श्री खड्गप्रसाद शर्मा ओली: एक मोनोलग

 rajesh mishraसबैले बा ! भन्छन्,

सम्बोधन गर्दै कन्फ्युज हुने अवस्था छ। 

त्यसैले यस्तो आडम्बरी औपचारिकतातिर नलागी सिधै बिषय प्रवेश गरौँ। मेरो नाम खड्गप्रसाद शर्मा ओली। कुमाईं बाहुन हुँ। कुमाईंको घुमाईं भन्ने प्रचलित टुक्काका बारेमा  सबै जानकार हुनुहुन्छ। उखान टुक्का मेरो बिशेषज्ञता हो। नेपालमा सात सालको प्रजातन्त्र आएको एक बर्ष तीन दिनपछि १० फागुन २००८ सालमा म जन्मिएको हुँ। आठराई तेह्रथुममा हो म जन्मिएको। म चार बर्ष हुँदा बिफर लागेर आमा बित्नुभो। हजुरआमाले पाल्नुभो। हामी बाहुनलाई तेह्रथुम, ताप्लेजुंगका लिम्बुहरुले बस्न टिक्नै नदिने जमाना थियो त्यो। २०१८ सालको एउटा ठिहिरो लागेको बिहान एक हुल लिम्बुहरु “काठा, जान्छस् कि छप्क्याईदिऊँ?” भन्दै दैलामै आए। बुवा मलाई च्याप्प अँठ्याएर घरका बस्तु भाउ र खेत समेत बिर्सेर कुलेलम ठोक्नुभयो। लिम्बुहरुले खेदे। 

लिम्बूहरुका बारेमा मेरो के धारणा छ, त्यो महत्वपूर्ण छ। यो बारेमा एकछिन पछि बात मारौंला। 

मलाई तिनीहरुले २०१८ सालमा खेदेका हुन्। त्यो बेला मेरो उमेर जम्मा दश बर्षको थियो। कति कति दिन हिंडेपछि बल्ल धरान आईयो। त्यहीं हो मैले पहिलो चोटी स्वाद मानेर सेतो चामलको भात खाएको। बुवाले धरानबाट झापा लैजानुभयो। बडो गरीब जीवन थियो त्यो। घर खेत अन्न पानी केही थिएन। चार बर्ष बित्यो। २०२२ सालमा रामनाथ दाहालसँग भेट भयो। उहाँ हुनेखाने तर मेचीपारी चलेको नक्सलवादी आन्दोलनबाट प्रभावित एक रोमाञ्चकारी क्रान्तिकारी हुनुहुँदो रहेछ। उहाँले मेरो निम्ति पखेटा  मात्र फिंजाउनुभएन, ओथारो नै बसिदिनुभयो। खान लाउनको समस्या भएन। स्कूल पनि जान थालें। स्कूलमा के पढ्थें, याद छैन। तर घरमा रामनाथ दाहालले दिनुभएको कानू संथ्यालको कम्युनिष्ट दस्तावेज घोकेर कण्ठ पार्थें। चार बर्ष यसैगरी बित्यो। 

२०२६ सालमा मैले एक जिम्मेवार कम्युनिष्टका रुपमा पार्टी प्रवेश गरें। त्यतिबेला झापामा नक्सलवादी आन्दोलनको बिगबिगी थियो। पश्चिम बंगालको नक्सल र नेपालको झापा बीच मेची नदीको दूरी थियो। अहिलेको पुल बनेकै थिएन। तर खोलैखोला खुब तस्करी हुन्थ्यो। तिनै तस्करका डुङ्गामा हाम्रा दस्तावेज आउँथे। हतियार हामीलाई आवश्यक थिएन। हाम्रो अभियान स्थानीय जमिन्दारको शरीर गिँड्ने थियो। म लुरे थिएँ। प्रत्यक्ष रुपले म खुकुरी बोक्न नसक्ने खालको थिएँ। तर मलाई कमरेडहरुले सहयोगीका रुपमा खटाउँथे। 

