पर्दाभित्रको राजनीति

सत्ता पल्टिने सम्भावनाः किन बदलियो दाहाल र ओलीको बडिल्याङ्वेज?

काठमाडौं। सत्ता गठबन्धनका सूत्रधार केपी शर्मा ओली र सत्ता प्रमुख पुष्पकमल दाहालको मुखमण्डलको रंग बदलिएको छ र त्यसको स्थानमा नयाँ रंगले घर गर्न थालेको देखिएको छ। शीतल निवासको सिंहाशनमा कसलाई विराजमान गराउने भन्ने चरम लालशा नै ओली र दाहालको मुहारमा रंग बदल्न कारण बनेको छ।

यसमा यी दुइ नेतालाई चर्को प्रतिष्पर्धामा उतार्न भूमिका निर्वाह गरिरहेका छन् नयाँ नेपाली नागरिक रबि लामिछाने। तावाबाट भुंग्रोमा खसेका लामिछाने नागरिकताको वैधता पाए लगत्तै उपसहितको गृह मन्त्री ‘खान’ बालकोट र बालुवाटारको सय मिटर दौडमा पसिना काडिरहेका छन्। बूढानिलकण्ठ दरबार लामिछानेलाई ग्लूकोज पानी पिलाई रहेको छ।

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहाल अमिलो मुख लाएर एकअर्कालाई छड्के नजरले चियाउँदै सत्ताको शक्ति वितरणमा वार्ता गरिरहेका छन्। आज पनि उनीहरु उस्तै भावभंगिमामा वार्तामा बसेका थिए। राष्ट्रपतिको निर्वाचन सम्पन्न नहुँदाका दिनसम्म यस्तै दृश्य दोहोरिईरहने सम्भावना देखिन्छ। 

प्रधानमन्त्री दाहाल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेलाई पुरानै हैसियतमा फर्काउन तयार देखिँदैनन्। सर्बोच्च अदालतको संवैधानिक बेञ्चको फैसला आए लगत्तै लामिछानेको बचाउमा उत्रिएको एमालेले त्यसैबेला प्रधानमन्त्री दाहाललाई झस्काएको हो। दाहाललाई विश्वासको मत दिएको नेपाली कांग्रेसले समेत लामिछानेको सत्ता पुनर्वहालीको विपक्षमा दाहाललाई सल्लाह दिएपछि एमाले झन् तर्सिनपुगेको हो। यही कारण यतिबेला सत्ता गठबन्धनका मुख्य दुइ दल एमाले र माओवादी वीचको सम्बन्ध चिसिँदै गएको छ। 

अहिले दलहरु राष्ट्रपति कसलाई बनाउने र कसले कसलाई समर्थन गर्ने भन्ने हिसाबकिताबमै केन्द्रित देखिन्छन्। दलहरुले आन्तरिक तयारी जे गरेको भएपनि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको सहायताबिना राष्ट्रपतिमा आफ्ना मान्छे चुन्न सक्ने छैनन्। तीन ठूला दलमध्ये कुनै दुइवटामात्र सहकार्य गर्न सहमत हुने प्रवल सम्भावना छ। राष्ट्रपतिको निर्वाचन अघि नै वर्तमान सत्ता गठबन्धनको समीकरण बदलिन सक्ने सम्भावना बढ्दै गएको संकेतहरु देखिन थालेका छन्।

प्रधानमन्त्री दाहालको अपरिभाषित भनाई छ, राष्ट्रिय सहमतिमा राष्ट्रपति चुन्नुपर्छ। तर एमाले भने सरकार बनाउँदा भएको सहमती अनुसार नै राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने अडानमा छ। सरकार गठनपछि सरकारले विश्वासको मत लिनेबेलासम्ममा राजनीतिमा नयाँ घटना विकास भएको र सहमतीय राजनीतिका लागि प्रधानमन्त्रीले अग्रसरता लिनुपर्ने अवस्था आएको बुझाईमा माओवादी छ।

