नवाैं बृहत राष्ट्रिय खेलकुद

देशले रोजीरोटीको ग्यारेन्टी गरोस्, नेपालबाट खेल्न तयार छुः दुर्गा बहादुर बुढा

पोखरा। एथलेटिक्सको ‘स्टिपल चेज’ आफैमा गाह्रो विद्या हो। यसमा पनि नेपालमा यस स्पर्धातर्फ स्तरीय खेलाडी भेटाउनु चानचुने कुरा होइन। कर्णालीका दुर्गा बहादुर बुढा यो स्पर्धाका होनहार खेलाडी मात्र होइनन्, सम्भावना पनि बोकेका छन्। 

उनले सोमबार पोखरा रंगशालाको ट्रयाकमा ३ हजार मिटर ‘स्टिपल चेज’ मा १८ वर्ष लामो राजेन्द्र भण्डारीको राष्ट्रिय कीर्तिमान भंग गरे। राजेन्द्रले बनाएको ८ मिनेट ५७ दशमलव ३० सेकेण्डको कीर्तिमानलाई उनले ८ मिनेट ५५ दशमलव १९ सेकेण्डले तोडे। 

तर, उनले स्वर्ण जितेको केही मिनेटभित्रै ३ विभागीय (नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल) र गण्डकी प्रदेश गरी ४ टिमले एकै पल्ट विरोध जनाए। उनीहरूको आपत्ति दुर्गा विदेशी नागरिक भएर होइन, भारतमा बसेर खेलेकोमा विरोध थियो। 

दुर्गा भारतीय आर्मीका जागिरे हुन् र उनले सर्भिसेसबाट भारतको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगिता खेलिसकेका छन्। उनले स्वर्ण जितेकोमा यी ४ वटै टिमका खेलाडी तथा प्रशिक्षकको आपत्ति थियो। 

तर, नवौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको नीति तथा नियममा नेपाली नागरिकताधारी कुनै पनि खेलाडी जिल्ला र क्षेत्रीय प्रतियोगितामा छनोट भएर आउछ भने उसले प्रतियोगितामा सहजै सहभागिता जनाउन पाउने स्पष्ट किटान छ। 

यो आधारमा भारतको राष्ट्रिय टोलीबाट दौडिएको कुरा झिकेर बखेडा गर्नु भनेको उनको जितलाई अन्य टिमका खेलाडी तथा पदाधिकारीले पचाउन नसकेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का विज्ञहरू बताउँछन्। 

‘यो बेकारको लफडा हो। उसले मज्जाले खेल्न पाउँछ,’ एथलेटिक्सका पूर्व मुख्य प्रशिक्षक तथा हाल कर्णाली प्रदेशका खेल विज्ञको रूपमा मनोनित विक्रमजंग थापा भन्छन्, ‘नियमपूर्वक जिल्ला र प्रदेशमा छनोट भएर आएको खेलाडीलाई रोक्ने ताकत कसैको हुँदैन। नियमले पनि त्यही भन्छ।’

दुर्गाले भारतीय टिमको नेतृत्व गर्दै सन् २०१७ मा दक्षिण भारतको भुवनेश्वरमा आयोजना भएको एसियन च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला उनले ‘स्टिपल चेज’ ९ मिनेट ०४ सेकेण्डमा पुरा गरेका थिए र आठौं स्थान ओगट्न सफल भएका थिए। 

जुम्लाका यी खेलाडीले यसपछि भारतबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गरेका छैनन्। उनी नेपालबाट अवसरको खोजीमा छन्। तर, नेपाली खेल पदाधिकारीको रवैया र रोजगारीको समस्याका कारण भारतमा बस्न बाध्य छन्। 

दुर्गाले काठमाडौंमा आयोजना भएको पाँचौं बृहत राष्ट्रिय खेलकुदबाटै राष्ट्रियस्तरको दौड सुरु गरिसकेका थिए। त्यतिबेला कर्णाली अञ्चलबाट प्रतिनिधित्व गरेका दुर्गाले १० हजार मिटर र ५ हजार मिटर दुवै स्पर्धामा कास्य पदक जितेका थिए। 

राष्ट्रिय प्रतियोगितामा तेस्रो भएका कारण सन् २०१० मा बंगलादेशमा आयोजना भएको १२ औं साफ गेम्सको क्लोज क्याम्पमा उनको अनिवार्य छनोट हुनुपर्ने थियो। तर, खेल पदाधिकारीले क्लोज क्याम्पमा बस्न उनलाई खाने कुराको मात्र सुविधा दिने, जुम्लाबाट काठमाडौं आउने–जाने र क्लोज क्याम्पको लामो अवधिको बसोबासको जिम्मा आफैले गर्नुपर्ने जस्ता कुरा उठाएपछि बाध्यताले उनले अन्तर्राष्ट्रिय खेलाडी बन्ने अवसर गुमाए। 

राजधानी काठमाडौंको जुम्लालाई हेर्ने दृष्टिकोण शासकीय स्वरुपमा मात्र होइन, खेलकुदमा पनि उस्तै देखेपछि उनले साफ गेम्स खेल्ने सपनालाई आफ्नो मनभित्रै मारेका थिए। 