त्यतिबेलाको नेपाली कम्युनिष्ट पार्टी बिदेशमा रहेर क्रान्ति गर्दै गरेको नेपाली कांग्रेसलाई ठीक पार्न पञ्चायती शासनको हण्डी खाँदो रहेछ। पार्टीभित्रै सत्ताको जालो थापेर बसेका माकुरा माकुरी हुँदा रहेछन्। मलाई के थाहा? कसैले सुराक दिएछ। हामी भाग्यौं। पूर्वबाट भागेको हामी, पश्चिम नेपालको गड्ढाचौकी हुँदै नैनीतालसम्म पुग्यौं। कमरेड मोहनचन्द्र अधिकारी गजब बलियो। उहाँको साथ भएर मलाई खुब सजिलो भयो। उहाँ दिनभरी ज्यालादारी मजदूर भएर भारी बोक्ने। म शरीरले कमजोर। उहाँले गरेको श्रम हेरेर बस्ने। उहाँले कमाएको खाने, क्रान्तिको स्वप्न चिन्तन गर्ने। बस्ने। 

पछि पार्टी सूत्रबाट लाईन आयो। भारत नबस्ने। सँगसँगै सुझाव थियो, “रौतहट आउनुस्। त्यहाँ कृष्णप्रसाद भण्डारी नामका एक जुझारू वकीलको घर छ। जमिन्दार हुन् उनी त्यहाँका। उनी काठमाडौं बसेर वकालत गर्छन्। तर त्यहाँ बसेर काम गर्न मिल्छ। “के खोज्छस् कानो? आँखो!” भन्याजस्तो भयो मलाई। मनमनै ठानेको थिएँ जमिन्दारको घरमा मीठो मीठो पाक्छ होला। के को पाक्नु मीठो खान्की? हामी त भैंसी गोठालाको भेषमा बस्नु पर्ने रे!  

मोहनचन्द्र कमरेड त “ठीकै छ नि। क्रान्तिले जे मागेको छ, त्यही गर्ने हो” भन्दै चित्त बुझाउन तयार हुनुभो। मलाई चित्त बुझेन। म हावा खान रौतहटको धुले बजार घुम्न थालें। एकदिन एउटा गुप्तचरले च्याप्प समाईहाल्यो। दुई लात एक घुस्सा के हानेको थियो, मैलेपनि मोहनचन्द्र लुकेको ठाउँ देखाईदिएँ। “तँ भाग्लास् नि फेरी, तँ पनि त्यहीं भएस,” भनेको थियो त्यो खाकी लाउने डिएसपीले। साँझ भएको कुरा, भोलिपल्ट बिहान तीन बजे मलाई र मोहनचन्द्रलाई झ्याप पारिहाले। त्यो पनि सेल्टरमै। 

२०२९ सालको चीसो रात थियो हामी पक्राउ पर्दा। पक्राउ पर्दाको बेला भन्दा पनि मैले मोहनचन्द्र अधिकारीलाई समात्न पञ्चायती सरकारलाई सहयोग गरेको रात थियो त्यो। त्यसपछि मैले सहयोग गरेको पञ्चायती व्यवस्थाले मेरो वास्ता नै गरेन। अड्डासार गर्दै कहिले कता पुर्यायो, कहिले कता। एकपटक धनकुटा जेलमा हुँदा मेरो जस्तै मुद्दाको पैरवी गर्ने काममा उनै कृष्णप्रसाद भण्डारी म भएको जेलमा पनि आएका थिए। उनले म सँग भेट गरेनन्। उस्तै प्रकृतिको मुद्दा भएकोले मेरो पनि मुद्दा हेरिदिएका थिए। तर म कृतघ्न मान्छे हुँ। मैले संसद बिघटन गर्दा भण्डारी त्यसको बिरुध्द सर्वोच्चमा रीट दिने अगुवा मध्येका एक थिए। सत्ताको कुर्सीमा बसेर मैले उनलाई अपमान गरें। 

यी कुरा छोडिदिऊँ। मैले मेरो शक्ति उत्कर्षमा हुँदा नारायणहिटी दरवार अगाडि पचास लाखको मंच बनाएर भाषण किन गरें होला?  किन पशुपतिमा सुनको झलारी हालें होला? किन राधिकालाई साथै लगेर त्यहाँ पूजा गरें होला? किन ठोरीको राम भन्ने नितान्त काल्पनिक कथनलाई जनताको करबाट चलेको मिडियाबाट प्रचार गराएँ होला? संबिधान दिवसको दिन आफ्नो पार्टीको झण्डा त्यागेर किन राष्ट्रिय झण्डा सहित युवा जुलुस निकालें होला?  

