कामरेडी अन्त:करणका दर्दहरू

 

bhagawat khanalनेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले भन्नुभएछ, ‘करोडौँको बिचमा छु, तर एक्लो महसुस हुन थाल्यो ।’  एउटा सामान्य मनुष्यलाई त आफ्नो विगत र वर्तमान सम्झेर कहाली लाग्छ भने उहाँ त ‘महानायक’ । ठूलो वनमा हैकम चलाउँदै आएको एउटा सिंह बुढो भएर लाचार हुँदा ससाना छाउराले पनि खिस्स्याउन थाल्दछन् । कसैले पुच्छर तानेर गिज्याउँछन्, कसैले कान समातेर तान्छन्, कसैले काउकुती लगाइदिन्छन् र कसैले ङिच्च दाँत देखाएर चिढ्याउँछन् । बुढो सिंहमा सौर्यहीन हुङ्कारबाहेक केही पनि बाँकी हुँदैन । त्यही हुङ्कारमा पनि त्यो स्वर लहरी र प्रतिध्वनी हुँदैन, जुन विशाल पहरोमा ठोक्किँदै वनभरि फैलिन्थ्यो । प्रचण्ड हजारौं हतियारधारीलाई नेतृत्व गरेको ‘सुप्रिम कमान्डर’ हो । दिवङ्गत प्रदीप गिरिको शब्दमा - एक समय यस्तो थियो , कामरेड मोहन वैद्य ‘प्रचण्डपथको सौन्दर्यशास्त्र’  लेख्नुहुन्थ्यो । डा बाबुराम भट्टराई ‘प्रचण्डपथका सैद्धान्तिक आधार’ लेख्नुहुन्थ्यो ।

जीवनको कटु यथार्थ हो एक्लोपन ।  केही गौरव, केही पश्चात्ताप, केही उन्माद र केही रोदन । एउटा कालखण्डमा उहाँकै नेतृत्वमा जनधनको दुर्दान्त क्षति भयो । त्यो व्यक्तित्व,  जहाँ  प्रताप, उन्माद र भय एकै ठाउँमा जम्मा भएको भान हुन्थ्यो । प्रचण्ड सम्मान, शान, अभिमान र त्राहीमामको उच्च आसनमा विराजमान हुनुहुन्थ्यो । उहाँ नेपाली इतिहासको एक लोमर्षक एवं  ‘दुर्दमनीय’ पात्र हो । उहाँसँग स्नेह गर्ने निष्ठावान पात्र मात्र होइन, भयाक्रान्तहरूले समेत प्रशंसा गर्ने दिन थिए ती । दुर्भाग्यबस उहाँले त्यो कुरा उसै बखतमा बुझ्न सक्नुभएन।

 बुद्धले अन्याय, शोषण र दमनको विरुद्धमा शान्तिपूर्ण क्रान्तिका लागि मध्यरातमा राजमहल छाडेर महाभिनिष्क्रमण गरेका थिए । बुद्ध दु:खमय जीवनको उपचारको खोजीसमेत गर्न चाहन्थे । गान्धीले अत्याचार, उत्पीडन र विभेदका विरुद्धमा सविनय अवज्ञाको सहारा लिए । हजारौं लाखौं मानिसले बुद्ध र गान्धीको अनुगमन गरे । बुद्धकै प्रभावमा कतिपय सम्राटहरू अहिंसावादी शासकमा रुपान्तरण भए । अङ्गुलीमालदेखि पटाचारासम्म र अजातशत्रुदेखि आम्रपालीसम्म बुद्धको करुणा र हार्दिक कोमलताबाट प्रभावित भएर शरणमा आए । बुद्धको शरणमा जति पनि आए , सबै नि:स्वार्थ भावले आए । बुद्ध सदैव अभयदाता थिए । परन्तु कमरेड प्रचण्ड कुनै समयको भयदाता हुनुहुन्थ्यो । हिंसा र अहिंसाको फरक नै यही हो ।

