ललिता निवास जग्गाको लुकाईएको तथ्य यस्तो छ- (एक)

काठमाडौं। चर्चित ललिता निवासभित्रको जग्गा विवादबारे विभिन्न तर्कहरु चलिरहेका बेला एउटा फरक किसिमको तथ्यांक सहितको सूचना दृश्य टिभीलाई प्राप्त भएको छ। अदालतमा बिचाराधीन बिषयमा छुट्टै समिति बनाएर सरकारले गराएको अनुसन्धानमाथि अनेकतिरबाट प्रश्नहरु उठिरहेका बेला आएको यो नयाँ विवरणले ललिता निवास जग्गा विवादबारे यथार्थ बुझ्न सहयोग पुग्ने समाचार सूत्रले दावी गरेको छ। 

उपत्यकाको जग्गाबारे गहिरो अध्ययन गरेका दुईजना विज्ञले नाम उल्लेख नगर्ने सर्तमा ललिता निवास जग्गा विवादबारे भएका ऐतिहासिक निर्णय, सरकारी निकायका कामकारबाहीको निस्सा र जग्गाको सिलसिलावध्द विवरण उपलव्ध गराएको छ।

ललिता निवास भित्रको जग्गा सम्बन्धी तथ्यगत व्यहोरा यस्तो छ–

- साविकमा ललिता निवास क्याम्पभित्र विर्ता र गुठी दुवै तर्फको क्षेत्रफल २६१–५–३–२ रोपनी जग्गाको लगत कायम भएको, 

- सो जग्गाको नापजाँचबाट क्षेत्रफल २८७–५–२–२.५ रोपनी कायम गरी मिति १९८८/१०/२५ मा तत्कालीन श्री ३ भीम शंशेरका नाममा लालमोहर जारी, सो जग्गाको स्वामित्व निजको नाममा कायम भएको,

- लालमोहरको अध्ययन गर्दा ललिता निवासभित्र विर्ता र गुठी तर्फको जग्गा रहे भएको देखिएको,

- सो जग्गामा आफ्नो हक हुन आएपछि विर्ता तर्फको जग्गालाई रैकरमा परिणत गरी जम्मा क्षेत्रफलमध्ये ५६–१३–२–२.५ रोपनी जग्गा सुवर्ण शंशेरले आफूलाई राखी श्रीमती श्वेत प्रभा देवीलाई ५८–०–०–० रोपनी, छोराहरु कनक शंशेर, कांचन  शंशेर र रुक्म शंशेर प्रत्येकलाई ५७–८–०–० रोपनीका दरले जम्मा २३०–८–०–० रोपनी जग्गा तत्कालीन काठमाडौं रजिष्ट्रेशन अड्डाको र.नं. १४५७ मिति २०१७/३/३१ को लिखतबाट हालैदेखिको बकसपत्र गरिदिएको, 

- सो लिखत बमोजिम जग्गाको लगत व्यक्ति वा अंशियार पिच्छे हुँदा छुट्टाछुट्टै कायम हुनुपर्नेमा सो अनुसार कसैको पनि लगत कायम नभएको र लिखत बमोजिम सुवर्ण शंशेर र कांचन  शंशेरको भागमा ११४–५–२–२.५ रोपनी जग्गा परेको देखिएको, 

- सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आ–आफ्नो निवासमा आई बसोबास गर्न सुवर्ण शंशेर र कांचन शंशेर समेतको नाममा विशेष परिस्थिति नियन्त्रण ऐन, २०१७ को दफा ३ को उपदफा (१) र (२) को अधिकार प्रयोग गरी तत्कालीन गृह मन्त्रालयबाट मिति २०१८/११/१९ र मिति २०१८/१२/१० को नेपाल गजेट, भाग–३ मा प्रकाशित सूचना अनुसार तत्कालीन श्री ५ को सरकारबाट आदेश जारी भएको, 

- सूचना बमोजिम आफ्नो जिल्लाको घरद्वारमा आई बसोबास नगरेको कारणले सुवर्ण शंशेर र कांचन शंशेर समेतका व्यक्तिको नाममा नेपाल अधिराज्यभित्र रहेको सम्पत्ति विशेष परिस्थिति नियन्त्रण ऐन, २०१७ को दफा ४ को उपदफा (१) बमोजिम जफत गर्नका लागि सबै वडाहाकिम र मेजिष्ट्रेटहरुलाई तत्कालीन श्री ५ को सरकारको निर्णय अनुसार र गृह मन्त्रालयको मिति २०१८/१२/१९ समेतको पत्रबाट पत्राचार भएको, 