मेरो चरित्र यही हो।  

बयालीस सालमा नेपाली कांग्रेसले सत्याग्रह आन्दोलन गर्यो। त्यही छेकोमा पटनामा निर्वासित रहेका रामराजा प्रसाद सिंहले नेपालका केही रणनीतिक ठाउँमा बम पड्काए। नेपाली कांग्रेसले लुरुक्क परेर आफ्नो आन्दोलन फिर्ता लियो। पञ्चायती सत्ता “डिभाईड एण्ड रुल” को गेम खेल्दैथियो। मलाई पञ्चायती प्रधानमन्त्रीको एउटा सन्देश आयो। “म  वीन वीन सिचुएशनको एउटा कागज तयार गर्छु, तपाईं सही गरिदिनुस्। म तपाईंलाई जेलमुक्त गर्न सहयोग गर्नेछु।”  ०४३ सालमा म चौध बर्षपछि जेलमुक्त भएँ। म सँगसँगै छुटेका मोहनचन्द्र अधिकारीलाई मान्छेले “नेपाली नेल्सन मन्डेला” भनिदिए। मेरो वास्तै गरेनन्। 

जेलबाट त छुटें। पार्टीका मान्छे वास्ता गर्दैनन्! बरु जेलमा हुँदा राधाकृष्ण मैनाली आफू बिंडी खाएर पनि मलाई याक चुरोटको जोहो गरिदिन्थे। झापाबाट आएको उनको भागको घ्यू मलाई नै दिन्थे। अब बाहिर आएँ, कसैले वास्ता गर्दैन। बडो पÞm्रस्टेटेड दिन थियो त्यो मेरो। न पार्टीका मान्छे सम्पर्क गर्छन्, न कुनै जिम्मेवारी नै दिन्छन्। म भन्दा पहिले छुटेका राधाकृष्ण मैनाली त्यतिबेला पाटन ढोकामा डेरा गरेर बस्थे। हरेक बेलुकी उनी पाटनको त्यागलमा दुई रुपियाँ गिलासको लोकल सस्तो ठर्रा खान आउँथे। म पनि उनीसँगै लागेर, उनकै पैसामा ठर्रा खान थालें। जेलमा सधंै याक चुरोट खान मुश्कील। खैनी खाने बानी लागिसकेको थियो। 

बिरामी परें। अस्पताल भर्ना भएँ। पार्टीका मान्छे कोही हेर्न आउँदैनन्। बरु प्रचण्ड र निर्मल लामाको पार्टी एउटै थियो त्यो बेला। उनीहरुले यसो हेर्न मान्छे पठाए। अहिले त्रिशूल  छाप पार्टीको नेता अनि एउटा साप्ताहिक अखबारको सम्पादक त्यो बेला निर्मल लामाको कार्यकर्ता थियो। उसले मुंगको दाल र सुखा रोटी लिएर मलाई भेट्न आएको झलझली याद आउँछ। 

म त्यो बेला साह्रै बिरक्तिएको थिएँ। राजेन्द्र पाण्डे र केशव स्थापितहरु प्रजातान्त्रिक राष्ट्रिय युवा संघ खोल्न आएका थिए। मैले जे गर्छौ गर, म सही धस्काईदिउँला भनेको मलाई हिजो जस्तो लाग्छ। आफ्नो बस्ने खाने ठेगान छैन, बडो क्रान्तिका कुरा गर्छन् यिनीहरु! 