कहिलेकाहीँ मनुष्यको अन्त:करणमा रहेको सत्यबोध बाहिर निस्कन खोज्दछ । परन्तु पुन: चञ्चल मन जागरुक भइदिन्छ । अनि फेरि युद्धका अभिमानहरू अभिव्यक्त हुन थाल्दछन् । अवचेतनमा रहेको आत्मबोध स्वार्थी जीवनको प्रपञ्चमा  समाहित भएर अदृश्य हुन पुग्दछ । चेतन मनले अचेतन अस्तित्वको आवाजलाई पूर्णरूपेण मुखरित भएर पोखिन दिंदैन । आत्मबोध भएको सत्य भित्रै दबेर बस्न विवश हुन्छ । तथापि मानसिक ऊहापोहमा अन्तरात्माको आवाजले चिमोट्न भने छाड्दैन ।

कामरेड प्रचण्ड अचेल अर्कै खालको जनयुद्ध गर्ने कुरा पनि  गर्नुहुन्छ रे । प्रचण्डजी ! अब जनयुद्ध हैन मनयुद्द गर्नुहोस् । तपाईंले ‘प्रचण्ड’  खालको जनयुद्ध गरिसक्नुभयो ।  फेरि धनयुद्धको आरोप लाग्यो ।  हो, तपाईं निसासिनु भएको छ । जो पनि निसासिन्छ यस जगतमा । राजा पनि र रङ्क पनि । कारिगर पनि र कमान्डर पनि ।  जीवनमा दु:ख पनि छ कामरेड ! हो, जीवनमा दु:ख छ ।  क्रान्तिका रुमानी उन्माद छाडेर लेनिनको जीवनको पछिल्लो अध्याय पढ्नुहोस् । मार्क्सको उक्साहट मात्र होइन उनमा निहित मानवता पनि पढ्नुहोस् । हेगलको द्वन्द्व मात्र होइन, अध्यात्म पनि पढ्नुहोस् । किम इल सुङ्गको क्रान्ति मात्र होइन, कोरियन जनतामाथि  जहानिया शासनको चङ्गुल र घोर दुर्भाग्य पनि पढ्नुहोस् । धर्मभित्रको कथित अफिम मात्र होइन, त्यसमा अन्तर्निहित केही मनवीय मूल्य पनि पढ्नुहोस् ।  जीवनयात्राको यानलाई अलिकता दाहिने मोडेर थोरै विश्राम लिनुहोस् । आखिर पच्चिस सय वर्षसम्म अविरल रूपमा अमर हुने त बुद्ध नै रहेछ । बुद्धलाई पनि पढ्नुहोस् ।

एक दिन प्रतापी कोशल नरेश प्रसेनजितले पनि ठूलो भिडका बिच एक्लो महसुस गरेका थिए । कहाँ जाऊँ, के गरौं, कसको सामु गएर मनको ताप पोखौं भन्दै निसासिएका थिए उनी । उनले बुद्ध बसेको ठाउँमा पुगेर भनेका थिए, ‘हे बुद्ध ! तपाईं जहाँ जानुहुन्छ, त्यहाँका प्रजाको अनुहारमा चमक हुन्छ । तपाईंलाई भेट्न आउने प्रत्येक व्यक्तिको शिर श्रद्धाले झुकेको हुन्छ भने मलाई भेट्न आउनेहरूको डरले । मैले राजाले राजासँग कलह र सुलह गरेको देखेको छु । राजाका भक्त सेवक मानिएका सेनापतिहरूले  भयानक षडयन्त्र गरेको देखेको छु । असल र विद्वान कहलिएका ब्राह्मणहरूले आपसमा द्वेष गरेको देखेको छु । मैले अनगिन्ती सन्तानहरूले मातापिताको अवज्ञा गेरेको देखेको छु । परन्तु जब म तपाईंका अनुयायी भिक्षुहरूमाझ  सदैव आपसी सद्भाव, सम्मान र सामन्जस्य देख्दछु, ममा तपाईंप्रति श्रद्धा जागेर आउँछ ।’

