बाणेश्वर गाइ गोठको कथा

राजनीति जब स्वाँठहरूको कित्तामा पुग्छ, निर्णायक बज्रस्वाँठहरू हुन्छन्। बाउको नामाकरण गर्न तम्सने तमासेहरूको भिड राज्यको चारै किल्लामा हालिमुहाली गरेर बस्या छ। 

मङ्गलवार पुरानो गाइगोठमा वस्तुहरूको लर्काे लागेको देखेर गोठालो पनि छक्क परेर गीत गाउन थाल्यो “पल्लो गाउँको ठिमा वल्लो गाउँमा पस्यो, बालीनाली मासेर, हुन्न हुन्न भन्थे काईंलाबाले हिजो तारे गोरू नासेर।” 

एकादेशमा बाणेश्वर नाउँको गाउँ थ्यो। त्यो गाउँको बीचमा ठूलो चौर थ्यो। चौरमा वरिपरि गाईवस्तु चराउने गोठालाहरू गुच्चा खेल्न जम्मा हुन्थे। कान पड्काइ र गोलिगाँठो सेक्ने बाजि चल्थ्यो। तारबारले वरिपरि घेरेपनि ठाउँ ठाउँमा मान्छे छिर्न सक्ने बाटो हुन्थ्यो। भकारो गनाएर बसिसक्नु हुन्नथ्यो। गाइगोठको हेरचाह गर्न खटाइएका मान्छे सिपाही हुन्थे भनेर काईंलाबाले भनिसक्याथे। सेनाका तालुकदारहरूलाई दहि दुध ख्वाउन सेनाले गाई पाल्या रे उतिबेला। हो, त्यै गाइगोठाँ संसद भवन बनाको रे चइनाले काईंलाबाले भन्या। 

हिजोको गाइगोठ आजको संसद, गोठमा पाल्ने बस्तु र ती बस्तुका गतिविधि अनि आजको संसदीय गतिविधिमा फरक छुट्याउ भनेर नगिचैको रत्नराज्य स्कूलका माडसावले विद्यार्थीलाई प्रश्न गर्न थाले छन्।

सेनाले गाइगोठ बनाएको वरिपरीका अर्याल र खरेल कानेखुसी गर्दैथे। सेनाले उतिबेला यो ठाउँको वास्तु हेराएरै गोठ राख्या रछन्। उत्तर चइनाले आधुनिक बिल्डिङ बनाइद्यो। दक्षिण भारतका गोठाला घाँस हाल्न तम्सिहाले। असिग्रामबाट झिकाको उन्नत जातको साँढे र गौशालातिर उघ्राउँदै गरेका थारो गाइले गोठाँ उत्पात गरेछन्। त्यै भर वरिपरिका रैथाने वस्तुहरू दाम्लो चुँडालेर टाट्नामा घाँस खान दौडेछन्। वस्तुहरूको उत्पात देखेर रमिते बनेका लैना बाछाबाछी खुट्टा उफार्दै टाट्नातिर सिंगौरी खेल्न पुगेछन्। सिंगौरी खेल्दा खेल्दै तारूकाको गोरूजुदाइमा सिङ फुक्ल्या झैं सिङ ठुटो भको उत्ताउला बाछाबाछीले पत्तै पाएनछन्।

ज्या तेति राम्रो पाडो सिंगौरी खेल्दा घाइते भएछ, दक्षिण केरलका ग्वालाले दुखेसो गरेछन्, गोठालो गतिलो नभएसि हुने यस्तै हो। गोठ सार्नुपर्छ अब यो पुरानो पनि भयो अनि वस्तुभाउ पनि फेर्न पर्छ। 