यसपछि उनले गुरु हरि रोकायाको निर्देशनमा अल्ट्रा म्याराथनमा भविस्य खोज्न थाले। सन् २००९ मा आयोजना भएको तेन्जिङ–हिलारी एभरेष्ट म्याराथनमा भाग लिने क्रममा उनको परिचय भारतीय खेलाडीसँग भयो। यतिबेला भारतीय आर्मीका खेलाडीहरू पुनाबाट भाग लिन आएका थिए। रोकायाले आफ्नो चेलाको भविस्यलाई लिएर कुरा गरे। उनीहरूले बनारसमा रहेको ‘फर्स्ट नाइन्थ बटालियन’ को नाम सुझाए। 

भारतीय आर्मीमा बसेर दौडिन पनि पाउने र रोजगारीबापत आकर्षक तलब पनि भन्ने भएपछि उनी नेपाल छोडेर भारत हानिएका थिए। 

‘अहिले यही कुरालाई लिएर बखेडा बनाइएको छ। मैले नजितेको भए कसैलाई मतलब हुदैन्थ्यो,’ दृश्य टिभीलाई अन्तर्वार्ता दिने क्रममा दुर्गा बहादुर बुढाले दुःखेसो पोखे। 

उनी कर्णालीको खेलाडीलाई हेप्ने कारणले गर्दा नै आफूले पलायन रोज्नु परेको बताउँछन्। ‘मलाई अहिले पनि देशको प्रतिनिधित्व गर्ने रहर छ। त्यसैले मैले २०१७ देखि भारतको टिमबाट खेलिरहेको छुइन्। मेरा जुनियर खेलिरहेका छन्,’ उनले भने, ‘त्यो मैले नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न बनाएको सोचको उपज हो।’

दुर्गाले सन् २०१८ मा भारतको राष्ट्रिय कीर्तिमान राखेका थिए। उनले स्टिपल चेज ८ मिनेट ४२ सेकेण्डमा पुरा गरेका थिए।

उनको राष्ट्रिय कीर्तिमान २०२२ मा मुम्बईका अविनाश साब्लेले कमनवेल्थ प्रतियोगितामा भंग गरेका छन्। अहिले राष्ट्रिय कीर्तिमान साब्लेको नाममा छ। साब्लेले ८ मिनेट १२ सेकेण्डमा दौड पुरा गरेका थिए। 

भारतमा बसेर खेल्दा दुर्गाले १५ वटा मेडल जितिसकेका छन्। तर, यति हुँदा पनि उनको मन नेपालमै छ। उनी नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्न चाहन्छन्। तर, खेलसम्बद्ध अधिकारीको रवैयाका कारण सफल हुन सकिरहेका छैनन्। 

अल्ट्रातर्फ भने उनले नेपालको प्रतिनिधित्व गरिसकेका छन्। उनले सन् २०१९ मा पोर्चुगलमा भएको ट्रायल विश्व च्याम्पियनसिपमा म्याराथनमा १७ औं स्थान ओगटेका थिए। यही वर्ष इटालीमा भएको २२ किलोमिटरको डोलोम्याटिक रनमा २८ औं स्थान ओगट्न सफल भए।  

उनले जुम्ला–रारा अल्ट्रा म्याराथन २०७२, ७४ र ७९ गरी तीन पटक जितेका छन्। नेपालगञ्जमा भएको आठौं बृहत राष्ट्रिय खेलकुदको १० हजार मिटरमा उनले स्वर्ण जितेका थिए। पाँच हजार मिटर र म्याराथनमा भने रजत जिते। उनलाई यतिबेला भने नेपालमा आयोजना हुन लागेको १३ औं साफ गेम्सको तयारीका लागि क्लोज क्याम्पमा बोलाइएको थियो। 

तर, नेपाली खेलाडीलाई ४ महिना क्याम्पमा राख्ने भएपछि उनले बाध्यताले नेपालको प्रतिनिधित्व गर्न सकेनन्। ‘पेटको सवाल थियो। भारतीय आर्मीको जागिरेलाई ४ महिना छुट्टि दिँदैन। त्यहाँ छोडेर आउ भने यहाँ जागिर पाइदैन। त्यसैले बाध्य भएर क्याम्पमा नबस्ने निर्णय गरे,’ उनले बताए। 

आठौं बृहत राष्ट्रियपछि उनलाई नेपाल आर्मीले अफर नगरेको होइन। तर, उनले स्विकार्न सकेनन्। कारण थियो, सम्मानको। ‘म भारतीय आर्मीमा सुवेदार पदमा कार्यरत छु। यहाँ सिपाईमा आइज भन्छन्। त्यो कसरी सम्भव छ?’ उनले भने, ‘पैसा भारतीय सेनाको जति नभए पनि खेलाडीको एउटा सम्मान राखिदिएको भए कुरा अर्के हुनसक्थ्यो।’

उनी राज्यले रोजीरोटीको ग्यारेन्टी गरिदिए आफू देशबाट खेल्ने बताउँछन्। ‘देशबाट खेल्ने रहर कसलाई हुँदैन? तर, रोजीरोटीको ग्यारेन्टी त गरिदिनु प्रयो नि,’ उनले भने। गत बैशाखमा बिहे गरेका दुर्गाको उमेर २८ वर्ष छ। उनी नेपालले पत्याएको खण्डमा छनोट भएर ओलम्पिक खेल्ने अठोट राख्छन्। भन्छन्, ‘ममा आत्मविश्वास छ। ७–८ वर्ष अझ राम्रो गर्नसक्छु।’
 
 

प्रतिक्रिया