‘म युद्धप्रिय र सुरवीर क्षेत्री कुलमा जन्मेको राजा हुँ । देश देशावरमा मेरो ठूलो प्रताप र प्रभाव छ । म मैले चाहेको व्यक्तिलाई पुरस्कार या दण्ड दिन सक्छु । म धनीलाई गरिब र गरिबलाई धनी बनाउन सक्छु । मैले चाहें भने जो कोहीलाई मान, पद, धन र जागिर दिन सक्छु । म जसलाई चाह्यो कारागारमा राख्न सक्छु । परन्तु मेरो यो निरङ्कुश शक्तिलाई चुनौती दिंदै  मेरा मन्त्री र कर्मचारीहरू सहजै सदाचार र नैतिकताका नियमहरूको उल्लंघन गर्दछन् । हे बुद्ध ! तपाईंसँग शक्ति, सत्ता र सम्पत्ति केही पनि छैन । न तपाईं धनदाता न त भयदाता। किन्तु जब तपाईं बोल्न थाल्नुहुन्छ, हजारौं मानिसहरू शान्त र  नतमस्तक भएर तपाईंलाई सुन्न थाल्दछन् ।’

जति  ठूला लफ्फाजी गरे तापनि आखिर मनै त हो । चञ्चल, चपल, निराश ,  हतास र खिन्न हुनु मनको विशेषता हो । मनस्ताप, भ्रम , अवसाद, उच्छेद, फिक्री, संयोग र वियोग हो जिन्दगी । जतिसुकै कठोर मनुष्य पनि एक न एक दिन शोकाकुल हुनैपर्छ । आफ्ना कर्मको इतिहास सम्झेर निष्ठुर र जब्बर मन पनि विरहले व्यथित हुनैपर्छ । सँगै यात्रा गर्न भनी मिसिन आएको स्वार्थी भिडलाई सम्झेर ल्याउँदा त्यो मन जरुर कटक्क काटिन्छ होला । विगतमा कति आए र कति गए ?  जीवनमा एक दिन आत्मनिरीक्षण गर्ने बेला आउँछ ।  आत्मबोध गर्ने बेला आउँछ । जीवनयात्राको कमजोर  मुकाममा फाइदाका लागि मात्र दैलो कुच्न आउने कुटिल मुस्कानहरू देख्दा अवश्य नै  दिक्क लाग्दोहो । चित्तको अन्तर्जलनले  वैराग्यतर्फ प्रेरित गर्न थाल्दोहो । अपार भिडका बिच पनि एक्लोपन महसुस हुन थाल्दोहो । अन्त:करणमा उम्लिरहेका अन्तर्द्वन्द्व र कम्पनहरूले आफ्ना मनका क्लेशहरूलाई कतै पोखेर शीतल हुन प्रेरित गर्दाहुन्।

उन्माद र प्रमादका ती दिनहरू त भुर्र उडेर गए । गीतकार हरिभक्त कटुवालको  शब्दमा ‘चुरा फुटे सरी भयो चराहरु उडी गए हजार कोपिलाहरु नमुस्कुराउँदै झरे ।’ आफ्नै  नेतृत्वमा भएको विकराल द्वन्द्वका बिच मुस्कुराउन नपाउँदै झरेका कोपिलालाई सम्झेर अवश्य पनि उहाँको मन उद्वेलित हुँदोहो । क्रान्तिकारीको असफलताले क्रान्तिको गरिमा घट्दैन । माओवादी क्रान्तिका पनि कतिपय सकारात्मक परिणाम छन् । परन्तु  ‘मानवीय  नोक्सानीको अनुपातमा राष्ट्रले के पायो ?’  भनेर अवश्य पनि उहाँलाई परिताप हुँदोहो ।  

