कांग्रेसमा किन हो करुण क्रन्दन?

भित्रभित्रै बनिरहेको तर पुस १० मा मात्र प्रकटमा आएको राजनीतिक समीकरणले नेपाली कांग्रेस प्रतिपक्षमा हुत्तिन पुग्यो। प्रतिपक्षमा बस्नुपर्ने जनादेश पाएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी –लेनिनवादी) सत्ताधारी तर सत्ताको नेतृत्व गर्न हकदार भएकोमा प्रफुल्ल दल प्रतिपक्ष बन्न पुग्यो। वास्तवमा कांग्रेसले काखी च्यापेर चुनाव जिताएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोट बार्दलीमा प्रकट हुन पुगेकाले यस्तो अवस्था आएको हो। त्यस्तो नभइदिएको भए सम्भवतः शेरबहादुर देउवा पुस १० मै कि भने त्यसको २ अथवा ३ दिनपछि छैठौं पटक प्रधानमन्त्री बन्थे। 

त्यस्तो भएन त्यसैले त्यसको भोलि-पर्सिपल्टै पाँचपटक प्रधानमन्त्री भइआएका शेरबहादुर देउवा पुनः पूर्व भएर बालुवाटारबाट (बुढानिलकण्ठ निजी आवासको नवीकरण भइरहेकाले) धुम्रवाराहीको कुनै घरमा सरेका छन्। उनको पूर्व र वर्तमान हुने क्रम चलिरहने हुनाले यो अन्तिम पटकको पूर्व हो वा पाँचौं पूर्व अहिले नै ज्योतिषीले जस्तै प्वाक्क भनिहाल्नु उचित हुँदैन, होइन। 

सत्ताबाहिर हुत्तिनु परेकोले कतिपय कांग्रेसी पानी बिनाको माछोझैं छट्पटाइरहेका छन्। देउवालाई पनि, त्यसपछि, सार्वजनिक माध्यममा खासै कसैले देखेका छैनन्।

नयाँ समीकरणमा दुई कम्युनिस्ट डल्लै,  कम्युनिस्ट प्रशंसक र राष्ट्रवादी भनिने राजावादी दल र पात्रहरु एकजुट भएर कांग्रेसलाई सत्ताबाट बाहेक गरिदिएका हुन्। यसकारण सत्ताभोगी कांग्रेसीहरुमा घोर निराशा छाएको हो। यतिखेर उनीहरु टोलाएर बालकोटतिर हेरी बसेका छन्। किनभने उनीहरु पनि ओली र दाहालले जस्तै हूल जम्मा गरेर सत्तासिन हुन चाहन्थे। तर, उनीहरुलाई ओली–दाहालले उछिने त्यसैले रुवाबासी चलिरहेको छ र अपेक्षा छ यस्तो अझै अरु केही दिन चल्ने छ (चलोस् पनि किनभने आँशु जति झर्छ पीडा त्यति नै कम हुन्छ)। 

साथसाथै उनीहरुले कामना गर्नेछन्, प्रार्थना गर्ने छन्, भाकल गर्नेछन्, ओली र दाहाल फेरि फाटुन्, फुटुन र देउवालाई पुनः प्रधानमन्त्री निवास फर्किने मार्ग प्रशस्त होस्। 

कांग्रेसको देउवा पक्ष अझै सार्वजनिक रुपमा उठ्न बोल्न सकिरहेको छैन। शेखर कोइराला–गगन थापा पक्ष सबै गुमेको अभिव्यक्ति दिइरहेको छ। कोइराला र थापा दुबै गुम्न हुन्नथ्यो, गुम्यो, बर्बाद भयो भनेर सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्। यसबाट आफूलाई कांग्रेसको भावी नेतृत्व बताउने पात्रहरुको दशा–दिशा प्रस्ट हुन्छ। किनभने साँच्चै भन्ने हो भने दाहालले कांग्रेस छोडेर एमाले अपनाउनु शेखर–गगनका लागि अप्रत्यक्ष कृपादान (ब्लेसिङ इन डिस्गाइज) हो। 

तर शेखर–गगन यो कृपादान ग्रहण गर्न सकिरहेका छैनन्। फलस्वरुप, बिचरा साधारण कांग्रेसी कार्यकर्ताहरु इन्तु नचिन्तु छन्। नेता भनाउँदाको ओठमुख सुकेको छ, तिनका आगापिछा हतप्रभ छन्। कांग्रेसजनले भरोसा त परै आशा सञ्चार गर्ने पात्रहरु समेत देख्न पाएका छैनन्। 