- कसैको सम्पत्ति जफत गर्ने कार्य भएपछि अचल सम्पत्तिको हकमा के कुन जग्गामध्येबाट के कति जग्गा जफत भएको हो भन्ने स्पष्ट हुने गरी व्यक्तिको नाममा रहेको त्यस्तो जग्गाको लगत कट्टा गरी नेपाल सरकारको नाममा लगत कायम गर्नुपर्नेमा सो अनुसार लगत कायम नभएकोबाट लगत बमोजिम जफत भए वा नभएको विषयमा यकिन गर्न सकिने अवस्था नरहेको तर मिति २०२१/८/१७ को नेपाल गजेट, भाग–३ मा प्रकाशित गृह मन्त्रालयको सूचना बमोजिम सो मितिभन्दा अगावै नै सुवर्ण शंशेर र कांचन शंशेरको भागको जग्गामा नेपाल सरकार लागि सकेको भन्ने स्पष्ट भएको,

- सुवर्ण शंशेर र कांचन शंशेरको भागको जग्गा जफत भै सकेको अवस्थामा जफत भै बाँकी रहेको १७३–०–०–० रोपनी जग्गाको मात्र सुवर्ण शंशेर र कांचन शंशेरका हकदारको नाममा रैकर र गुठी तर्फको छुट्टाछुट्टै लगत कायम हुनुपर्नेमा ललिता निवास क्याम्पभित्रको बाँकी जग्गाको मिति २०२१/३/३० मा हाँडीगाउँ मौजा हा.नं.४५६ को लगत सुवर्ण शंशेर र कांचन शंशेरको हकदारहरु श्वेत प्रभा, कनक शंशेर, रुक्म शंशेर, शैलजा, हेमन र हटिक शंशेर राणाको नाममा कायम गर्दा गलत क्षेत्रफल २७२–१५–२–२.५ रोपनी उल्लेख गरी लगत कायम भएको र गुठी तर्फको जग्गाको लगत कायम नभएको, 

- यसपछि ललिता निवास क्याम्पभित्रको जग्गामध्ये सुवर्ण शंशेर र कांचन शंशेरको भागको घरजग्गा जफत भै बाँकी रहेको जग्गाको अधिग्रहणका लागि मिति २०२१/८/१७ को नेपाल गजेट, भाग–३ मा प्रकाशित सूचनाको सूचना नं. ६ “ललिता निवास का.ई.वालुवाटार पूर्व भाटभटेनीबाट महाराजगंज जाने सडक, पश्चिम ध्रुव शंशेर समेतको जग्गा, उत्तर गोरेटो बाटो, दक्षिण गैरीधाराबाट आउने मूल सडक यति चारकिल्ला भित्रको माल तिरोको जग्गा रोपनी २९९–९–३–० मध्ये सुवर्ण शंशेर, कांचन  शंशेरको भागको घर र जग्गा रोपनी १४–११–०–० श्री ५ को सरकार लागि सकेकोले सो कट्टा गरी बाँकी रोपनी २८४–१४–३–० (दुई सय चौरासी रोपनी चौध आना तीन पैसा र सो जग्गामा रहेको सबै घरहरु भवन क्षतिपूर्ति दिने गरी जग्गा प्राप्ति ऐन, २०१८ बमोजिम अधिग्रहणको लागि सूचना प्रकाशित भएको, 

- मिति १९८८/१०/२५ को लालमोहर र मिति २०१७/३/३१ को हालैदेखिको बकसपत्रको लिखतबाट ललिता निवास क्याम्पभित्र जम्मा २८७–५–२–२.५ रोपनी जग्गामात्र भएको भन्ने स्पष्ट भैरहेको अवस्थामा उक्त अधिग्रहण सम्बन्धी मिति २०२१/०८/१७ को सूचनामा जग्गा रोपनी २९९–९–३–० भनी लगत क्षेत्रफल उल्लेख भएको, 