उराल्ने र उकास्ने एकथरी आफ्नो दुनो सोझो पारेर अर्को ढोकाभित्र छिरे । स्वार्थी तत्त्वहरू खराब कामको जिम्मेवारीको भारी यतै बिसाएर अन्यत्रै साखुल्ले हुन गए । दायाँबायाँ बसेर ‘यता हान्नुस् र उता हान्नुस्’ भन्नेहरू पनि कालक्रममा बिराना भए । जति नै उरालिए तापनि, जति नै बतासिए तापनि , जति नै पाखण्ड गरे तापनि र   जति नै उचालिए तापनि एक दिन अतासिनु पर्दोरहेछ । एक दिन उदास र निराश भएर उराठिनु पर्दोरहेछ । ‘सारा देश तिम्रै हो । तिमी जहाँ चाह्यो त्यहीँ विजयी हुन्छौ’ भनेर दिलासा दिनेहरू एक्लो पारेर सरक्क किनारा लाग्दै गए । ‘यिनले केही गर्छन्’ भनेर भरोसा गर्नेहरू पनि क्रमश: निराश हुँदै गए I  विडम्बना ! आज निर्वाचनरुपी परीक्षामा उत्तीर्ण हुनका खातिर भरपर्दो जमिन खोज्दै हैरान छ । हिजोका देवत्त्वहरू कसरी आज  सहजै दानवत्त्वमा परिणत भए ? यो जरुर कठोर प्रश्न हो । परन्तु  आश्चर्यजनक प्रश्न भने होइन । आफ्नै अन्तश्चेतनाले भन्दोहो कि ‘मेरा सुदिनहरूमा मैले आफूलाई खोज्नु परेन, अरुले नै मलाई खोजे । मेरा कुदिनहरूमा अरुले मलाई खोज्न छाडे । म  नै मेरो अस्तित्वलाई  खोज्न विवश छु ।’

कम्युनिस्ट नेतालाई व्यास, वासुदेव, बुद्ध, विदेह जनक,  विदुर र बीपीका वचनमा रुचि नहोला । किन्तु ब्लादिमिर इलिइच उल्यानोव ( लेनिन ) का वचन त अवश्य पनि  रुचिकर होलान् भन्ने आशाले यहाँ केही कुरा उद्धरण गरेको छु । एक दिन बोल्सेविक क्रान्तिका नायक ब्लादिमिर लेनिन पनि एक्लो भएका थिए । उनको व्यक्तिगत र सार्वजनिक जीवन यस्तो थियो - ‘ब्लादिमिर भूमिगत भए । सस्तो सेल्टर, सस्तो र साधारण खाना । अब सदाका लागि जीवनको कठिन बाटो तय भयो । सन्तको जस्तो सादा जीवन । उनले बस्ने कोठामा सजिलो कुर्सी राख्नसमेत मानेनन् । शरीरलाई सुखमा राखियो भने दिमाग पनि लोसो हुन्छ । व्यक्तिगत स्वार्थ हाबी हुन्छ । नरम बिछ्यौना र नरम तकिया उनीबाट टाढा भए । बुद्ध र गान्धीजस्तो । आम रसियन नागरिकभन्दा कुनै हालतमा माथिल्लो स्तरमा नरहने भीष्मप्रतिज्ञा । जो क्रान्तिपछि पनि कायमै रह्यो ।’

‘लेनिनले आफ्नो जीवनकालमा पार्टीको कुनै पनि नेतालाई जीवनयापनका लागि अत्यावश्यक पर्नेभन्दा बढी सुविधा दिएनन् र आफूले पनि लिएनन् । तर विडम्बना ! उनका साथीहरू उनी जस्ता थिएनन् । धनी परिवारबाट आएका लेनिन सबै त्याग्न तयार । गरिब परिवारबाट आएकालाई सायद धनीमानीको जीवनको अनुभव गर्न मन लाग्यो होला । लेनिनको मृत्युपछि कम्युनिस्ट नेताहरूको आलिसान जीवन सुरु भइहाल्यो । राष्ट्र र पार्टीलाई स्थिर एवं समृद्ध बनाउने प्रयत्न गर्दागर्दै ३० अगस्ट १९१८ का दिन एकजना युवतीले लेनिनलाई  गोली प्रहार गरिन् । उनी गम्भीर रूपमा घाइते भए । लेनिन कमजोर हुँदै गए । अटल सुरक्षाका बीच गोली लाग्नु दुःखद घटना थियो । पटक–पटकका ‘स्ट्रोक’ले गर्दा उनको बोली गयो । दिमाग पूर्ववत् सक्रिय तर वाणी नभएका लेनिनलाई पोलिटव्युरोको मिटिङमा एउटा कुर्सीमा बसालिन्थ्यो । मिटिङको सिलसिलामा स्टालिन र ट्राट्स्कीबीच हुने आपसी कुवाच्य र घोचपेचहरू चुपचाप सुन्न विवश थिए लेनिन ।’ ( सम्झिएका लेनिन र बिर्सिएका सन यात सेन ।  गोरखापत्र , ७ नोभेम्बर २०२० )