कांग्रेसीमा व्याप्त शोकको कारण अरु केही होइन यही हो....माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई एमालेका सर्वेसर्वा ओलीले पुनःअंगीकार गर्दै प्रधानमन्त्री पदमा स्थापित गर्नु। जबकि ओलीले दाहाल र दाहालले ओलीलाई अंगीकार गर्नु किमार्थ अस्वाभाविक होइन। एउटा पूर्वको अर्को पश्चिमको भए पनि दुबै कम्युनिस्ट हुन्। दुबै कार्ल मार्क्सका वंशज र भ्लादिमिर लेनिन, जोसेफ स्टालिनका सन्तति हुन्। पोलपोट र चाउचेस्कुका अनुयायी हुन्। त्यसैले उनीहरु कुनै पनि बेला मिल्नु स्वाभाविक हो। 

वास्तवमा दाहाल र ओलीबीच व्यक्तिगत स्वार्थ बाझ्दा उनीहरु फाटेका थिए।

ओली र दाहाल फाटेका कारण दाहाल–देउवा समीकरण बनेको थियो। अहिले देउवा–दाहाल समीकरण टुट्यो। ओली–दाहाल समीकरण अन्तर्गत दाहाल प्रधानमन्त्री बने। कम्युनिस्टहरु मिल्दा केको आश्चर्य! यो अत्यन्त स्वाभाविक हो। भएको यत्ति नै हो। एउटा कम्युनिस्ट अर्को कम्युनिस्टका बाहुपाशमा गयो, यसमा दुःखी हुनुपर्ने कुनै कारणै छैन र थिएन। 

देउवा र दाहालको जुडाव सैद्धान्तिक हुने सवालै उत्पन्न हुँदैन, होइन, थिएन। उनीहरुबीच सिद्धान्तसम्मत गठबन्धन भएको थिएन। त्यो त नितान्त स्वार्थको गठबन्धन थियो। दाहाल ओलीसँगको भाइचारा नै लत्याएर देउवासँग गएका थिए। देउवाले प्रधानमन्त्री दिए बस्ने, अन्यथा देउवासँग नबस्ने भन्ने संकेत उनले बारम्बार दिएकै हुन्, त्यसैले अहिले भाइचारा सम्झेर, देउवालाई छोडेर ओलीकहाँ जाँदा कुन ठूलो आश्चर्यको कुरा हो र, रुवावासी भइरहेको भन्ने सवालको एउटै जवाफ हो, स्वार्थ व्यवस्थापनमा माहिर मानिएका देउवाले सकेनन्। उनको तुष्टीकरणको क्षमता क्षीण भयो, उनी समयानुसारै बुढा भए। 

बुढो हुनु समयको खेल हो। यसमा उनको कुनै दोष छैन। उनी उमेरले बुढा भएका हुन्, आफैं जानी जानी बुढा भएका होइनन्। उमेर छँदा देउवाको घ्राणशक्ति तीब्र थियो तर यसपालि उमेरले जवाफ दिएकाले उनले ओली निवास बालकोट, भक्तपुर र दाहाल निवास खुमलटार, ललितपुरमा पाक्दै गरेका खीर र खिचडीको गन्ध थाहा पाउन सकेनन्। थाहा नपाउनु उनको गल्ती होइन, सामथ्र्यमा आएको कमी हो। समयद्वारा नियोजित हो। 

साँच्चैचाहिं चुनावपूर्व नै बालकोट र खुमलटारबीच गोप्य बोलचाल त भइ नै रहेको थियो, रात्रिकालीन मार्ग पनि खुलिसकेको भेउ, देउवाले त पाएनन् नै अत्यन्त चलाख र सक्रिय भनेर चर्चित देउवा पत्नी श्रीमती आरजु राणा देउवाले समेत सुइँकोसम्म पाइनन्। न त उनका राखी भैया (छिमेकी भारतको सत्ताधारी भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेका गुप्तचरहरुले नै मेसो पाए भनेर शहरैभरी चर्चा छ)। चौथाइवालेलाई काठमाडौंका कफी सपहरुमा गफिनेहरु आरजुका राखी भैया भन्छन्। सुन्नमा के आएको थियो भने कुनै एक वर्षको रक्षा बन्धनमा चौथाइवालेले आरजुको निमन्त्रणमा दिल्लीबाट काठमाडौं आएर उनीबाट आफ्नो हातमा रक्षासूत्र धारण गरेका थिए। 

हल्ला चलाउनेहरु त केसम्म भन्दैछन् भने ल भइ गयो, देउवाले त बुढा भएकाले त्यति ध्यान दिन सकेन छन्, प्रधानमन्त्री निवासै नजिक अवस्थित लाल सलाम कम्पाउण्ड (महान् जनवादी चीन) ले सबै भ्याइसक्दा पनि आरजुका विश्वासपात्रहरुले के खेल भइरहेको छ भनेर थाहा नपाउनुचाहिं अचम्म हो। हल्ला त कतिसम्म चल्यो भने लौ आरजुले सकिनछिन्, लैनचौरको  इण्डिया हाउस र महाराजगंजको विशाल कम्पाउण्डमा अवस्थित अमेरिकी संयन्त्रले समेत भेउ नपाउनु भनेको ठट्टा चुनौती होइन। 