राजेन्द्रका दाई सुरेन्द्र पाण्डे मेरो तारणहार भएर आए। उनले कठमाडांैकी एक नेवार घरकी छोरी पूर्णशोभा चित्रकारलाई लभ गरेर बिहे समेत गरिसकेका रहेछन्। राजधानीको कोर एरियामा ज्वाईं भएर राजनीति गरेका। अमृत बोहोराले अष्टलक्ष्मी शाक्य बिहे गरेका। ईश्वर पोखरेलले मीरा धोंजु। यिनीहरु सबैको खाईपाई आरामले चल्दैथियो। ससुराली खलकमा संगठन बनाउन झन् सजिलो! 

सुरेन्द्रले राधिका शाक्यको कुरा लिएर आए। मलाई “के खोज्छस् कानो आँखो” भनेजस्तो भयो। राधिका नेपाल राष्ट्र बैंकको स्थायी जागिरे। मलाई अरु के चाहियो त? 

घरको मानो खाएर राजनीति गर्ने हो अब भन्ने जस्तो लाग्यो। तर मदन भण्डारी मलाई ठ्याक्कै मन नपराउने। त्यसमाथि मरिचमानसँग हात मिलाएर जेलबाट छ्टेको कुराले पार्टीमा मेरो अलि साख घटेको अवस्था थियो। ०४६ सालको आन्दोलनमा पनि राधाकृष्ण मैनालीलाई अघि सारिदिए। मलाई कुनै जिम्मेवारी नै दिएनन्। त्यो आन्दोलनमा मेरो कुनै भूमिका नै रहेन। ०४७ साल चैत २७ गते पनि म लुरुक्क परेर बसेको थिएँ। म बिजय जुलुसमा सहभागी भईन। मेरो भूमिका नै थिएन। 

दोश्रो जन आन्दोलनमा मेरो के भूमिका थियो, तपाईं सबैलाई थाहै भएको कुरा हो। मलाई राजतन्त्र जान्छ भन्ने बिश्वास नै थिएन। संघीयता त टाढाको कुरा। मैले त्यो बेला प्रतिपादन गरेको बयलगाडा सिद्दान्तले मलाई अझै पोल्छ। आफ्नो बिश्वास थिएन, बोलिहालियो। अब अरुको बिश्वास भजाउने त हो। प्रचण्डलाई हात लिएको पनि त्यही कारण हो। एक बोईङ्ग सेभेन फोर सेभेन, दुई पाईलट भनेर मैले प्रचण्डलाई घुमाउन खोजें। प्रचण्डले देउवासँग मिलेर मलाई घुमाईदिए। माधव नेपाल त हाम्रो दलखेलको लंगुरबुर्जामा च्याँखे दाउ थाप्ने एकसुके खेलाडी मात्रै हुन्। प्रचण्डले त्यो सुकोसँग मिलेर आफूलाई मोहोर बनाए। बिरालोको घम्साघम्सीमा बाँदरले पाउरोटी खाईदियो। शेरबहादुर मेरो कुर्सी तताउन आए। तर शेरबहादुर मेरा मिल्ने साथी हुन्। बाहिर जति झगडा गरेपनि खाने मामिलामा हाम्रो कुरा मिल्छ।   

मलाई अहिले र पहिलेको कुरा मिसमास गरेर बोल्दा खुब रमाईलो लाग्छ। यसो गर्दा मैले के बोलेको हो, जनताले मेसो पाउँदैनन्। 

हाम्रो माले पार्टी मनमोहन अधिकारीको पार्टीसँग मिलेर एमाले बनेपछि समेत मेरो कुनै भूमिका रहेन। चुनावमा झापा आन्दोलन सम्झेर मलाई त्यहींबाट टिकटसम्म दिए। माहोल थियो, चुनाव जितियो। सांसद भएँ। तर कुनै अरु जिम्मेवारी थिएन। मदन भण्डारी मलाई पत्याऊँदै नपत्याउने। सांसद भएपछि बल्ल पार्टीको बिदेश बिभाग प्रमुख बनाईदिए। मैले पखेटा फिंजाउने आकाश बल्ल फराकिलो हुँदैथियो। 