कहिलेकाहीँ मनुष्यको अन्त:करणमा रहेको सत्यबोध बाहिर निस्कन खोज्दछ । परन्तु पुन: चञ्चल मन जागरुक भइदिन्छ । अनि फेरि युद्धका अभिमानहरू अभिव्यक्त हुन थाल्दछन् । अवचेतनमा रहेको आत्मबोध स्वार्थी जीवनको प्रपञ्चमा  समाहित भएर अदृश्य हुन पुग्दछ । चेतन मनले अचेतन अस्तित्वको आवाजलाई पूर्णरूपेण मुखरित भएर पोखिन दिंदैन । आत्मबोध भएको सत्य भित्रै दबेर बस्न विवश हुन्छ । तथापि मानसिक ऊहापोहमा अन्तरात्माको आवाजले चिमोट्न भने छाड्दैन । स्वामी विवेकानन्द लेख्छन्,‘सबै नरनारीको मनमा एक न एक दिन प्रश्न उठ्दछ, कि के यो क्षणभङ्गुर मानव जीवनमा केही पनि शाश्वत छैन ?’  हारेको मन, हारेको परिस्थिति र थाकेको तनले विश्रान्ति चाहन्छ । किन्तु आफ्नै अहङ्कार र असुरक्षाको भयले अन्त:करणको सन्देशलाई व्यवहारमा उतार्न रोकिदिन्छ ।  दिमागमा तरह तरहका विचारका तुफानहरू चल्दछन् । आत्मविश्वासको  कमी,  निराशा, अवसाद र आफैप्रति दया लाग्ने परिस्थितिहरू सबै एकै ठाउँमा गुजुल्टो परिदिन्छन् ।

नेपालका कम्युनिस्ट नेताहरूको प्रशंसाको भोक अद्भुत छ । आगन्तुकहरू अभूतपूर्व तवरले नेताका प्रशंसक हुन्छन् । उनीहरूले गुमाउनुपर्ने केही पनि हुँदैन । मन लागुन्जेल बस्छन् र मन नलाग्नासाथ छाडेर जान्छन् । गाह्राे त तिनलाई हुन्छ, जसले पार्टीमा इमानका साथ काम गरेर कपाल फुलाए । स्वाभिमानमाथि अभिमानको कुठाराघात व्यहोरेका दोस्रो दर्जाका नेताहरूले पनि भिडको बिचमा एक्लो महसुस गर्नु स्वाभाविक छ । विरोध गर्‍यो कि जोखिम मोल्नुपर्ने सङ्गठनमा स्वाभिमानीलाई टिक्नै गाह्रो हुन्छ ।

को एक्लो हुँदैन यहाँ  ? कसको हृदयमा दर्द महसुस हुँदैन ? एकपटक ठण्डा दिमागले सोच्नुहोस् त कामरेड ! आफ्नो सुदिनको अवसानको समयमा एउटा रङ्कदेखि बादशाहसम्मले एक्लो महसुस गर्दछ । प्रचण्डलाई  पछिल्लो समयको सत्ता राजनीतिको ‘मास्टर की’ भन्न सकिन्छ । परन्तु समयको गति वक्र हुन्छ भन्ने कुरा उहाँलाई बोध नहुने कुरै भएन । उहाँमा आफ्नो व्यक्तिगत र सांगठनिक वर्चस्वमा ह्रास हुँदै गएको कुराको गम्भीर हेक्का छ । यता राजनीतिक जीवन अवरोहको मार्गमा छ । उता पञ्चतत्वले बनेको शरीर वृद्ध हुँदै छ । परिवारभित्र शोकाकुल बनाउने घटनाका शृङ्खलाहरू छन् । यदाकदा आत्मज्ञानको अभ्युदय हुन खोज्दछ I परन्तु फेरी चञ्चल चित्त  विचलित र उद्विग्न हुन्छ । उहाँको हिजोको आरोह भव्य र विशाल थियो । किन्तु आजको अवरोह बडो दु:खद र नमिठो छ ।  इतिहास क्रूर हुन्छ । सायद इतिहास उहाँको मजाक उडाउने फिराकमा छ ।