तर यो चर्चा चलाउनेहरुलाई के थाहा छैन भने कस्तो समीकरण बन्ने, बनाउने भन्ने त नेपालका राजनीतिक दलहरुको सीपको कुरा हो; जनवादी चीन, इण्डिया हाउस र अमेरिकी मिसनले निर्णय लिने हो र! उनीहरुले आफ्नो अनुकूलको सरकार बनोस् भन्ने कामना गरे होला तर कुनै एक देशका लागि संवाद सजिलो हुने सरकार बन्यो भन्दैमा फलानो देशको हात छ भन्नु देशभित्रै विद्यमान छली र कपटी राजनीतिक पात्रहरुको सरासर अवमूल्यन हो। 

साच्चैचाहिं यो देउवाको रणनीतिक असफलता हो। उनलाई छल र कपटमा अर्कोले उछिन्यो। वास्तवमा, उहिल्यै देउवाको सूचनाको रणनीति निक्कै सशक्त हुने गथ्र्यो, यसपालि शायद उनको सूचना संयन्त्र नै टुटेको थियो। उनीसित अद्यावधिक सूचनाकै अभाव भएकोमात्र होइन बरु हुनसक्छ उनकै अन्तरंग वृत्तमा ओलीका खुफिया सक्रिय थिए। 

दाहाल प्रधानमन्त्री बन्न लालयित थिए, यत्ति त जगजाहेरै थियो तैपनि देउवाले ठाने प्रधानमन्त्री नबनाए पनि दाहाल ओलीसँग जाँदैनन् र उनलाई आश्वस्त पार्नेले पनि त्यसरी आश्वस्त पारेका हुनुपर्छ। हुन त यसबीच चुनाव परिणाम आएदेखि नै देउवा र ओली निरन्तर सम्पर्क रहेका र दाहाललाई कुनै पनि हालतमा अंगीकार नगर्ने भनेर ओलीले झुक्याए भन्ने कांग्रेसी प्रशस्तै भेटिएका छन्।

निश्चय नै सत्ता–राजनीतिमा साम, दाम, दण्ड, भेद हुन्छ नै। जीवन्त राजनीतिमा चाहिं सिद्धान्तनिष्ठा र सत्ता–राजनीति समानान्तर र सन्तुलित रुपमा चल्नुपर्छ। निष्ठा छोडेर सत्तामात्रै ध्येय हुँदा राजनीति विचलित हुन्छ। देउवा, ओली र प्रचण्ड यी तीनै पात्रको प्राथमिकता सिद्धान्तनिष्ठा होइन, केवल सत्ता हो। त्यसैले यस्तो अवस्था उपस्थित भएको हो। 

हो धोकाधडी, छलकपटलाई प्रशंसा गर्ने हो भने पछिल्लो प्रकरणमा ओली सबैभन्दा प्रशंसनीय देखिएका छन्। विगतमा ओलीलाई धुरु धुरु रुवाउने दाहाल त प्रशंसाका पात्र स्वतः भइ नै हाले। उनी देउवा र देउवाका मतदातालाई छक्याएर चुनाव जित्न त सफल भएकै थिए, देब्रे कोल्टिदै ओलीलाई फकाएर तेस्रो पटक प्रधानमन्त्री पदको शपथ लिन पनि सफल भए। तर यसमा देउवाले दुःख मान्नुपर्ने कुनै कारण छैन किनभने छलककटमा उनले एउटा बाजी हारेका हुन्, पूरा खेल होइन। 

निष्ठाविहीन, सिद्धान्तच्युत राजनीतिमा हुने भनेको यस्तै–यस्तै हो। जसले ठग्न, ढाँट्न सक्छ, उही वीर कहलिन्छ। जस्तोकि अहिले सत्तासिन हुनेहरु वीर कहलिएका छन्। भोलि अर्को छली र कपटी निस्कन्छ र यिनलाई माथ दिन्छ। तर राजनीति सपार्ने इच्छा हुनेहरु यस्ता दृश्य देखेर रुवावासी गर्दैनन्, विचलित नभइ तिनले आगामी निर्वाचनको तयारी गर्छन्। विकृति दोहोरिन नदिने प्रण गर्छन्। प्रबल आत्मबल प्रदर्शन गर्छन्। कांग्रेसमा हाल तर त्यस्ता कोही देखिएनन्, देखिएका छैनन्।  

प्रतिक्रिया