सम्झना

नेपाली फोटो पत्रकारिता र डा. रुदिगर क्लाउज

-दिपक तोलाङ्गे

Deepakसन् २०१५ नेपालमा महाभूकम्प गएको थियो । सोही वर्ष भूकम्प पीडितहरुको सहयोगार्थ बर्लिन स्थित फोटो प्रदर्शनीको आयोजना गरेको थिएँ । नेपाली राजदुतावासका तत्कालीन कायममुकायम राजदूत प्रकाश पौडेलले दुतावास मार्फत आर्थिक सहयोग गरेका थिए । प्रदर्शनीमा धेरै नेपाली तथा बिदेशी पाहुनाहरुको उपस्थितिमा डा रुदिगर क्लाउज र एन्जेलिका सुल्ज पनि थिए । फोटोग्राफरहरु चन्द्रशेखर कार्की, ऐशु माथेमा र म सहित तीन मध्ये पहिलो दुई फोटोग्राफरहरुसँग रुदिगरको चिनजान रहेछ । दूर देशका परिचित साथीहरुको फोटोहरू देखेर रुदिगर खुशी भए, अनि असजिलो मान्दै मलाई सोधे, ‘वर्षौं देखि नेपालमा धेरै फोटो पत्रकारहरुलाई प्रशिक्षण दिँदै आएको छु तर तिमीलाई कहिले भेटेको याद छैन ।’ डा रुदिगर क्लाउजको बारे धेरै सुनेको थिएँ तर उनि र एन्जेलिकासँग मेरो पहिलो भेट त्यही थियो । कार्यक्रममा आमन्त्रित थुप्रै पाहुनाहरु मध्ये रुदिगरसँग निकटता महसुस हुन्थ्यो । तत्पश्चात हाम्रो भेटघाट बाक्लो हुँदै गयो । 

रुदिगरसँगका हर भेटमा नेपाली फोटो पत्रकारिता बिषयक कुराकानी हुन्थ्यो । नेपाली युवामा फोटो कथाको चाख बढ्दै गएकोले सो सबन्धी सामग्री तयार गर्न मलाई हाते पुस्तक लेख्न अनुरोध गरे । करिबन तीन महिना लगाएर मैले हाते पुस्तक तयार पारें जसमा २०१६ सम्म छापिएका मेरा फोटो कथाहरु पनि समावेश छन् ।

स्नातक अध्ययन अन्तर्गत इटाभट्टामा काम गर्ने बच्चाहरु सम्बन्धित मेरो थेसिस फिल्म 'डस्ट' हेर्न डा. रुदिगर र एन्जेलिका मुभीमेन्टो सिनेमा घर आएका थिए । आफ्नो फिल्म बारे के कस्तो प्रतिक्रिया आउने हुन् र थेसिस पर्यवेक्षक प्रोफेसर डा. फ्रोमि्मङले कति अंक दिने हुन् भनेर म ज्यादै नर्भस थिएँ । रुदिगरले मेरो पखुरामा हात राखेर थम्थम्याउँदै घत लाग्दो कुरा गरे । जर्मनी मान्यता अनुसार बच्चा अनि जनावर उपर गरेको कुनै पनि काम प्रशंसनीय हुन्छ, उच्च मुल्याङ्कन हुन्छ, ढुक्क बस । एकाएक म निर्धक्क भएँ । फिल्म पछि प्रश्न—उत्तर गर्दै गर्दा रुदिगरले मेरो राम्रो फोटो खिचेका रहेछन् ।

 रुदिगर पहिलो पटक सन् २००६ मा नेपाल आएका थिए । उनको यहाँ प्रकृति र हिमाल प्रती मोह बसेको थियो । नेपालीका लचिला स्वभावहरु निकै तारिफ गर्थे । भए पनि ठीक नभए पनि ठीक नेपालीका बानी देखेर आश्चर्य मान्थे । जर्मनीमा चिसो हावा चल्ने तर नेपालमा जाडो महिनामा पनि घाम लाग्ने हुँदा यहाँ बस्ने नेपालीहरु भाग्यमानी भएको उनी ठान्थे । बिकासको सहि अबधारणा लागू गर्ने हो भने नेपालको कायाँपलट हुन सक्ने उनको बुझाई थियो । वास्तवमा रुदिगरका लागि नेपाल जर्मनी पछिको दोश्रो घर थियो ।