 अन्तिम मुगल बादशाह बहादुर शाह जफरको जीवनको अन्तिम भाग साह्रै कष्टमा बित्यो । उनले इतिहासको फैसलालाई स्वीकार गर्दै भनेका थिए, ‘सयौं वर्ष मेरा पूर्वजहरूले बल र भयको भरमा शासन गरे । अब अरुले शासन गर्ने समय आएको छ । अब हामी शासित हुनेछौं र उनीहरू शासक हुनेछन् । शोक गर्नुको कुनै प्रयोजन छैन । हामीले पनि हाम्रो शासन कायम गर्नका लागि कसैलाई गद्दीबाट तल झारेका थियौं ।’ प्रचण्डकै पहलकदमीमा नेपालमा पनि एउटा शक्तिलाई गद्दी छाड्न विवश पारिएको थियो । परन्तु देशको आजको परिस्थितिले उहाँसङ्ग निर्मम प्रश्न गरिरहेको छ । यो अवस्थामा एउटा जीउँदो जाग्दो मानिसले आत्ममूल्यांकन गर्दै  एक्लो महसुस गर्नु स्वाभाविक हो । महाकवि लक्ष्मीप्रसाद देवकोटा लेख्छन्  ‘इतिहासले कसैसँग जिउँदै हुँदा जवाफ माग्छ र कसैसँग जीवनपश्चात् ।’ सबैलाई अन्तरात्माको आवाजले घचघच्याइरहेको हुन्छ ।  तर कसै कसैले मात्र त्यसलाई व्यक्त गर्ने हिम्मत गर्दछन् । प्रचण्ड यो मामिलामा लचिलो मान्छे हुनुहुन्छ । भावनाको भार पोखेर हलुङ्गो हुन सिपालु मान्छे हो उहाँ ।

प्रवृत्ति र स्वभाव नमिले तापनि कमसेकम थरगोत्र मिलेको थियो । नेकपा नामको ठूलो पार्टी निर्माण भएको थियो । आफ्नो समेत चतुर्‍याइँ र परिश्रमले गठन भएको सङ्गठन अन्ततः छाडेर हिँड्ने परिस्थिति सृजना भयो । चार - पाँच जना एक से एक बुज्रुकहरू एउटै छानामुनि अटाउन सबैमा त्याग र सहनशीलताको परम आवश्यकता थियो । ‘ऊभन्दा ऊ बाठो’ को अवस्थामा उहाँले विद्रोहको बिगुल त फुक्नुभयो, तर उहाँका कतिपय आज्ञाकारी अनुयायीहरू त उतै पो रतिन पुगेछन् । त्यो विशाल घरमा पसेर उहाँले धेरै पाउने अभिलाषा राख्नुभएको थियो होला, तर भएको पनि गुमाउनुभयो । इतिहासमा उहाँले जसका विरुद्ध कठोर विद्रोहको नेतृत्व गर्नुभएको थियो, आज तिनैलाई बोक्न विवश हुनुहुन्छ । एक्लै यात्रा गर्न मुस्किल हुँदै जाँदा कसै न कसैको सहारा लिन विवश हुनुभयो उहाँ I उहाँले येनकेन राजनीतिमा आफ्नो ससानो व्यक्तिगत स्थान र भूमिका त अवश्य नै जोगाउनुहोला I किन्तु विकराल अतीतले उहाँलाई कठोर बनेर लखेटिरहनेछ I राजनीतिक व्यक्तित्व र सैद्धान्तिक पुँजीमा निरन्तर क्षय हुँदै जानेछ ।

