सभामुखमा एमालेका देवराजले मनोनय दर्ता गरे

काठमाडौं। सभामुख पदमा सत्तारुढ दलहरुका साझा उम्मेदवार नेकपा एमालेका देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन्। घिमिरेले बुधबार संसद् सचिवालयमा प्रतिनिधिसभाको सभामुखका लागि मनोनयन दर्ता गराएका हुन्। प्रतिनिधिसभाका पूर्व सभामुख रहीसकेका सुवासचन्द्र नेम्वाङ उनको प्रस्तावक छन् भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपा सभापति रवि लामिछानेले समर्थन गरेका छन्।

झापाको २ नम्वर निर्वाचन क्षेत्रबाट निर्वाचित भएर पहिलोपटक प्रतिनिधिसभा सदस्य बनेका घिमिरे ०५६ मा राष्ट्रिय सभा सदस्य थिए। अहिले उनी एमालेको स्थायी कमिटी सदस्य छन्।

सभामुख पदमा एमाले र उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने सत्ता साझेदार दलहरूको सहमति रहेको छ । एमालेमा सभामुखका लागि पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, छविलाल विश्वकर्मा र विद्या भट्टराई चर्चामा थिए ।

सभामुख पदको बिहीबार हुने निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन गर्ने संघीय संसद् सचिवालयको कार्यतालिका छ।

 को हुन् घिमिरे?

विसं २०१३ मा ताप्लेजुङमा जन्मिएका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रियसभा सांसद थिए। उनी प्रतिनिधिसभा सदस्यमा झापा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए। उनले विद्यार्थी सङ्गठनबाट राजनीति शुरु गरेका थिए। उनी विसं २०४९ मा एमालेको केन्द्रीय सदस्य थिए। घिमिरेले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गरेका थिए। हाल उनी एमालेको स्थायी समिति सदस्य छन्। 

आज अपराह्न १ देखि ४ बजेसम्म सङ्घीय संसद् भवनमा प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने कार्यतालिका छ। निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता अनुसारको सूची आजै अपराह्न ४ः१५ बजे  प्रकाशित गरिने छ। 

प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही माघ ५ गते  बिहान ११ बजे हुँदैछ। उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ। त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ। प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले माघ ५ गते सभामुखको निर्वाचन गर्न आज निर्वाचन तालिका प्रकाशित गर्न निर्देशन दिएको थियो।
 
सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने सवैधानिक व्यवस्था छ। सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्नेछ। नेपाली जनताको सर्वभौमसत्ता सम्पन्न सर्वोच्च थलोका रुपमा प्रतिनिधिसभा रहिआएको छ।


 

 

प्रतिक्रिया