रुदिगरले एकपटक उनको संस्था आई. आई. जे. बी. घुम्न बोलाए । त्यो विशाल अनि भव्य संस्था– भवन देखेर म छक्क परें । फोटो पत्रकारिताका किताब र उपकारणले भरिभराउ उनको अफिसमा विश्व भरिबाट प्राप्त स्नेह सद्भावका चिनाहरुको ठुलै चाङ्ग थियो । नेपाली कोशेलिहरु विशेष सझाईएका थिए । अफिससँगै जोडिएको दकि्षण मोडा घाँसे मैदान बहुत सुन्दर देखिन्थ्यो ।

सन् १९६३ मा आई. आई. जे. बी. संस्था स्थापना भएको हो । दक्षिण मुलुकका पत्रकारहरुलाई सहयोग, तालिम र प्रशिक्षण दिनु मुख्य उद्देश्य थियो । तदनुसार दक्षिण अमेरिका, अफ्रिका र एसियाका धेरै पत्रकारहरु जर्मनी गएर पत्रकारिताका विभिन्न क्षेत्रहरु छापा, रेडियो, टिभी र फोटोग्राफी तालिम प्राप्त गरे । सन् १९८० दशक टेलेभिजन एक्सपर्टको हैशिएतमा रुदिगरले आई. आई. जे. बी. मा काम सुरु गरे र सन् १९९१ मा चेयरम्यान नियुक्ती पाए । उनको कार्यकालमा धेरै भन्दा धेरै पत्रकारहरुको शिप बिकासका लागि संस्थाका कर्मचारीहरु स्वयं विभिन्न देशहरू गएर प्रशिक्षण सुरु गरे । आफुले जानेका कुरा अरुलाई पनि सिकाउन भन्ने मनसायले प्रायः देशहरुमा अलुमनाई गठन गरिए । नेपालमा आइ. ए. ए. एन. स्थापना भयो । 

बिभिन्न कारण सन् २०१७ मा आई. आई. जे. बी. संस्था बन्द भयो । सन् १९६४ देखी २०१७ सम्मका कागजात सरकारी अभिलेखालयमा बुझाए । अनि त्यो रहर लाग्दो चौर सहितको विशाल तथा सुन्दर संस्था–भवन चिनिया ब्यापारिलाई बेचियो । रुदिगर सेवानिवृत्त भए । 

संस्थागत कार्यक्रम तथा प्रशिक्षणमा पूर्णविराम लागे पनि नेपाल र नेपाली फोटोपत्रकारिता प्रति रुदिगरको चासोमा कहिले पूर्णविराम लागेन । सन् २०१९मा रुदिगर र चन्द्रशेखर कार्कीले धुलिखेलमा काभ्रेका पत्रकारहरुका लागि एक दिने फोटो पत्रकारिता तालिम दिए । मधुसुधन गुरागाईंले उक्त कार्यक्रम संयोजन गरेका थिए । 

पछिल्लो पटक सन् २०२२ मा म जर्मनी गएको थिएँ । रुदिगरसँग तीन पटक भेटमा व्यक्तिगत कुरा कानी भयो । श्रीमती र छोरीले छोडेर गएको र सम्पर्कमा रहन नचाहेको दुखेसो पोखे । छोरा बेन्जामिनसँग भने राम्रो सम्बन्ध रहेछे, उनी ह्यामबर्गमा हार्ट सर्जन रहेछन् । बेन्जामिनको आग्रहमा रुदिगर आत्मकथा लेख्दै थिए । सन् १९४६ सेप्टेम्बेर २१ ड्रेस्डेन स्याक्सोनिमा जन्मेका रुदिगर जिवनका तिता मिठा स्मृति–शृङ्खला सम्झदै ५४ औं बसन्त अर्थात सन् २००० लेख्दै गरेको मलाई सुनाए । 

दोश्रो भेटमा हामी मुगल ताल गयौं । बात गर्दै जादा रुदिगरका आँखा खुशी भए । प्रसंग थियो ब्रिगिटा, रुदिगरको पूर्व प्रेमिका । उनी रोमान्सका दिन सम्झन लागे । बिहे अघिको प्रेमिका ब्रिगिटासँग रुदिगरको पुनर्मिलन भएछ । एउटै शहर बर्लिनमा छुट्टा–छुट्टै बस्दै आएका यी पुनर्मिलित प्रेम जोडीले सँगै बस्नका लागि एउटा अपार्टमेन्ट खोजेका थिए । हामी मूगल तालको किनारै किनार जंगलमा हिँडिरहेका थियौँ । एक्कासी रुदिगरका आँखा रसाए, बोली मलिन थियो । म निःशब्द रुदिगरका भावना पछ्याइरहेको थिएँ । तालको पानी किनारामा ठोक्किँदा कारुणिक धुन झैँ लाग्दथ्यो । मेरो मन चसक्क बिझे झै भयो । सन् २०२० कोभिड समय ब्रिगिटा क्यान्सरले परलोक भईछन् । एउटै अपार्टमेन्टमा  बाचुन्जेल सँगै बस्ने उनीहरुको चाहना अधुरै रह्यो । रुदिगर विशाल बर्लिनमा फेरि एक्लो भए । 