मदन भण्डारी मरेपछि मेरो खुदो लाग्यो। माधव नेपालले मलाई सधैं हेप्ने। ईश्वर पोखरेल माधवको चम्चा। मदन भण्डारीकी बिधवा बिद्या भण्डारीलाई पार्टीमा सक्रिय गराएर आफ्नो दूनो सोझो गर्न जो पनि तम्सिएको देखें। पार्टीमा उनको आफ्नै योगदान त छँदैथियो। उनलाई उपयुक्त भूमिका दिनुपर्छ भन्ने ठानेर मैले मदन भण्डारी फाउण्डेशन स्थापना गरेर बिद्या र उनकी छोरीहरु उषा र निशालाई शोकबाट उत्रन सहयोग गरें।

भारतीय दुतावास सुष्मा कोईराला फाउण्डेसनको नाममा प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला सुपुत्री सुजातालाई करोडका करोड आर्थिक सहयोग दिन्थ्यो। म पनि पार्टीको विदेश बिभाग प्रमुख थिएँ। मेरो पनि हक लाग्थ्यो। भारतीय दुतावासबाट करोडौं लिएँ। चिनियाँबाट लिएँ। माधव नेपालहरु कोरियन क्रिस्टियनहरुबाट माल कमाउँदै थिए। मेरो पैसाको तूलो माधवको अगाडि अलि भारी सावित भयो। बामदेवलाई झुक्याएर आफ्नो हातमा लिएँ। त्यसपछि मैले पछाडि फर्केर हेर्नुपरेको छैन। 

त्यो भन्दा अगाडि, एमालेको नौ महिने शासनकालमा गृह मन्त्री हुँदा नै मैले भारतीय जासुस संयन्त्रका टाउके र नेपालका उनीहरुका लाउकेहरुसँग सम्बन्ध बनाईसकेको थिएँ। उनीहरुले भनेका हुन्, “मदन भण्डारी हत्याकाण्डलाई धेरै उछाल्ने काम छैन, हामीले भने अनुसार गर, एकदिन तिमी प्रधानमन्त्री हुन्छौ।” उनीहरुले भनेकै कारण मैले महाकाली सन्धी गर्दा शेरबहादुर देउवालाई साथ दिएँ। बरु पार्टी फुटोस्, महाकाली सन्धी पारित होस् भन्ने भारतीयहरुको मनसुवा मैले पुरा गरेर देखाएँ। पछिल्लो पटक म प्रधानमन्त्री छँदा भारतीय गुप्तचर प्रमुख आएर मेरै सरकारी निवासमा गुप्त वार्तालाप गरेको कुरा त सबैले थाहा पाएकै हुनुपर्छ।

माधव नेपालले एकछत्र पार्टी हाँक्दा म चूपचाप बसें। भित्रभित्रै आफ्नो गूट बनाएँ। ईश्वर पोखरेल एक नम्बरका लोभी हुन्। उनी जता शक्ति छ, त्यतै लाग्छन्। मैले उनको कमजोरीलाई आफ्नो शक्ति बनाएँ। बामदेव जस्तो रकमी मान्छेलाई आफ्नो पक्षमा घुमाएँ। अनि मझधारमा छोडिदिएँ।

यी कुरा छोडिदिऊँ। मैले मेरो शक्ति उत्कर्षमा हुँदा नारायणहिटी दरवार अगाडि पचास लाखको मंच बनाएर भाषण किन गरें होला?  किन पशुपतिमा सुनको झलारी हालें होला? किन राधिकालाई साथै लगेर त्यहाँ पूजा गरें होला? किन ठोरीको राम भन्ने नितान्त काल्पनिक कथनलाई जनताको करबाट चलेको मिडियाबाट प्रचार गराएँ होला? संबिधान दिवसको दिन आफ्नो पार्टीको झण्डा त्यागेर किन राष्ट्रिय झण्डा सहित युवा जुलुस निकालें होला?  