- क्षेत्रफल २८७–५–२–२.५ रोपनी जग्गाको अंश हक लाग्ने हकदारहरु सुवर्ण शंशेर, कनक शंशेर, कांचन शंशेर र रुक्म शंशेर ५ जना भै त्यसमध्ये सुवर्ण शंशेर र कांचन शंशेर २ जनाको भागको घरजग्गा जफत गर्दा क्षेत्रफल १४–११–०–० रोपनी जग्गा मात्र कदापि हुन नसक्ने गणितीय तथ्य र अधिग्रहण सम्बन्धी सूचनामा उल्लिखित “सुवर्ण शंशेर र कांचन शंशेरको भागको घर र जग्गा श्री ५ को सरकार लागि सकेको” भन्ने वाक्यांश उल्लेख भएका अवस्थाले जफत भएको जग्गाको क्षेत्रफल सो अधिग्रहण सम्बन्धी सूचनामा उल्लेख गर्दा ११४–५–२–२.५ रोपनी उल्लेख हुनु पर्नेमा सोको सट्टामा १४–११–०–० रोपनी भनी गलत क्षेत्रफल उल्लेख भएको, 

- ललिता निवास क्याम्पभित्रको जग्गाको मौजुदा अवस्थामा समेत सो जग्गाको दक्षिण तर्फको साँधमा गैरीधाराबाट आउने मूलसडकको अतिरिक्त व्यक्ति विशेषको जग्गा समेत रहे भएको अवस्थामा उक्त मिति २०२१/८/१७ को सूचनामा दक्षिण तर्फको साँधमा गैरीधाराबाट आउने मूलसडक मात्र उल्लेख भएकोले सो गैरीधाराबाट आउने मूलसडक भन्दा पश्चिम तर्फ रहेको ललिता निवास क्याम्पभित्रको जग्गा सो सूचना बमोजिम अधिग्रहणमा परेको नदेखिएको,

- उक्त लालमोहर बमोजिम ललिता निवास क्याम्प भित्र रैकर जग्गाको अतिरिक्त गुठी जग्गा समेत रहे भएको देखिएको र सो अधिग्रहण सम्बन्धी सूचनामा “माल तिरोको जग्गा” भन्ने वाक्यांश उल्लेख भएकोले सो क्याम्पभित्रको जग्गामध्ये गुठी जग्गा समेत अधिग्रहणमा परेको नदेखिएको, 

- नेपाल सरकारको कुनै निकायको लागि व्यक्ति विशेषको जग्गाको अधिग्रहण सम्बन्धी सूचना प्रकाशित भएपछि सो अधिग्रहण गरिने जग्गामा व्यक्तिको हक पुगेको प्रमाण सहित व्यक्तिले मुआब्जाको दाबी गर्नुपर्ने हुन्छ। अधिग्रहण गर्ने निकायमा व्यक्तिको हक पुगेको प्रमाण पेश भएपछि सो प्रमाण कार्यालयको स्रेस्तासँग भिडाउँदा भिडेमा प्रमाण बमोजिमको जग्गाको क्षतिपूर्ति (मुआब्जा) सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइन्छ र त्यस्तो जग्गाको व्यक्तिको नाममा रहेको लगत कट्टा गरी जुन निकायको लागि अधिग्रहण गरिएको हो, सो निकायको नाममा लगत कायम गर्नको लागि सम्बन्धित कार्यालयमा लेखिपठाउनु पर्ने र त्यसरी लेखिआएपछि सम्बन्धित कार्यालयले पनि लेखिआए बमोजिम त्यस्तो लगतको दाखिल खारेज गर्नुपर्ने हुन्छ। तर प्रस्तुत ललिता निवास क्याम्पभित्रको हा.नं.४५६ को लगत भित्रको जग्गामध्ये ६० रोपनी जग्गाको मात्र व्यक्तिको नाममा रहेको लगत खारेज भै नेपाल राष्ट्र बैंकको नाममा दाखिला भएको, 

- नेपाल राष्ट्र बैंकको नाममा दाखिला भै बाँकी लेखिएको २१२–१५–२–२ रोपनी जग्गाको हकमा लगतमा समरजंग कम्पनीको रेखदेखमा रहेको जग्गाको २०२२ सालको पोत र जग्गाको लगत कट्टा भो, जग्गा समरजंग कम्पनीको रेखदेखमा रहेको छ भनी मिति २०२५/२/७ मा व्यहोरा जनिएको, 