अहिलेको मतभारअनुसार राष्ट्रपति निर्वाचनमा माओवादी निर्णायक रहेकाले आफ्नो प्रस्तावले मूर्तरूप लिन सक्ने माओवादी नेताहरुको विश्वास छ। माओवादीको प्रस्तावमा कांग्रेस सकारात्मक देखिन्छ भने एमाले सशंकित छ। उस्तै परे नेपाली कांग्रेस यही मौकामा राष्ट्रपति हत्याउने दाउमा पनि छ। परिस्थिति अनुकूल भैदिएका खण्डमा सभापति शेरबहादुर देउवा नै शीतल निवासमा रजगज गर्न तयार रहेको जानकार सूत्रहरु बताउँछन्।

गत पुस १० मा कांग्रेस नेतृत्वको गठबन्धन छाडेर माओवादी केन्द्रले सरकार निर्माणका लागि एमाले नेतृत्वको गठबन्धनसँग हात मिलाएको थियो। माओवादीसँगको सहयात्रा भंग भएपछि केन्द्रदेखि सातै प्रदेशसम्म कांग्रेस विपक्षी बेञ्चमा धकेलिएको छ। अहिले एमालेसँग सुरु भएको खटपटीलाई चर्काएर फेरि निर्वाचनअघिको गठबन्धन निर्माण गर्न कांग्रेसका रणनीतिकारहरु राजनीतिक डिजाईनमा व्यस्त रहेका बुझिएको छ। कांग्रेसको डिजाईनलाई माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा भएको छलफलले मद्दत गरेको छ। जहाँ राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा सहमति बनेको छ।

राष्ट्रिय सहमति राष्ट्रपति निर्वाचन गर्ने कांग्रेसको माग सार्वजनिक गरेलगत्तै माओवादीको बैठकको मत मिल्न पुगेपछि सत्ताका सूत्रधार ओलीको रक्तचाप बढेको छ। दाहाललाई विश्वासको मत दिएकै दिन प्रतिनिधिसभामा ओलीले कांग्रेसलाई माछा लोभ्याउन ढडिया नथाप्न व्यंगात्मक सल्लाह दिएका थिए। नभन्दै सरकार बनेको महिनादिन पुग्दैगर्दा ओलीको आशंका पुष्टि हुने लक्षण देखिएको छ।

प्रधानमन्त्री दाहाल आफ्नो नियन्त्रणभन्दा बाहिर गैसकेको आभाष पाएपछि एमाले अध्यक्ष ओलीले दाहालसँगको वार्ता सघन बनाउँदै लगेका छन्।

दाहालको त्राशको कारण

प्रधानमन्त्री दाहाल सत्ताको वरिपरी एमालेकै नेताहरुको उपस्थिति देखेर तर्सिएका छन्। सभामुख, राष्ट्रिय सभाको अध्यक्ष देखि रक्षा, अर्थ र परराष्ट्र मन्त्री जस्ता महत्वपूर्ण पदहरुमा एमालेका नेता छन्। गृहमा फर्किन जोडबल गरिरहेका लामिछाने पनि ओलीकै आशिर्वादमा कल्पनै नगरेको पदमा पुगेका थिए। अब राष्ट्रपति पनि एमालेकै नेतालाई बनाउनु परेमा त्यसपछि आफू पूर्णरुपले ओलीको नियन्त्रणमा पर्ने खतरा देखेपछि दाहालले राष्ट्रिय सहमतिको कार्ड फालेका हुन्।

राष्ट्रिय सहमतिमा राष्ट्रपतिको उम्मेदवार चयन गर्ने प्रधानमन्त्री दाहालको भनाई र त्यसमा नेपाली कांग्रेसको मौन समर्थनले वर्तमान सत्ता समीकरणमा चाँडै नै फेरबदल हुने सम्भावना बढाएको देखिन्छ। निर्वाचनसम्मका सहयात्री दलहरु फेरि मिल्ने सम्भावना बढ्दै गएकाले एमाले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेलाई काँध हाल्न वाध्य बनेको हो भन्नेमा कुनै अस्पष्टता छैन। राप्रपालाई समेत आफैंसँग राख्न प्रयाशरत एमालेले राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउन गरिरहेको कसरत कति सफल हुन्छ, त्यसमै निर्भर देखिन्छ नयाँ राजनीतिक समीकरणको भविष्य। ओली र दाहालको बडिल्याङ्वेजले भने उनीहरु भारी मनले वार्तामा बसिरहेका छन् भन्ने बुझ्न प्रष्ट सन्देश प्रवाह गरिरहेको छ।
 

 

प्रतिक्रिया