यो जगतमा कोही पनि सम्पूर्ण रूपमा असल या खराब हुँदैन । उहाँको मूल्यांकन पनि सम्यक र निष्पक्षरूपमा हुनु आवश्यक छ । तर वर्तमानले हिंसालाई सम्मान गर्दैन । इतिहासका सफल हिंसाहरु प्रशंसित हुन्छन् । किन्तु सामान्य मनुष्य आफ्नो जीवनकाल भरसक शान्तिमय होस् भन्ने चाहन्छ । हिंसा ऐतिहासिक यथार्थ हो । परन्तु हिंसाले सभ्यतालाई के दियो भन्ने कुरा मुख्य हो । प्रचण्ड शान्ति प्रक्रियामा आएको मन नपराउनेहरू उहाँमा उही पुरानो युद्धनायक प्रचण्ड खोज्दछन् । विरोधीहरू भने आज निहत्था भएर बसेका प्रचण्डलाई बाछोलाई जस्तै खेद्नमा निमग्न छन् । हिंसा, भय र हतियारको  आधारमा निर्माण भएको व्यक्तित्व कति क्षणभङ्गुर हुँदोरहेछ भन्ने कुरा उहाँ र अन्य सम्बन्धित सबैले बुझ्नु जरुरी छ । उहाँलाई धेरैले छाडेर गए । प्रचण्डका सबलता उहाँकै  जिम्मा छाडे , तर उहाँका कमजोरी भने सँगै बोकेर गए । आज उहाँको सच्चा प्रशंसक सायद उहाँ स्वयं मात्र बाँकी हुनुहुन्छ । उहाँका कमजोरी उधिनेर बाहिर निकाल्नेहरू भने वहुसंख्यामा होलान् । त्यति मात्र कहाँ हो र  ? जानेहरू उहाँका अन्तरङ्ग जीवनका नखोलिएका  रहस्यसमेत लिएर गए ।

कम्युनिस्ट नेताहरू भरसक शक्तिमा टिकिरहन चाहनुमा ठूलो रहस्य छ । कार्ल मार्क्सले परिकल्पना गरेको साम्यवाद मानवीय प्रवृत्तिकै कारण असम्भव रहेछ भन्ने कुरा संसारभरिका कम्युनिस्ट नेताहरू स्वयंले प्रमाणित गरिदिए । हिंसाको माध्यमबाट स्थापना भएको सत्ता टिक्ने पनि हिंसाकै सहारामा हो । भिन्न विचार र आलोचनाप्रति अत्यन्तै असहनशील प्रवृत्तिले गर्दा कम्युनिस्ट नेताहरू सैनिक बलका आधारमा टिकिरहने नीतिमा पुगे । कहाँ यो हिंसात्मक प्रवृत्ति, कहाँ त्यो राज्यविहीन, वर्गविहीन, पुलिसविहीन, सेनाविहीन, वकिलविहीन र शोषणविहीन आदर्श साम्यवादी मानव समुदाय । कहाँ यो शक्ति, सम्पदा र सत्ताको खोजीमा आसक्त प्रवृत्ति र कहाँ त्यो नि:स्वार्थ र उत्सर्गमय आदर्श जीवन । कहाँ यो चरम परिवारवादी सोच र कहाँ त्यो समानता एवं न्यायमा आधारित अलौकिक, सुरम्य तथा स्वर्गीय साम्यवादी मानव समाज ।

 सुरु सुरुमा प्रचण्डको मनमा पनि सायद त्यही आदर्श मानवीय संसारको कल्पना थियो होला । परन्तु जुन दिन त्यो आदर्श समाज फगत रुमानी कल्पना पो रहेछ भन्ने बोध भयो, उहाँ कल्पनाको संसार परित्याग गरेर वास्तविक संसारमा आउनुभयो । सायद उहाँले अङ्गीकार गरेको व्यवहारवाद आज उहाँकै गलपासो हुन पुगेको छ । केहीको झोली भरिए तापनि सबै प्रशंसकहरूलाई  भाग पुर्‍याउन पुग्ने साधन र स्रोत थिएन । न्यायपूर्ण शासकीय प्रणाली स्थापना गर्ने कुरामा सामूहिक विचलन आइसकेको थियो । यस्तो परिस्थितिमा गाली पाउनु, आलोचित हुनु र  उपहसित हुनु  स्वाभाविक हो । पीडामा परेकाहरूको बलिन्द्रधारा आँसुले ‘वलिदानको उपहार यही हो ?’ भनेर प्रश्न गर्नु पनि स्वाभाविक हो । उहाँलाई सायद स्वार्थीहरूको झुण्ड देखेर अत्यास लाग्दोहो । यस्तो अवस्थामा ‘आफ्ना’  नै बिराना लाग्न थाल्दछन् । सबै अनुहारभित्र कुटिलता लुकेको प्रतीत हुन्छ । कुन बेला कसले ‘बाइबाई’ गर्ने हो ठेगान हुँदैन । अनि मानिसलाई कोलाहलबिच एक्लो महसुस हुनु कुन ठूलो कुरा भयो ?

