समाचार विश्लेषण

 बाबुरामले मतदाताभन्दा बढी मतले जितेको गोरखा दुइमा यसपाली प्रचण्ड?

काठमाडौं। यसपटक प्रतिनिधिसभा निर्वाचनका तीन मुख्य हिरो भनिएका प्रमुख दलका तीन नेता मतदाताको तराजुमा कसरी जोखिने हुन् भन्ने कुरा समकालिन राजनीतिको ताजा चर्चाको बिषय हो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपीशर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी निर्वाचनमा सबैभन्दा चासो राखेर हेरिने राजनीतिक पात्र हुन्। यी नेतालाई प्रतिनिधिसभामा आउनबाट रोक्नुपर्छ भन्ने आवाज जसरी विस्तार गरिँदैछ, यसकारण पनि देउवा, ओली र प्रचण्डका निर्वाचन क्षेत्रहरुमा सरगर्मी बढेर गएको छ। उम्मेदवारी दर्ताको औपचारिकता सकिएपछि राजनीतिमा नयाँ नयाँ तरंग उत्पन्न हुने सम्भावना देखिन्छ।

गठबन्धन सरकारको नेतृत्वमा रहेका कांग्रेस सभापति देउवा विगतमा झैं सहजै निर्वाचन जितेर प्रतिनिधिसभामा आउन नसक्ने दावी उनकै राजनीतिक उत्तराधिकारीहरु गरिरहेका छन्। देउवालाई उनको एकछत्र रहँदै आएको डडेलधुराको निर्वाचन क्षेत्रमा चुनौति दिन नयाँ उम्मेदवार सागर ढकाल कम्मर कसेर प्रचारमा उत्रिसकेका छन्। कांग्रेसकै युवा नेता कर्ण मल्लले पनि आफ्ना राजनीतिक अग्रज देउवालाई हराउन सकेजति योगदान गर्ने कसरत सुरु गरिसकेका छन्। जे भएपनि देउवालाई विगतमा जसरी निर्देशनकै भरमा मत आउने सम्भावना भने सकिएको जानकारहरु बताउँछन्।

एमाले अध्यक्ष ओली पनि हुँकारकै बलमा निर्वाचन जित्ने अवस्थामा देखिँदैनन्। दुइतिहाई बहुमत नजिकको सरकार तुहाएर राजनीतिक क्षति गरेको आक्षेप बेहोरीरहेका ओलीलाई उनीसँग अलग भएका लोकप्रिय नेताहरु चुनौति बन्ने प्रष्ट देखिएको छ। नेकपा समाजवादी दल बनाएर अलग भएका पूर्व महासचिव माधवकुमार नेपालले गठबन्धनबाट आफ्नो राजनीतिक हैसियत बढाईरहेपछि ओलीसँग रुष्ट र क्रुध्द भएका युवा नेताहरु नेपालप्रति सहानुभूति राख्ने सम्भावना प्रवल देखिन्छ। अर्कोतिर एमालेभित्रै पनि ओलीले आफैं चर्को गुटबन्दी गरेर काखापाखा गरेको आरोप लागिरहेको छ। यसपटक उम्मेदवार चयन गर्दा पनि ओलीले एमालेका नेतामध्येबाट छान्दा आफ्ना अन्ध समर्थकलाई बढी प्राथमिकता दिएको आरोप लागिरहेको देखिन्छ। आफ्नै दलभित्र फरक विचार राख्ने नेताहरूलाई पाखा लगाएर ओलीले निरंकुश कार्यशैली प्रदर्शन गरेको भनेर आलोचना गरिएको छ। यी सबै कारणले गर्दा ओलीलाई पनि आगामी निर्वाचन विगत जस्तै सहज भने देखिँदैन।    

