतिक र कूटनीतिक दूरदर्शीता र संवेदनशीलताको अभाव पहिल्यैदेखि अनुभव भएको थियो नै र हालै झापाका छिनमा माओवादी, छिनमा एमाले र छिनमा राजावादी देखिने एक विवादित र अराजक व्यक्तिद्वारा आयोजित कार्यक्रममा राजाको उपस्थितिले पनि त्यसलाई सावित गरेको छ।

राजा भनेको त राजा हो नी! त्यसैले राजसंस्थाको पुनस्र्थापना गराउने र त्यसलाई धान्ने  क्षमता मुलुकसँग  देखिन्न।
 
२. यौटा ऐतिहासिक सन्दर्भमा प्रवेश गरौँः वीपीले राजाको र मेरो अर्थात् राजा र प्रजातन्त्रवादी शक्तिहरूको घाँटी जोडिएको छ भनेर भन्दा त्यो राजाको मायाले भनेका थिएनन्। राजालाई खुशी पार्न पनि भनेका थिएनन्।

राजालाई खुशी पार्ने उनको लक्ष भएको भए आठ वर्ष कठोर कारावास र आठ बर्ष अभाव र  पीडाको निर्वाशन जीवन जिउन पर्ने थिएन।

उनको नेतृत्वको काङ्ग्रेसले दुई पटक राजालाई बम र ग्रिनेडले आक्रमण गरेको पनि हो। राजाले पनि उनलाई मृत्युदण्ड  दिन चाहेकै हुन्। नियतिलाई त्यो मञ्जूर भएन! अदालतले मानेन। 

३. २००७ सालपछिको राणा–काङ्ग्रेसवीचको विवाद र असहमति  बढ्यो। एउटा निरङ्कुश व्यवस्थालाई प्रजातान्त्रिक व्यवस्थामा रूपान्तरणका क्रममा  केही अव्यवस्था र अराजकता पनि देखियो। 

रक्षामन्त्री बबर शमशेरको नियन्त्रणमा रहेको सेनाभित्र नयाँ व्यवस्थाले जन्माएको केही असन्तोष र विद्रोह र स्वयम्  गृहमन्त्री वीपीमाथिको आक्रमण आदि कारण अन्ततः काङ्ग्रेसले मोहन शमशेरलाई राजीनामा दिन वाध्य बनायो। 
  
मोहन समशेर हटे। 

प्रजातन्त्रलाई संस्थागत गर्न पनि  चुनाव भएर नयाँ सरकार गठन नहुञ्जेल राणा, काङ्ग्रेस र राजा वीचको शक्ति सन्तुलनको स्थिति आवश्यक थियो। त्यसकोलागि राणा र काङ्ग्रेसवीच समझदारी आवश्यक थियो। त्यो हुन सकेको भए शक्ति सन्तुलनको स्थिति कायम रहन्थ्यो र काङ्ग्रेसपनि सरकारमा रहिरहन्थ्यो।

एक ढङ्गले सत्तामा रहेका वृद्ध र राणा परिवारकै इतिहासमा विलक्षण राजनीतिक र कूटनीतिक योग्यता र क्षमताका युवा पुत्र गुमाएका मोहन शमशेरले एक दुई वर्षमा आफ्नो सम्मानजनक वहिर्गमन खोजेर काङ्ग्रेसलाई छोडिदिन्थे। 
 
आफू हट्न लाग्दा मोहन शमशेरले वीपीलाई भनेका थिए– ‘तपाइँले राजालाई चिन्नुभएको छैन। मलाई हटाए पछि तपाइँपनि सुरक्षित हुनुहुन्न।’ मोहन समशेरले भनेको सो कुरा आफूलाई सही लागेको, राजा र काङ्ग्रेसवीचको द्वन्द्वमा मोहन शमशेरको उपस्थितिले एउटा संतुलकको भूमिका निर्वाह गर्ने कुरा आफूले  बुझेको, तर गणेशमानजीहरूलाई त्यो बुझाउन नसक्दा मोहन शमशेर हट्ने परिस्थिति निर्माण भएको कुरा वीपीले भोला चटर्जीसँगको कुराकानीमा स्वीकार गर्नुभएको छ।

४. स्मरणीय के छ भने मोहन शमशेरलाई हटाउन राजा चाहन्थे, भारत पनि चाहन्थ्यो। मोहन शमशेरको दर्विलो व्यक्तित्व  सामू राजा त्रिभुवन र भारतीय राजदुत कमजोर देखिन्थे। प्रजातन्त्रले अलिकता शक्ति र जनाधार निर्माण नगरुञ्जेल राजा, राणा र काङ्ग्रेसवीच शक्ति सन्तुलनको स्थिति कायम रहनु पर्दछ भन्नेमा आफू विश्वस्त भए पनि वीपीले त्यसमा पार्टीका क्रान्तिकारी साथीहरूलाई आश्वस्त पार्न सक्नुभएन। परिणाम भनिरहन परेन।   