म नेपाल फर्कनु अघिल्लो दिन एन्जेलिका पनि रुदिगरको अपार्टमेन्टमा आमन्त्रित थिईन् । हामी चिया पिउँदै, चकलेट खादै नेपाली दिन, प्रिय नेपाली साथीहरु सम्झिन थाल्यौं । रुदिगर जितेन्द्र बज्राचार्यको नाम बार–बार लिन्थे । जितेन्द्र रुदिगरका विशेष चेला थिए । प्रशिक्षण चलाउँदा जितेन्द्रको सहयोग उनलाई अपरिहार्य हुन्थ्यो । जितेन्द्र रुदिगरलाई गुरु अनि अभिभावक मान्छन् । रुदिगरका अर्का विशेष चेला सिद्धार्थ शाक्य ज्यादै नम्र स्वभाव र मनकारी रहेको सुनाए । एक पटक टोनी हेगेनले हस्ताक्षर सहित पुस्तक मिनरत्न बज्राचार्यलाई उपहार दिएका रहेछन् । रुदिगर त्यो पुस्तक खोजी रहेको मिनरत्नले थाहा पाएर आफु सँग भएको टोनी हगेनको उक्त पुस्तक रुदिगरलाई दिएछन् । पुस्तक देखाउँदै रुदिगर मिनरत्नको उदार हृदय सम्झिए ।

रुदिगरका अर्का विशेष साथी चन्द्र शेखर कार्की हुन् । एक पटक ठाउँ को ठाउँ बिना पैसा माउन्टेन फ्लाईट मिलाई दिएका रहेछन् कार्कीले रुदिगरलाई । त्यो सम्झेर अझै चकित थिए रुदिगर । छोरा बेन्जामिनसँग नेपाल आउदा कार्कीसँग नगरकोटमा ब्ल्याक लेबेल किस्सा, अनि बिहानिको पहिलो पहरमा पेर्फेक्ट फोटो खिचेको दिन सम्झन लागे । रुदिगर नेपाल आउँदा प्रायः बस्ने गरेको पुल्चोकको हिमालय आपार्टमेन्ट होटल र भक्तपुर दतात्रेयमा रहेको मयूर विन्डो शपका साथीहरुलाई सोधेको सुनाई दिन भने ।

 निकट भविष्यमा नेपालमा फोटो पत्रकारिता तालिमबारे हामीले एउटा खाका तयार पार्यौं र पुलकित त्यो क्षण बिटमार्दै, छिट्टै नेपालमा भेट्ने बाचा गर्दै एन्जेलिका र म त्यहाँबाट बिदा भयौं । 

नोभेम्बेर ९, २०२२ मा बर्लिनबाट सन्देश आयो । एन्जेलिका द्वारा लिखित त्यो सन्देशको शिर्षक ‘स्याड न्यूज फ्रम बर्लिन’ सामान्य थिएन । दुई हप्ता अघि रुदिगरको त्यो उज्यालो मुखार मेरो सामु झल्किन लाग्यो । ८ नोभेम्बेर रेल दुर्घटनामा परी रुदिगर सदाका लागि अलप भएछन् ।

रुदिगर फोटोग्राफीका प्राविधिक नर्ड थिए । उनी मेरो लागि गुरु–गार्डिअन अनि म उनको चेलो–साथी । उनी मलाई फोटो पत्रकारिताका पुस्तकहरु अभ्यस्त गराउँथे । म उनलाई बृतचित्रहरु बारे सुनाउँथे । हामी बिच शुद्ध नाता फोटो पत्रकारिता थियो ।

नेपालमा फोटो पत्रकारिताको गुणस्तर उत्थान गर्न, फोटो पत्रकारहरु लाई अब्बल बनाउन रुदिगर हर्दम लागि परेका थिए । उनले वास्तवमै तिर्न नसक्ने गुन लगाएका छन्– नेपाली फोटो पत्रकारिता उत्थान र बिकासका लागि । नेपाली फोटो पत्रकारहरुको व्यावसायिक प्रस्तुतीले नै रुदिगरको सही अर्थमा सम्मान हुनेछ ।

प्रतिक्रिया