दाना ख्वाएर आको दूध के स्वाद हुन्थ्यो र तेसैले पो सेनाले गोठ छाडेको रछ त बल्ल पो था पाउँदै छन् रैथानेहरू। गौचरनमा सिरूघाँस काट्न जान्थिन् काँइलीआँ। बिचरी थला परिछन्। वोकाको खुट्टीको रस चम्चिले खुवाँउदै काँइलाबा दुखेसो गर्दैथे। बाबू सबै उमेर रछ उमेराँ त हाम्ले नि दन्तमन्जन खाकै हो। यै गोरेकी आमालाई हेर न घाँस जाँदा कम्ता छिल्लेका गीत गाउँथि र यो। यस्का गीत सुन्न छाउनी देखुन्का सिपाही आँउथे। सत्बिउँ छर्ने रात पश्पतिको जंगलाँ ज्वारी खेलेर छर्लङ्ङ पार्थी, यी आज चम्चिले रस ख्वाउनु पर्याछ, कालबेला एउटै काँ हुन्छ र बाबू हो। 

काँइलाबाले काँइली आमाको मुन्टो काखमा अड्याएर खुइअ सुस्केरा हाले। यो सप्पै विधिको विधान हो बाबु हो, छैठीमा जे जे लेख्या छ त्यै हुने हो। चिच्याएर छट्पटाएर हुने केही होइन। उतिबेलाका राणासाबका नाती हो कि पनाति हो चइनाले बनाको भब्य गोठको टाट्नाँ मयलपोस सुरालाँ ठाँट्टीएर कुन्नी के उर्दी लाउँदेथेरे आज। गोरे पनि पुग्या रछ त्याँ बेलिविस्तार लाउँदैथ्यो। काम छैन मोराको यसो धुम्बाराहीतिर, बालकोटतिर जानू। केथा मौकामा चौका परिहाल्थ्यो कि, कैले काहीँ त लाटा खुट्टो बाटाँ पर्छ भन्छन् नि।

लौ जेठो नि आइपुग्यो, कताट बाटो बिराइस् ए जेठा आज हँ?  बाले काँइलीआँको खबर बुजेर आ भनी पठाउनु भाको काँइलाबा। अनि हाम्रो गाउँको अत्तरे छनि हो उस्को छोरो मुन्तरी भको छ रे। हामी तल्लो स्कूलाँ चारकक्षाँ सँगै पढ्या होनि। खोइ अब चिन्छकि चिन्दैन। मोरो यतिसम्म लुच्चोथ्योकि ठूलीआमा मरेर आज भोक्कै स्कुल आको भनेर हाम्रो खाजा सप्पै खाइदिन्थ्यो। स्कुलबाट घर फर्किंदा ठूलीआँ घाँसको भारी बोकेर आउँथिन्। हामी त छक्क पर्थाैं। कति दिन बस्छस् त? काँइलाबाले सोधिहाले के भन्नू के भन्नूभो माघे संग्रान्तिलाई फर्कन्छु भनेर पन्छें।

आमाले पठाको कोसेली घिउको सिङमाङ र दहिको ठेकी दलानमा राखेर जेठो हिँड्यो साथी भेट्न सिंहदरवारतिर। झमक्क परिसक्दा नि जेठो नफर्केसि काँइलाबा चिन्ता गर्दैथे जेठो टुप्लुक्क आइपुग्यो। रिसले मुर्मुरिंदै जेठो कराउन थाल्यो, काँइलाबा म त भोलि नै फर्कन्छु। किन केभो र जेठा? हेर्नुस् त काँइलाबा त्यो छुसि अत्तरेको छोरोले मलाई चिन्दैन रे। चार चार घण्टा लाइन बसेर बल्ल बल्ल पालो आयो त्यै पनि चिन्दिन भनेर फर्कायो। हेत्तेरी कस्तो कुजात बस्ने ठाउँ रछ त्यो ज्यानजाला जान्न अब त्याँ। अब था पाइस् यो शहरका मान्छेको आनिबानी काँइलाबाले सान्त्वना दिंदै जेठालाई सम्झाउँदै भन्नुभो गोठाँ बस्नेको बुद्दी चोटाँ बसेर थाहुन्न बा। ल हातमुख धो भान्सा गर्ने बेलाभो।

यो कथा सुन्नेलाई सुनको माला, भन्ने लाई फूलको माला बाणेश्वर गोठको कथा बैकुण्ठ जाला!
 

प्रतिक्रिया