मोहन शमशेर सँगै वीपीहरू पनि सरकार र सत्ताबाट बाहिरिनुभयो। धेरै अनुभव र अभ्यास भए, सुवर्ण समशेर बाहेक राजनीतिमा कुनै त्यस्तो  वर्चस्व, प्रभाव र शक्ति  नभएकाहरूलाई  एक एक गरेर सरकारमा ल्याइयो, प्रधानमन्त्री बनाइयो।

वीपीलाई भने आठ वर्ष कुर्नुपर्यो–त्यो पनि चुनाव पछि मात्रै त्यो पनि १६ महिना मात्रै। त्यस पछिका वर्षौँ लामा कथा व्यथा प्रष्ट छन्।

५. राष्ट्र र प्रजातन्त्रको सुरक्षा र भविष्यलाई  ख्याल गरेर वीपीले राजाको र आफ्नो घाँटी जोडिएको कुरा गर्नुभएको थियो। त्यो मुलुकको रणनीतिक आवश्यकता थियो।
वाह्य हस्तक्षेप, अस्थीरता र अराजकताबाट मुलुकको रक्षागर्ने रणनीति थियो त्यो।

६. इतिहास स्पष्ट छ– राजा र काङ्ग्रेसवीचको समझदारीको अभाव भित्रैबाट राजनीतिक अस्थिरता आयो, माओवादी विद्रोह जन्मियो–जन्माइयो। अन्ततः राजा हटे। 
राजा हटेको अलि समय पछि नै राजा हटाउने कार्यको नेतृत्व गर्ने गिरिजा प्रसादपनि हटाइए। 

राजा हटाउन र प्रचण्डलाई श्रीपेच लगाइदिन गिरिजा प्रसादका दाहिने हात बनेका कृष्ण सिटौलाको राजनीतिले पनि विराम लियो। हुँदा हुँदा काङ्ग्रेस आजको स्थानमा छ।
आफ्नो गढमा एक्लै त छोडौं पाँच–सात दलसँग मिलेर पनि चुनाव जित्न सक्ने अवस्थामा काङ्ग्रेस देखिएन।

आफूलाई गणतन्त्रका मशिहा सम्झिने डा. बाबुरामको पार्टीलाई एक सिट जित्न पनि गठबन्धन चाहिन्छ। एक्लै चुनाव लडेको भए प्रचण्डको हालत के हुन्थ्यो? उनको निषेध र चरम असहिष्णुताको राजनीतिको परिणाम के भयो?  

माधव नेपालहरू ...... ???

७. अरूको कुरा छोडौँ, एक्लै, आफ्नो सङ्गठनको बलमा चुनाव लड्ने हिम्मत गर्ने पुस्ता कहिले काङ्ग्रेसको नेतृत्वमा आउँछ–थाहा छैन। मुलुक कर्मचारीलाई तलव खुवाउन नसक्ने र सेवा निवृत्त  शिक्षक÷कर्मचारीलाई नियमित पेन्सन दिन सक्ने अवस्थामा छैन। यो अवस्थामा मुलुक आइपुग्दा काङ्ग्रेस सरकारमा छ र यस अघि नेतृत्व पनि काङ्ग्रेसकै थियो।

८. पार्टीहरू सिङगो राज्य व्यवस्थाका अङ्ग हुन्। त्यो व्यवस्था भित्र दृश्यमान शक्ति पनि हुन्छन् र अदृश्यमान पनि! अदृश्यमान शक्तिहरूको प्रभाव र भूमिका अझ बढी हुन्छ। ती सवैको संयोगबाट राज्य व्यवस्था चल्छ र पार्टीहरूले पनि त्यहींबाट शक्ति प्राप्त गर्दछन्।

अर्थात, समाज, राष्ट्र  र राज्यको आन्तरिक उर्जा प्रवाहका प्रणाली हुन्छन्, तिनको  जीवनचक्र हुन्छ, तिनले राज्यका औपचारिक संरचनाहरूलाई भर बल र शक्ति प्रदान गरिरहेका हुन्छन्।

अति क्रान्तिकारी उत्साहमा वा वाह्य प्रभावमा त्यस्ता समाज, राष्ट्र  र राज्यको आन्तरिक उर्जा प्रवाहका प्रणाली र जीवन चक्रलाई नष्ट गरियो, निष्प्राण बनाइयो भने मुलुकका औपचारिक संरचनाहरू हाम्रा जस्ता हुन पुग्दछन्। 

देश भनेको हामी हौँ र व्यवस्था भनेको हाम्रो हित, कुण्ठा र आग्रहको परिपूरणको संरचना मान्दा  देश यस्तो हुन्छ।

(राजनीतिक विश्लेषक केशब प्रसाद भट्टराईको यो टिप्पणी उनकै फेसबूकबाट)
 

प्रतिक्रिया