सत्ताको खोजीमा जति बसाइ सरे पनि, जति नै समृद्धिको लफ्फाजी गरे पनि, जति नै  साधुता प्रदर्शन गर्न खोजे पनि , जति नै क्रान्तिका रुमानी  तिलस्म खडा गर्न  खोजे पनि र बारम्बार सत्ताको डबलीको निर्णायक ‘पोजिसन’  मा विराजमान भए पनि वास्तविकता त मुख बाएर खुल्लमखुल्ला खडा छ I  बित्दो वयमा जति नै युवा जस्तै अभिनय गर्न खोजे पनि मानिस वास्तविकताबाट टाढा भाग्न सक्तैन । खुला किताब भएर चौराहामा पोखिएको व्यक्तित्वले कसरी आफूलाई लुकाउन सक्छ ? संसारमा सबै कुरा नश्वर  छन् I  नेतामा रहेको आकर्षण पनि नाशवान छ । जिन्दगी  सधैभरि सोचे जस्तो शानदार हुन सक्दैन । कुनै न कुनै कुरा प्रश्न बनेर ढोका ढकढक्याउन अवश्य आउँछ  ।

जो आफ्ना थिए, तीमध्ये कोही यात्रामै छुटे । कोही छाडेर गए । जो आफ्ना थिएनन ती खोज्दै आए । ती आगन्तुक अनुहार हेरेर आनन्दित हुने कि विस्मित ? नक्कली मुस्कानका साथ् फूलमाला दिनेहरू, खादा पहिराउनेहरू, गुणानुवाद गर्नेहरू र आफ्नै झोली भर्ने फिराकमा रहेका मानिस देखेर एक्लो महसुस नगर्नू त के गर्नू ? यहाँ केवल कामरेड प्रचण्डको मात्र सवाल छैन । जनवादी केन्द्रीयता र प्राधिकारको प्रवृत्तिले गर्दा कम्युनिस्ट पार्टीका दिग्गजहरूमा आफ्नो कमजोरी खोज्ने र पहिचान गर्ने अभ्यास नै हुन सकेन । आलोचनात्मक चेतको दमनले गर्दा स्वाभिमानी मानिसहरूलाई सङ्गठनमा टिक्नै कठिन हुँदोरहेछ ।

 नेपालका कम्युनिस्ट नेताहरूको प्रशंसाको भोक अद्भुत छ । आगन्तुकहरू अभूतपूर्व तवरले नेताका प्रशंसक हुन्छन् । उनीहरूले गुमाउनुपर्ने केही पनि हुँदैन । मन लागुन्जेल बस्छन् र मन नलाग्नासाथ छाडेर जान्छन् । गाह्राे त तिनलाई हुन्छ, जसले पार्टीमा इमानका साथ काम गरेर कपाल फुलाए । स्वाभिमानमाथि अभिमानको कुठाराघात व्यहोरेका दोस्रो दर्जाका नेताहरूले पनि भिडको बिचमा एक्लो महसुस गर्नु स्वाभाविक छ । विरोध गर्‍यो कि जोखिम मोल्नुपर्ने सङ्गठनमा स्वाभिमानीलाई टिक्नै गाह्रो हुन्छ । चाटुकार, चारण र आगन्तुकहरू प्यारा हुने तर आजीवन पार्टीका लागि खटेका अथक कर्मीहरूलाई अपहेलना गर्ने संस्कृति बोकेका बडे बडे कम्युनिस्ट नेताहरूले समाजवाद र साम्यवादको गफ चुट्नु जस्तो हास्यास्पद मजाक अर्को कुन होला ? स्वाभिमानीहरूको अवस्था साहिर लुधियानवीको शब्दमा, ‘कभी खुद पे कभी हालात पे रोना आया, बात निकली तो हरेक बातपे रोना आया ।’ जस्तै हुन पुगेको छ ।

 

 

 

 

प्रतिक्रिया