मैले कमल थापाहरुलाई हातमा लिएर राष्ट्रिय नेताको छवि कायम राख्नु जरुरी छ। मेरो आफ्नै पार्टीको कार्यक्रममा माक्र्सवादको व्याख्या गर्न मेरो सट्टा प्रदीप गिरीलाई बोलाउने घनश्याम भुसालको पत्ता साफ गर्न जरुरी छ। उसको सट्टा पञ्चायतकालको दुर्दान्त गुण्डा दीपक बोहोरा संसदमा आओस्, त्यो मलाई स्वीकार्य छ। संसदमा राजेन्द्र लिङ्गदेन जस्ता मान्छे आउँदा मलाई फाईदा छ। लिम्बुहरुसँग मेरो लभ र हेटको साइनो छ। 

मैले लिम्बुहरुले मलाई तेह्रथुमबाट लखेटेको दिन बिर्सेको छैन। तर सुवास नेम्वाङ्ग नामको लिम्बुलाई आफ्नो टेक्ने लौरी बनाएर राखेको छु। उसलाई अल्झाईराख्न भनेर संसदीय दलको  उपनेता बनाईदिएँ। तर उसलाई  त्यो भन्दा माथि एउटा खुड्किलो पनि चढ्न दिन्न। लिम्बुहरु घरको बाघ, बनको स्याल हुन्। यिनीहरु आफ्नो घरको पाहुनालाई काट्न तयार, तर बाहिर जाँदा पिसाब गर्ने ठाउँ कता छ, त्यो पनि सोध्न सक्दैनन्। भन्नलाई आफू लिम्बुवानको राजा,  किराँत राजा यलम्बरको सन्तान भन्छन्। यिनलाई हो हो भनिदिनुपर्छ। काम आफ्नो गर्नुपर्छ। 

म पनि कहाँ लर्तरो मान्छे हूँ र, उनीहरुले लखेटेको ठाउँमा मैले हेलिकप्टर ओरालेर मज्जाले धुलो उडाईदिएँ अनि त्यहीं आफ्नो जन्मदिन मनाएँ। केक अर्कै हेलिकप्टरले लिएर आयो। मेरो मनको घाउ कसरी निको हुन्छ म त्यसै गर्छु। त्यसो गर्न कहिल्यै पछि हट्दिन यसमा म स्वतन्त्र छु। 

मानिसहरुले असली कुरा बुझेहुन्छ, म कम्युनिष्ट होईन। कम्युनिष्टको खोल ओढेको एक पूँजीवादी नेता हुँ। मैले नजन्माएका दुई छोरा छन्। एउटा महेश बस्नेत। उसले हात खुट्टा चलाउँछ। अर्को गोकुल बाँस्कोटा। उसले मुख चलाउँछ। यी दुई भएसम्म खासै मलाई पार्टी चाहिँदा पनि चाहिंदैन। पार्टी केहीपनि होईन। 

शेरबहादुर र म बडा मिल्ने साथी हौँ। हाम्रो आफ्नै सिण्डिकेट छ। हामी जनतालाई एउटा कुरा भन्छौं, भित्र अर्कै कुरा गर्छौं। हामी बाहिर हजार झगडा गर्छौं, तर म प्रधानमन्त्री हुँदा शेरबहादुर देउवा जयबहादुर चन्दलाई अख्तियारमा भर्ना गर्दिनुपर्यो भनेर आए। मैले गरिदिएँ। भोली उनले पनि मेरो लागि त्यही गर्नेछन्। 

जनता बेवकूफ हुन्। यिनको स्मरणशक्ति हुँदैन। हामीले यसको फाईदा उठाउनुपर्छ। शेरबहादुर आरजूको घोषित अघोषित कम्पनीबाट फाईदा लिन्छन्। म आङछिरिङ्ग शेर्पाको यती समूहबाट लिन्थें। आङछिरिङ्ग मरेर मेरो बिजोग भएको छ। नत्र म देखाइदिन्थें, लोकतन्त्र के हो! मेरो हात माथि मात्र परोस् न त्यो म फेरि पनि देखाईदिन सक्छु। मेरो बयलगाडा गणतन्त्रको सूत्र बुझ्नसक्ने ल्याकत भएका बुध्दिजिवी कति नै होलान् र नेपालमा। आजसम्म एउटाले पनि यसको मेसो पाएको देख्दिन। पाङ्दुरे बुध्दिजिवी हुन् यी!  

      

प्रतिक्रिया