समाचार टिप्पणी

साँच्चै, के हुनलागेको छ देशमा?

काठमाडौं। प्रतिनिधिसभाको बैठक १८ दिन पर सारिएको छ। १७ फागुनको दिउँसो १ बजे बस्ने बैठक नबसी अचानक स्थगित गरिएको हो। अस्पष्ट ‘विशेष कारण’ देखाएर सभामुखको निर्देशनमा संघीय संसदका महासचिव भरतराज गौतमले सूचना टाँसेर बैठक चैत ५ गते आइतबार १ बजे बस्नेगरी स्थगित गरिएको जानकारी दिएका छन्। प्रतिनिधिसभाको बैठक दुइहप्ताभन्दा बढी समय किन स्थगित गर्नुपरेको हो भन्ने कुनै त्यस्तो ठोस कारण उल्लेख गरिएको छैन। 

निर्वाचन राष्ट्रपतिको

प्रतिनिधिसभाको अर्को बैठक बस्नुअघि राष्ट्रपतिको निर्वाचन हुँदैछ। राजनीतिक दलहरु आ–आफ्ना उम्मेदवारका पक्षमा मत माग्न घरदैलोमा व्यस्त छन्। सत्तारुढ दलका उम्मेदवार छन् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल भने भर्खरै सरकारबाट अलग भएको एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ्ग पनि आफ्नो प्रचारमा छन्। 

राष्ट्रपतिको निर्वाचनलाई मुद्दा बनाएर सत्तारुढ गठबन्धनमा विचलन आईसकेको छ। एमाले र राप्रपाले सरकार छाडिसकेका छन् भने नेपाली कांग्रेस, समाजवादी र माओवादी लगायतको समर्थनमा सरकार टिकेको छ। सातदिनपछि हुने राष्ट्रपति पदको निर्वाचन परिणाम कुनै आकस्मिक हलचलले प्रभावित गरेन भने प्रष्टै छ।

विश्वासको मत

यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल भारी जिम्मेवारी बोझले थिचिएका छन्। समर्थन गरेका दलका मन्त्रीले राजीनामा दिएपछि उनीहरुले सम्हालेका सबै मन्त्रालयको जिम्मेवारी दाहालको काँधमा सरेको छ। राजनीतिक नेतृत्व नभएका मन्त्रालयका नियमित कामहरु प्रभावित भएका छन् भने त्यसको परिपूर्ति तत्कालै हुने सम्भावना पनि देखिँदैन। प्रधानमन्त्री दाहालले राष्ट्रपतिको निर्वाचनपछि मात्र विश्वासको मत लिने बताईसकेका छन्। त्यसअघि मन्त्रीपरिषद विस्तारको सम्भावना पनि छैन।

गृह, अर्थ, परराष्ट्र जस्ता निकै महत्वपूर्ण मन्त्रालय नेतृत्वविहीन रहँदा राजकाज सञ्चालनमा पक्कै पनि असर परेको छ। 

अराजकता फैलाउने अभियान

यही समयमा देशभर अराजकता फैलाउने प्रकृतिको अभियान सञ्चालन गरिएको छ। अस्पताल व्यवसायी दुर्गा प्रसाईंलाई अघि सारेर बैंक तथा वित्तिय संस्थाका सञ्चालक र कर्मचारीलाई बलजफ्ती मोसो दल्ने अभियान छेडिएको छ। काँकडभिट्टाको भड्किलो सभापछि ‘राजावादी’ बनेका दुर्गा प्रसाईं अभियानको नेतृत्व गर्दै देश दौडाहामा छन्। पर्सि २० फागुनमा राजधानी काठमाडौंलाई मुख्य केन्द्र बनाएर प्रसाईंको अभियानले कार्यक्रमको घोषणा गरिसकेको छ।

बैंक तथा वित्तिय संस्थाहरुबाट लिएको ऋण भुक्तानी नगर्ने र त्यसको बदलामा ती संस्थाका सञ्चालक र कर्मचारीलाई बलजफ्ती मोसो दल्ने भनेर मेची किनारको काँकडभिट्टामा आयोजित (पूर्व राजा ज्ञानेन्द्र शाहको सपरिवार उपस्थितिमा) सभामा गरिएको घोषणालाई प्रसाईंले देशव्यापी अभियान बनाएका छन्। यसले असन्तुष्ट मानिसहरुको जमातलाई रोमाञ्चित बनाएको देखिन्छ भने आर्थिक क्षेत्र आतंकित भएको छ।