- ललिता निवास क्याम्पभित्रको जग्गा २०२३ सालमा नापनक्सा (सर्भे) हुँदा सो निवासभित्रको जग्गामध्ये ३४–१३–२–० रोपनी जग्गा प्रधानमन्त्री निवासको नाममा, १४–१०–०–० रोपनी जग्गा प्रधानन्यायाधीश निवासको नाममा, १–१–१–० रोपनी जग्गा अतिथि निवासको नाममा, ९–९–०–० रोपनी जग्गा सभामुख निवासको नाममा र ६०–०–०–० रोपनी जग्गा नेपाल राष्ट्र बैंकको नाममा नापनक्सा भै जम्मा १२०–१–३–० रोपनी जग्गा नेपाल सरकारका विभिन्न निकायको नाममा भवन तथा कम्पाउण्डवाल निर्माण भै सम्बन्धित निकायको भोगमा रहेको,  

- ललिता निवास क्याम्प भित्रकै जग्गाबाट कनक शंशेरलाई ८–०–०–० रोपनी, पपिता देवीलाई १–०–०–० रोपनी, दामोदर प्रसाद उपाध्यायलाई १–०–०–० रोपनी र कुमार बस्नेतलाई २–७–२–० जग्गा समेत जम्मा १२–७–२–० रोपनी जग्गा बिक्री वितरण गरी बागमती अञ्चलाधीशको कार्यालय मार्फत छुट्याई दिएको छ। तर कनक शंशेरलाई बिक्री गरेको जग्गाको विषयमा लगतमा कुनै व्यहोरा उल्लेख नभएको, 

- समरजंग कम्पनीमा रहेको ललिता निवासको बाली आयस्ता सम्बन्धी विवरण बमोजिम ललिता निवास भित्रको १२९–१३–३–० रोपनी जग्गा मात्र समरजंग कम्पनीको रेखदेखमा रहेको देखिएको,

- लेखिए बमोजिम ललिता निवास क्याम्पभित्रको नेपाल सरकारबाट जफत भएको जफती जग्गा र मिति २०२१/८/१७ को सूचना बमोजिम अधिग्रहणमा परेको अधिग्रहणवाला दुवै अवस्थाको जग्गा रहे भएकोमा त्यसमध्ये केही जग्गामा नेपाल सरकारको विभिन्न निकायको लागि भवन तथा कम्पाउण्डवाल निर्माण गरी नेपाल सरकारको भोगमा रहेको, खेती गर्ने प्रयोजनको लागि व्यक्ति विशेषको जग्गा सरकारले अधिग्रहण नगर्ने वा गर्न नमिल्ने हुँदा सुवर्ण शंशेर र कांचन शंशेरको नामबाट जफत भएको जग्गा नै समरजंग कम्पनीको रेखदेखमा रहेको भन्ने स्पष्ट भएको, 

- उक्त हाँडीगाउँ मौजा हा.नं. ४५६ को लगतमा समरजंग कम्पनीको रेखदेखमा रहेको भनी उल्लेख भएको क्षेत्रफल सम्बन्धी विवरण “२१२–१५–२–२ रोपनी” समेत गलत भएको देखिएको र सो लगतमा समरजंग कम्पनीको रेखदेखमा रहेको जग्गा के कारणले रेखदेखमा राखिएको भन्ने विषयमा स्पष्ट नगरिएको, 

- मिति २०२१/८/१७ को नेपाल गजेटमा प्रकाशित अधिग्रहण सम्बन्धी सूचनामा प्रारम्भिक सूचना भएको र यस्तो प्रारम्भिक सूचनामा लेखिएको क्षेत्रफललाई कार्यालयमा रहेको अभिलेखबाट समर्थन हुन नसकेको अवस्थामा कसैको हक स्थापित हुन नसक्ने हुँदा त्यस्तो सूचनामा उल्लेख भएको विवरणलाई प्रामाणिक एवं आधिकारिक मान्न मिल्ने नदेखिएको भनी प्राप्त विवरणमा उल्लेख गरिएको छ।

(यस सम्बन्धी थप विवरणहरु क्रमश प्रकाशन हुने छ– सं)

यो पनि पढ्नोस्-

ललिता निवास जग्गा विवादमा किन बोलेनन् माधव नेपाल र गच्छदार?

प्रतिक्रिया