माओवादी अध्यक्ष प्रचण्ड यसपटकको निर्वाचनमा सबैभन्दा असुरक्षित उम्मेदवार देखिएका छन्। पहिलो संविधान सभा निर्वाचनमा जसरी प्रचण्डको आँधीबेहरीले मतदाता हच्काउन काम गरेको थियो, त्यो दोस्रो निर्वाचनमा आईपुग्दा नै फितलो भैसकेको प्रष्ट देखियो। सुरक्षित निर्वाचन क्षेत्र खोज्दै सिरहा–४ पुगेका प्रचण्डको त्यसबेलाको ‘जीत’लाई मानिसहरुले पत्याईदिएका थिए। त्यसबेला प्रचण्डले हार्नैनहुने वाध्यात्मक परिस्थिति रहेको जानकारहरु बताउँछन्। अहिले पनि प्रचण्डले गृह जिल्ला चितवनलाई सुरक्षित क्षेत्र मान्न सकेनन्। उनी अत्यन्त दुर्गम भूगोल भएको गोरखा जिल्लाको दुइ नम्बर क्षेत्रमा उम्मेदवार हुन तयार भएका छन्। प्रचण्डले किन यो दुर्गम क्षेत्र रोजे भन्ने कुरा संशय सहित बहसमा आईसकेको छ। हालै चितवनको तीन नम्बर क्षेत्रमा पर्ने पैतृक थलोमा नयाँ घर बनाएर त्यहींबाट चुनाव उठ्ने तयारी गरेको प्रचार गरेका प्रचण्डले शुक्रबार गोरखा–२ बाट उम्मेदवारी दिने औपचारिक निर्णय गरेपछि राजनीतिक वृत्तमा नयाँ तरंग उठेको छ।

चितवनलाई आजीवन निर्वाचन क्षेत्र बनाउने घोषणा गरेका प्रचण्डको यो निर्णयलाई चितवनका माओवादी कार्यकर्ताले कालो दिनको संज्ञा दिएका छन्। दाहालकी स्वकीय सचिवसमेत रहेकी चितवनकी नेत्री निशा न्यौपानेले यो निर्णयलाई ‘चितवनको कालो दिन’ भनेर टिप्पणी गरेकी छन्। दाहालपुत्री एवं भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले यो निर्णयलाई चितवनवासीका लागि दुर्भाग्य भनेकी छन्। ‘दुःखद चितवनवासीका लागि दुर्भाग्य,’ उनले फेसबुकमा लेखेकी छन्, ‘स्तब्ध, भित्री–बाहिरी षड्यन्त्रकारीहरूको नियत इतिहासले पक्कै उजागर गर्नेछ।’

शुक्रबार बेलुका बालुवाटारमा सत्ता गठबन्धनको बैठकलगत्तै पार्टी पदाधिकारी बैठक बोलाएर दाहालले गोरखा–२ बाट उम्मेदवारी दिने निर्णय अनुमोदन गराएका थिए। गत प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी पूर्वमाओवादी नेता बाबुराम भट्टराईले उम्मेदवार नहुने निर्णय गरेपछि प्रचण्डले त्यहाँ जाने निर्णय गरेका हुन्। भट्टराईले त्यस निर्वाचन क्षेत्रबाट मतादाता संख्याभन्दा कैयौं बढी मत ल्याएर निर्वाचन जितेका थिए।

तीन दिनअघि सत्ता गठबन्धनको संयुक्त बैठकले प्रचण्डलाई चितवनबाटै उम्मेदवार हुन आग्रहसहित निर्णय गरेका थिए। त्यसलाई बेवास्ता गर्दै उनले गोरखा रोजेका छन्। 

पहिलो संविधानसभामा प्रचण्ड काठमाडौं–१० र रोल्पा–२ बाट विजयी भएका थिए। दोस्रो संविधानसभा निर्वाचनमा सिरहा–४ र काठमाडौं–१० उम्मेदवार भएकामा सिरहाबाट मात्र जीत हासिल गरेका थिए। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी चितवन–३ बाट विजयी भएका थिए।

 यो पनि पढौं

पुष्पकमल उर्फ प्रचण्डः एक मोनोलग 

प्रतिक्रिया