केही समयअघि काठमाडौंको बालाजुमा दिउँसै भएको लुटपाटको घटनाबाट भयभित व्यवसायी प्रसाईंको अभियानबाट त्रशित देखिन्छन्। कतै यो अभियानले अनियन्त्रित अराजकताको रुप त लिने होइन भनेर निजी क्षेत्र निकै आत्तिएको देखिन्छ। बालाजु लुटपाट घटनामा सुरक्षा निकाय उदासिन बनेको देखेर धेरैलाई अराजकताको चिन्ता परेको देखिन्छ। 

सार्वजनिक रुपमै मोसो दल्ने ऐलान गरेका दुर्गा प्रसाईंलाई सरकारले सामान्य सोधपुछ सम्म पनि नगरेको देखेर व्यावसायिक समुदाय आश्चर्यचकित भएको बुझिन्छ। कहिले माओवादी, कहिले एमाले र अहिले ‘राजावादी’ भएका दुर्गा प्रसाईंलाई ‘अभियानका नाईके’ का रुपमा प्रचार गर्ने अभियान पनि चलेको देखिन्छ। 

अलमलमा राजनीति

प्रधानमन्त्री दाहाल भारी जिम्मेवारीले थिचिएका छन् भने मुख्य दलहरु राष्ट्रपतिको निर्वाचन लक्षित कसरतमा व्यस्त छन्। यही मौकामा समाजमा तनाव बढाउने किसिमका गतिविधि चर्काउन सरकार र दलहरुसँग असन्तुष्ट मानिसको क्रियाशीलता बढेको देखिन्छ। यस्तो अवस्थामा कुनै अप्रिय परिस्थिति उत्पन्न भैहाल्यो भने त्यसको मुख्य जिम्मेवारी प्रधानमन्त्री दाहालकै टाउका रहने छ। गृह मन्त्रालय समेत उनैसँग रहेकाले शान्ति सुरक्षाको प्रवन्धको दायित्व पनि दाहालकै हो। सरकारको असफलतालाई आफ्नो सफलता देखाउन चाहने प्रवृत्ति चलमलाएको प्रष्टै छ। यस्तो अवस्थामा सरकारलाई मात्र जिम्मेवार नबनाएर प्रमुख दलहरुले तत्काल देखिएका चुनौतिको सामना र व्यवस्थापन गर्न ठोस तयारी गर्नुपर्ने देखिन्छ।

अलमलमा राप्रपा

सरकारमा पसेर बिटुलिएको राप्रपा आफ्ना एजेन्डा खोसिएको अवस्थामा छ। हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डा भजाएर उल्लेख्य संख्यामा प्रतिनिधिसभामा प्रवेश गरेको राप्रपासँग त्यस्तो गतिलो एजेन्डा देखिँदैन। दुर्गा प्रसाईंले राप्रपाको एजेन्डा आफ्नो हातमा लिएको चर्चा भैरहेको छ। काँकडभिट्टाको सभामा पूर्व पञ्च नेता केशरबहादुर बिष्टले पूर्व राजाकै सम्मुख राप्रपाको खोइरो खनेर एउटा सन्देश दिईसकेका थिए। यही कारण पनि राप्रपा विलखवन्दमा परेको हुनसक्छ।

त्यसैगरी आँधी तूफान झैं राष्ट्रिय राजनीतिमा उदाएर सत्ताको शिखरमै पुगेका रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी समेत मुर्झाएको अवस्थामा देखिन्छ। उसँग पनि हिजोका लोकप्रिय नारा बाँकी छैनन्, जसले जनतालाई रोमाञ्चित तुल्याओस्। मधेशवादी दलहरु जसोतसो सत्ताको न्यानोबाट अलग्गिन चाहँदैनन् भन्ने पटक पटक पुष्टि भैसकेकै कुरा हो। यी सबै राजनीतिक शक्तिहरु देशको वर्तमान समाचारबाट निकै टाढा बेखर जस्ता देखिन्छन्।

यस्तो अवस्थामा प्रधानमन्त्री दाहाल आकस्मिक परिस्थितिको झड्काले लर्खराउने जोखिमलाई नकार्न सकिँदैन। खासगरी वर्तमान संविधान, राजनीतिक पध्दति र राजकाजको शैलीसँग तिव्र असन्तोष राख्ने पक्षहरुले रुचाईरहेको दुर्गा प्रसाईंको अभियान तत्कालको चुनौति जस्तो देखिएको छ। सरकार र दलहरु यसप्रति गम्भीर भएको देखिँदैन। 

यही समयमा चल्दाचल्दैको प्रतिनिधिसभाको बैठक विशेष कारण भन्दै अचानक स्थगित गरिएको छ। House Of Rep

 
 

प्रतिक्रिया