आत्महत्या प्रवाह नियन्त्रणमा ध्यान दिने कसले?

इलामका प्रेम आचार्यले बानेश्वरको संसद भवन अगाडि आत्महाद मार्फत गरेको आत्महत्याको प्रयासमा उनी सख्त घाइते भई तत्पश्चात उपचारको क्रममा अस्पतालमा मृत्यु भइसकेपछि अहिले देश नै तरङ्गित बनेकोछ। यो वेलामा हुने आम आक्रोश एक अस्वाभाविक घटनाप्रतिको स्वाभाविक मानव प्रतिकृया भएपनि यो प्रतिकृयाको संप्रेषणमा प्रयोग गरिने भाषा, संकेत र अन्य श्रव्यदृश्य सामग्रीहरुले अन्य मानिसहरुको मनस्थिति र व्यवहारमा पार्नसक्ने प्रभावले थप दुश्परिणाम निम्त्याउन सक्छ। आचार्यले आत्महत्याको कारणको रुपमा औंल्याएका तत्वहरुप्रति अभिव्यक्त आक्रोशलाई थप सनसनीपूर्ण बनाउँदै सामाजिक सञ्जाल र अन्य मिडिया मार्फत गरिने समाचार सम्प्रेषणले लगभग स्वर्गीय आचार्यकै जस्तो जीवन परिस्थितिबाट गुज्रिरहेका मानिसहरुलाई पार्ने प्रभाव अझ गहिरो र व्यापक हुन्छ। यो घटना सम्प्रेषण शैलीको कुप्रभावका केही संकेतहरु देखा पर्दैछन् भन्ने अनुमान गर्नु सायद त्यति नाजायज नहोला।  
 
एकाध केसहरुमा वाहेक आत्महत्या प्रयासका प्रत्यक्षदर्शीहरु बहुत थोरै हुन्छन् या त हुँदैहुँदैनन्। आत्महत्याको घटनाका बारेमा धेरै मानिसहरुले थाहा पाउने अरुको रिपोर्ट या कथनबाट नै हो। अहिले त यो कथनलाई अरु समक्ष जस्ताकोतस्तै पुर्याउने श्रब्यदृश्य माध्यमहरु प्रशस्त छन्। यी माध्यमहरुबाट घटनाको वारेमा वताउँदा प्रयोग हुने भाषा, संकेत र दृष्टिकोणले तत अनुरुपको प्रभाव श्रोता या दर्शकमा छोड्ने हुनाले आत्महत्याको प्रयास विधिको बिस्तृत व्याख्या गर्ने, बढाइचडाइ गर्ने तथा आत्महत्यालाई कुनै पनि तवरले महिमामण्डन गर्ने र गौरवशाली तुल्याउने किसिमका अभिव्यक्तिलाई सम्प्रेषण गर्नु हुँदैन किनकी मानिसहरुमा अरुको नक्कल या अनुकरण गरेर सिक्ने प्रवृत्ति हुनेहुनाले यसरी सकारात्मक रुपमा अर्थ्याईएका कुराहरु सिक्ने र अपनाउने सम्भावना उच्च रहन्छ।

सम्प्रेषणले आत्महत्या प्रवाहिकरणलाई उकास्छ भन्ने कुराको एउटा इतिहास सन् १७१७ को यूरोपमा नै भेटिन्छ। यो वर्ष जोहान वोल्फग्याङ गोथेको “जवान वेरदरको पीडा” नामक एक उपन्यास प्रकाशित भयो। उक्त उपन्यासमा युवायुवती वीचको विषादपूर्ण र शारीरिक आशक्तिमय प्रेम कहानी आत्महत्यामा गएर दुःखद अन्त्य भएको कथानक थियो। उपन्यासको प्रकाशन पछि कैयन युरोपियन देशहरुमा युवायुवतीहरुको आत्महत्याको दर वढेकोले नेपाल सरकारले पेट्रोलियम पदार्थमा नियन्त्रण गर्न खोजै जस्तै किताव प्रकाशन र पठनमाथि प्रतिबन्ध नै लागेको थियो। त्यसपछि भएका कैयन वैज्ञानिक अध्ययन अनुसन्धानहरुले देखाए अनुसार कुनै ख्यातीप्राप्त व्यक्तिको या राष्ट्रिय रुपमा चर्चित बन्न पुगेका आत्महत्या घटनाहरु घटेको केही समयसम्म र घटना घटेका नजिकका क्षेत्रहरुमा यस्ता आत्महत्याको अनुकरण हुने उच्च सम्भावना रहने हुनाले यस्ता कुराहरुका वारेमा लेख्दा वोल्दा या अन्य सामग्री प्रसार गर्दा सम्वेदशील र सावधान हुनुपर्ने हुन्छ।   

त्यसरी नै आत्महत्यावाट मृत्यु भएको लाशको अन्तिम संस्कार, मलामीको लर्को, सम्मान, झण्डा ओडाउने या झुकाउने कृयाकलाप तथा मूर्ती या प्रतिमा स्थापना जस्ता कुराहरुको रिपोर्टिङले पनि आत्महत्या उन्मुख व्यवहारलाई दुष्प्रेरित गर्न सक्छ। यस्ता समाचारबाट जोखिममा रहेका व्यक्तिहरु त्यसमा पनि विशेष गरी युवायुवती दुष्प्रेरित हुनसक्ने सम्भावना चर्को हुन्छ। त्यसरी नै समस्यासँग जुध्ने या उम्कने बाटो आत्महत्या हो भन्ने आशयको समाचार सम्प्रेषण पनि तनावको भुमरीमा दपेटिइरहेको व्यक्तिकोलागि दुष्प्रेरणाको गतिलो खुराक बन्न सक्दछ।

नेपालमा केहीदिन अघिको भएको प्रेम आचार्यको आत्महत्याको रिपोर्टिङमा एकाध राष्ट्रिय स्तरका मिडिया सचेत देखिए पनि अधिकांश मिडियाको समाचार सम्प्रेषण शैली अत्यन्त सनसनीपूर्ण देखिन्छ। यी मिडियाहरुलाई “आत्महत्या रिपोर्टिङ सम्बन्धी मिडिया गाइडलाइन” ले कतै पनि छोएको देखिँदैन। त्यसमाथि  अझ फेसबुक, यूटुब, ट्वीटर, इन्स्टाग्राम, भाइवर, ह्वाट्स अप लगायतका सामाजिक सञ्जालहरुमा आत्महत्या प्रयासको दृश्य, त्यसपछि आत्महत्यालाई क्रान्ति, शाहदत, बलिदान भनेर दिएका अभिव्यक्तिहरु वेलगाम प्रशारित भइरहेका छन्।  राष्ट्रिय स्तरका मिडिया भन्दा सामाजिक सञ्जालका उपभोक्ताको संख्या अत्यन्त ठूलो रहने हुनाले यिनको वेलगाम सम्प्रेषण शैलीबाट हुने परिणाम प्रति को जिम्मेवार हुने? नेपालका मिडिया तथा सामाजिक सञ्जाललाई आत्महत्या जस्ता सम्वेदनशील सवालहरुका सम्बन्धमा सम्प्रेषण गर्दा पालन गर्नुपर्ने गाइडलाइनको परिपालना गराउने कुरा आत्महत्याका साधन नियन्त्रण भन्दा महत्वपूर्ण होइन र?
(लेखक काठमाडौं विश्वविद्यालका लेक्चरर तथा विद्यार्थी मनोविमर्शकर्ता हुन्।) 

प्रतिक्रिया