नवाैं बृहत राष्ट्रिय खेलकुद

‘मर्चरी हाउस’ अगाडि आमाको चित्कार, ‘गोल्ड जित्छु भन्दै थियो’

पोखरा। पहिलो र दोस्रो दिन प्याराग्लाइडिङको क्रसकन्ट्री स्पर्धामा उत्कृष्ट प्रदर्शन गरेपछि काठमाडौंमा रहेकी आमालाई फोन गर्दै भनेका थिए, ‘आमा खेल एकदमै राम्रो भएको छ। यसपालि जसरी पनि गोल्ड जित्छु।’

तर, प्रतियोगिताको तेस्रो दिन आइतबार बिहान ११ः३० बजे जतिबेला उनी ‘टेक अफ’ का लागि तयारी गर्दै थिए, उनले फ्लाइ गरेको प्याराग्लाइड दुई मिनेटमै दुर्घटनाग्रस्त भयो। उडानले १०० मिटरको उचाइ पूरा नगर्दै केसी समूहले साराङकोटमा निर्माण गरिरहेको अपार्टमेन्टमा गएर बजारियो। 

उनी ‘टेक अफ’ का लागि तयार हुँदै गर्दा ‘विन्ड डर्मी’ को भूमिकामा रहेका विभागीय टोली सशस्त्र प्रहरी बलका प्रशिक्षक सुरेन्द्र गुरूङ अनुमानित ४० मिटरको दूरीमा थिए। तर, जसो उनले माथि उड्न लागेको विमान हेरें, त्यो एक्कासी भित्तामा गएर बजारियो। 

र, नेपालले नवौं बृहत राष्ट्रिय खेलकुदको दूर्भाग्यपूर्ण दिनको रूपमा आइतबार होनहार प्याराग्लाइडर निसिम थापालाई गुमायो। २६ वर्षको निसिम नेपालको प्याराग्लाइडिङका प्रतिभाशाली खेलाडी थिए। 

विगत १० वर्षदेखि प्याराग्लाइडिङलाई आफ्नो ‘करिअर’ बनाएर उडान गरिरहेका उनको निधनले खेल क्षेत्रलाई स्तब्ध बनाएको छ। २०३८ सालदेखि सुरू भएको बृहत राष्ट्रिय खेलकुदको ४१ वर्ष लामो इतिहासमा खेल्ने क्रममा ज्यान गुमाएका उनी पहिलो खेलाडी हुन्। 

उनलाई नेपाल आर्मीले नेपालगञ्जमा भएको आठौं बृहत राष्ट्रिय खेलकुददेखि करारमा खेलाउँदै आएको थियो। उनले आठौंमा रजत पदक जितेका थिए। त्यसैले यसपालि स्वर्ण जित्ने अभियानअन्तर्गत दशैंको अवसरमा पनि कतै नगइ अभ्यासमै तल्लिन थिए निसिम। 

नवौं राष्ट्रियमा प्याराग्लाइडिङको महिला तथा पुरूष स्पर्धामा ६ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको थियो। तर, आइतबार घटना भएपछि यो खेल स्थगित गरिएको छ। नवौं राष्ट्रिय मूल आयोजक कमिटीका सचिव फणिन्द्र पौडेलले भने, ‘यो दुःखद् घटनापछि हामीले खेल स्थगित गराएका छौं। बाँकी स्पर्धाको विषयमा बैठक बसेर निर्णय गर्नेछौं।’

निसिमले नेपालबाट प्रतिनिधित्व गर्दै दक्षिण कोरिया, मलेसिया र इन्डोनेसियमा पनि खेलेका थिए। उनले ४ वर्षअघि दक्षिण कोरियाको इन्चोनमा आयोजित एसियाडमा क्रसकन्ट्री स्पर्धामा रजत पदक जितेका थिए। 

यसपालि उनले स्वर्ण जित्न निकै मिहिनेत गरेको एपीएफका प्रशिक्षक सुरेन्द्र गुरूङले दृश्य टिभीलाई बताए। ‘उसले निकै मिहिनेत गरेको थियो। सबै साथीभाइले पनि यसपालि स्वर्ण जित्छ भनिरहेका थिए। पहिलो दुई दिन पनि उसको प्रदर्शन राम्रो भएको थियो,’ उनले भने। 

निसिम कमर्शीयल पाइलट पनि हुन्। उनी आकाशमा उड्न सधै आतुर देखिन्थे। उनको निधन ‘अटोरोटेशन’ मा आएको खराबीका कारण भएको गुरूङ बताउँछन्। तर, यसको सम्पूर्ण जानकारी बाहिर आइसकेको छैन। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले छानबिनको आदेश दिइसकेको छ। 

प्रशिक्षक गुरूङ १०० मिटरभन्दा माथि मात्र उडेको भए कुनै दुर्घटना नहुने बताउँछन्। ‘सय मिटरभन्दा माथि उडेपछि इमर्जेन्सी ल्यान्डिङ गर्न सकिन्छ। तर, उसको उडान सय मिटर माथि थिएन। उडेको २–३ मिनेटमै दुर्घटना भयो,’ उनले भने। रूख भएको ठाउँतर्फ मात्र प्याराग्लाइडिङ पुगेको भए उनको ज्यान जोगिन सक्थ्यो। तर, अपार्टमेन्ट निर्माण भइरहेको ठाउँमा टाउको बजारिन पुग्दा शरिरको एक भागमा गम्भीर क्षति पुगेको थियो। 

दुर्घटनालगत्तै उनलाई सिर्जना चोकस्थित मेट्रोसिटी अस्पताल पुर्‍याइएको थियो। तर, चिकित्सकले उनको निधन भइसकेको घोषणा गरे। 

निसिम साथीहरू माझ सहयोगी व्यक्तिको रूपमा परिचित थिए। मृद्भाषी उनी सोसलोजीमा स्नातकोत्तर गरिरहेका थिए। उनी परिवारको एक्लो छोरा पनि हुन्। गोरखाको पालुङटार मूलघर भएपनि निसिमको बुवा प्रकाश थापा विगत ११ वर्षदेखि पोखरामा विद्यालय सञ्चालन गर्दै आइरहेका छन्। उनी समाजसेवी पनि हुन्। यसपालिको प्रतिनिधि सभा निर्वाचनमा ‘हाम्रो नेपाली पार्टी’ को तर्फबाट उनी गोरखा क्षेत्र नम्बर २ को उम्मेदवार पनि हुन्। उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्ध उम्मेदवारी दिएका छन्। 

छोराको निधन हुँदा आमा काठमाडौंमा थिइन्। उनलाई सेनाको हेलिकोप्टरमार्फत् १ः३० बजे पोखरा ल्याइएको थियो। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उनको पोस्टमोर्टम गर्ने क्रममा आमाले रूदै भनिन्, ‘हिजो राति मात्र फोन गरेर मलाई भनिरहेको थियो, यसपालि गोल्ड जित्छु।’

निसिम पशुपक्षी प्रेमी पनि थिए। उनी बाटोमा कुकुरलाई कसैले हिर्काएको देख्दा गाली गर्थे। ‘सबैलाई प्रेम गर्ने छोरा मैले गुमाए। उसले देश–विदेशमा पुगेर देशको नाम चिनायो,’ उनले रूदै भनिन्। 
 

प्रतिक्रिया